आकर्षणमा चितवनका चरा

 चैत ११, २०७५ सोमबार १३:४२:४७ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवन चराहरूको वासस्थानमात्र नभई बसाइँसराइको गन्तव्य पनि हो । गर्मीयाममा चितवनमा ४७ प्रजातिका चराहरू बसाइँसराइ गरी आइपुग्छन् भने जाडोयाममा एक सय ४१ प्रजातिका चरा जाडो छल्न आइपुग्छन् । देशका विभिन्न भागबाटसमेत चराहरू चितवन आसपास प्रजनन गर्न आउने गरेको चरा विज्ञहरु बताउँछन् । 

चितवन बाघ, गैंडा र हात्ती मात्र होइन, चराको पनि गन्तव्य बन्दै गएको छ । चितवन चरा पर्यटनका लागि सम्भावित क्षेत्र बन्दै गएको छ । पछिल्लो समय चितवनमा चरा अवलोकन गर्ने पर्यटक बढ्दै गएका छन् । हिमालय शृङ्खला पार गरेर आएका चराहरू यहाँको नदीनाला अनि घमाइलो मौसममा रमाउने गरेका देखिन्छन् । 

विश्व संरक्षण सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र नारायणी राप्ती नदी आसपासलाई चराको सुरक्षित बासस्थान क्षेत्र मानिन्छ । चितवनको प्राकृतिक वातावरण चराको लागि उपयुक्त भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेद कुमार ढकालले बताउनुभयो । 

पर्यटकको आकर्षण बढ्दै गए पनि चरा संरक्षणमा राज्यले ध्यान दिन नसक्दा समस्या बढ्दै गएको चराविदहरु बताउँछन् । नेपालमा ८८७ प्रजातिका चरा छन् । चितवनमा ६४० प्रजातिको चरा पाइन्छन् । 

चराको गन्तव्य बन्दै चितवन

वर्ड एजुकेसन सोसाइटी चितवनका पूर्व अध्यक्ष वासु विडारीले नेपालमा आउने पर्यटकमध्ये ४ प्रतिशत चरा हेर्न मात्र आउने गरेको बताउनुहुन्छ । ‘चितवनमा बाघ, गैँडा र हात्तीसँगै चरा हेर्न आउने पर्यटक पनि बढेका छन्’ उहाँले भन्नुभयो, ‘चितवन चरा अवलोकनको गन्तव्य बन्दै गएको छ ।’

चितवन राष्ट्रिय निकुञ्ज वरिपरी राप्ती नदी, लामी ताल, तमोर ताल, बीसहजारी ताल, कसरा, गोलाघाट, त्रिवेणीलगायतका क्षेत्र चराका लागि ‘गन्तव्य’ बन्दै गएको उहाँले बताउनुभयो । चितवन निकुञ्जभित्र रहेको लामी ताल बरन्डाभार क्षेत्रको बाटुली ताल चरा अवलोकन गर्न आउने पर्यटकका लागि सबैभन्दा आकर्षक ‘गन्तव्य’ बनेको छ ।

चीन, बेलायत, हल्याड र स्विडेनबाट चरा अवलोकन गर्ने पर्यटक धेरै आउने गरेका छन् । चराको विषयमा अध्ययन अनुसन्धान गर्ने चराविद्हरू पनि सौराहा आई लामो समय बसेर जाने गरेका छन् ।

गर्मी छल्न आउन थाले चरा

जाडो मौसममा चितवन आएका चरा फर्किएपछि गर्मी मौसममा चतवन आउने चरा भित्रिन थालेक छन् । ‘गर्मी मौसममा चितवन आउने चरा बच्चा केरलेर फर्कने छन् ’ विडारीले भन्नुभयो ‘धरै चराहरुले गुँड बनाइरहेको देख्न सकिन्छ ।’ 

जाडो मौसममा आउने चरा चिसो छल्न मात्र आउने गरेको र गर्मी मौसममा चितवन आउने चराले बच्चा कोरलेर लिएर सँगै फर्कने गरेको विडारी बताउनुहुन्छ । हिउँदमा नदी, खोला, तालतलैया र सिमसार क्षेत्रमा बसाइँ सरेर आउने पानी चरा हेर्न पर्यटक आउने क्रम बढेको उहाँले बताउनुभयो । 

भारतका स्वर्गचरी तथा राजचरीसमेत प्रजननका लागि चितवन आउने गर्दछन् । युरोपदेखि एसियाका विभिन्न मुलुकमा ट्याग लगाएका चराहरूसमेत चितवनमा फेला पारिएको छ । गर्मी मौसमका दिनमा न्यानो र रातमा हल्का चिसो हुने हँदा यो मौसम रैथाने तथा आगन्तुक चराहरूको लागि उपयुक्त मौसम मानिन्छ ।

नेपालको हिमाली क्षेत्रको साथै साइबेरिया, बर्मा, तिब्वतलगायतका जाडो प्रदेशबाट चिसो छल्न र आहाराको खोजीमा चराहरू यहाँ आउने गरेका छन् । 

संकटमा चरा 

चितवनका चरा संकटमा परेका छन् । चितवनवाट ६ प्रजातिका चरा हराएका छन् । आहारा र वासस्थानको अभाव र जलवायु परिवर्तनका कारण चरा संकटमा पर्दै गएका हुन् । चरा संरक्षणका लागि उपयुक्त वासस्थानको व्यवस्थापन कमी देखिएको चराविद्हरू बताउँछन् । चराका लागि चाहिने बुट्यान, घाँसे मैदान र तालतलैयाको संरक्षण गर्न आवश्यक देखिएको बिडारीले बताउनुभयो ।

चितवन निकुञ्ज र आसपासका क्षेत्रमा भएको चरा गणनामा यस वर्ष पानीमा आश्रित ६ प्रजातिका चरा भेटिएका छैनन् । अघिल्लो वर्ष देखिएका तर यसपटक बासस्थान, जलप्रदूषण तथा मानवचाप बढ्दै जाँदा चराका लागि अनुकुल वातावरण बन्न नसकेकाले हराएको हुन सक्ने विज्ञहरूको बुझाइ छ । चराको वासस्थान वरपर ढुंगा, बालुवा ओसारपसार गर्दा प्रभावित हुने गरेको छ । 

पछिल्लो समयमा निकुञ्ज क्षेत्रभित्र बढेको मानवीय चहल–पहल, ध्वनि प्रदूषण, वन फडानी, तालतलैयाहरू सुक्नु, नदीहरू प्रदूषित हुनु, निकुञ्ज आसपासका क्षेत्रमा आवादी बढ्नु, बालीनालीमा कीटनाशक औषधिको प्रयोग हुनु, आहाराको कमी तथा विश्वव्यापी जलवायु परिवर्तनको असर चरामा पनि देखिएको विज्ञहरु बताउँछन् । 

पानीमा आश्रीत चरा बढे

चितवन निकुञ्जमा रहेको पानीमा आश्रित चराको संख्या वृद्धि भएको छ । पछिल्लो समय गणना गर्दा पानीमा आश्रित चराको संख्या बढेको पाइएको चराविद् वासु विडारीले जानकारी दिनुभयो ।

पानीमा आश्रित चराको प्रजातिसँगै संख्या पनि बढेको छ । गएको वर्ष गरिएको गणनामा ४८ प्रजातिका पानीमा आश्रित चरा भेटिएकोमा यसवर्षको गणनामा ५० प्रजाति भेटिएको विडारीले बताउनुभयो । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया