मलेसियाको रोजगारी : स्वास्थ्य परीक्षण गर्ने संस्थालाई सूचीकरण हुन १० दिनको म्याद

 चैत १३, २०७५ बुधबार ८:६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले केही दिनभित्रै मलेसियाको रोजगारी खुलाउने संकेत गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार सूचना निकालेर कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थालाई सूचीकरणको लागि निवेदन पेश गर्न भनेपछि यस्तो संकेत देखिएको हो । 

मलेसियाले अघिल्लो हप्ता स्वास्थ्य परीक्षणको मापदण्ड पठाएपछि मन्त्रालयले स्वास्थ्य संस्थालाई सूचीकरणको लागि सार्वजनिक सूचना प्रकाशित गरेको हो । मलेसियाले पठाएको मापदण्ड पनि एक दुई दिनमै सार्वजनिक गर्ने मन्त्रालयको तयारी छ ।

वैदेशिक रोजगार नियमावली (चौथो संशोधन) २०६४ को नियम ४५ क तथा वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ को दफा ३ बमोजिम सूचीकरण हुन १० दिनको समय दिइएको छ । 

प्राप्त निवेदनको आधारमा मापदण्ड पुगेका सूचीकृत स्वास्थ्य संस्थाको छनोट गरी मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सरकारले अनुमति दिनेछ । यसअघि स्वास्थ्य परीक्षणमा लापरवाही भएको भन्दै मन्त्रालयले तोकिएको मापदण्ड पूरा गर्ने स्वास्थ्य संस्थालाई मात्र परीक्षण अनुमति दिन लागेको हो । 

नेपाल र मलेसियाबीच भएको श्रम समझदारीमा स्वास्थ्य परीक्षणलगायतका अरु सबै प्रक्रिया निःशुल्क हुने र त्यसको खर्च मलेसियाका रोजगारदाताले नै बेहोर्ने उल्लेख छ । 

मलेसिया रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थालाई कारवाही गरेपछि गएको जेठदेखि मलेसियाको रोजगारी बन्द भएको थियो । कातिक १२ गते मलेसियासँग ऐतिहासिक श्रम समझदारी भए पनि प्रक्रियाबारे अस्पष्टता कायमै रहेका कारण रोजगारी खुल्न नसकेको हो ।

मलेसियाले स्वास्थ्य परीक्षणको मापदण्ड पठाएसँगै १० महिनादेखि रोकिएको मलेसियाको रोजगारी अब केही दिनमै खुलाउने तयारी छ । श्रम मन्त्रालय स्रोतकाअनुसार कलिङ भिसा आएका कामदारलाई पहिलो प्राथमिकता दिइनेछ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया