सोलु करिडोर प्रसारण लाइनको बाटो खुल्यो

 चैत ११, २०७५ सोमबार १४:४:५० | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सामुदायिक वनको कारण रोकिएको निर्माणाधीन सोलु करिडोर १३२ केभी प्रसारण लाइनको काम अगडि बढाउन बाटो खुलेको छ । 

प्रसारण लाइनको ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाभित्र रहेको वन क्षेत्रमा रुख कटानको लागि मन्त्रिपरिषदले स्वीकृति दिएसँगै प्रसारण लाइनको काम अगाडि बढाउन बाटो खुलेको हो ।

यही चैत्र ७ गते बसेको मन्त्रीस्तरीय बैठकले आयोजनालाई रुख काट्नका लागि अनुमति दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको निर्णय अनुसार ओखलढुङ्गामा १२ दशमलव ८७ हेक्टर क्षेत्रफलमा रहेका ३ हजार ५ सय ९ तथा सोलुखुम्बुको ४ दशमलव ७७ हेक्टर क्षेत्रफलमा रहेका २ हजार ३ सय ६९ रुख काट्ने अनुमति प्राप्त भएको आयोजना प्रमुख जनार्दन प्रसाद गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार आयोजना लाइनमा सिरहाका ६, उदयपुरका १५, ओखलढुंगाका १३ र  सोलुखुम्बुका २ वटा सामुदायिक वन परेका छन् । आयोजना क्षेत्रभित्र पर्ने सिरहा र उदयपुर जिल्लाको वन क्षेत्रको जग्गा प्रयोगको विवाद केही समय अगाडि नै मिलिसके पनि ओखलढुंगा र सोलुखम्बु जिल्लाको वन क्षेत्रको जग्गा प्रयोगको विषय करिब ९ महिनादेखि टुंगिन सकेको थिएन । 

वन मन्त्रालयमा फाइल अड्किएर बसेकाले काम अगाडि बढ्न नसकेको आयोजनाले बताउँदै आएको थियो । कानुनी जटिलताकै कारण निर्धारित समयमा काम सम्पन्न गर्न नसक्ने बताइएको आयोजनाको लागि अब भने स्थानीय स्तरको सामान्य समस्या बाहेक कानुनी जटिलता हटिसकेको छ ।

‘राष्ट्रिय प्राथमिकता प्राप्त योजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्नेसम्बन्धी कार्यविधि २०७४’ ले वन क्षेत्रबाट हटाउनुपर्ने रुख बिरुवाको लगत संकलनको विवरण, वन डिभिजन कार्यालय र वन समूहले दिएको सहमति र वन क्षेत्रको स्थलगत विवरण, क्षेत्रफल, चारकिल्ला र जीपीएस कोअर्डिनेट खुलेको नाप नक्सासहितको विवरण वन विभागमा पठाउनुपर्ने व्यवस्था छ ।

यही कार्यविधिमा वन विभागले वनक्षेत्रको प्रयोग गर्न आवश्यक र उपयुक्त देखेमा वन मन्त्रालयको स्वीकृतिको लागि नेपाल सरकार समक्ष पठाएर पास भइसकेपछि मात्रै वन क्षेत्र प्रयोग गर्न पाइने कानुनी प्रावधान छ । प्रावधान अनुसार नै वन मन्त्रालयले स्वीकृति प्रदान गरेको बताइएको छ । 

ईआईए अनुसार करिडोर लाइन विस्तारका लागि १८ मिटर चौडा हुने गरी वनका रूख काटिनेछन् । कार्यविधिमा लाइन विस्तारका क्रममा बनेका स्थायी संरचना (पोल) ले ओगटेको क्षेत्रफलसमेत आयोजनाले सट्टा भर्ना गर्नुपर्ने हुन्छ । तार टाँगिनु अघि नै आयोजनाले जग्गा सट्टा भर्ना र वृक्षरोपण सामुदायिक वन समूहलाई गरिदिनुपर्ने हुन्छ ।

मन्त्रिपरिषदबाट स्वीकृत भएको याे फाइल विभागमा आउने र विभागसँग सम्झौता भएपछि काम अगाडि बढ्ने छ । सम्झौतालाई  विभागले जिल्लामा पठाएपछि मात्र रुख कटानको काम सुरु हुने आयोजना प्रमुख जनार्दन प्रसाद गौतमको भनाई छ ।

फाइल प्रक्रियागत रुपमा जिल्ला आउन १ महिना लाग्ने, त्यसपछि रुखमा टाँचा लगाउन २ महिना लाग्ने प्रमुख गौतमको भनाई छ । उहाँका अनुसार २ महिनापछि मनसुनको समय पनि सुरु हुने भएकाले काम प्रभावित हुनेछ ।

यसरी हेर्दा सोलु करिडोरमा रुख काट्ने काम सम्पन्न गर्नका लागि कम्तीमा ६ महिना लाग्ने आयोजनाको अनुमान छ । ६ महिनापछि तार तथा पोलको कार्य सुरु हुने र ६ महिनामा काम सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना प्रमुख गौतमको भनाई छ । यसरी हेर्दा आयोजना सम्पन्न गर्न अब एक वर्ष लाग्ने छ ।

 

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया