कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
डोटी – पुरानो क्षेत्रीय सदरमुकाम दिपायलको राजपुरमा एक संस्थाले स्थानीय नागरिकको लाखौँ रकम लिएर भागेको छ ।
विक्रम संवत २०७५ साल जेठ महिनामा दिपायलमा क्षेत्रीय कार्यलय खोलेको कर्णाली एग्रिकल्चर डेभलपमेन्ट नेपाल नामक संस्थाले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला अछाम, बैतडी,बाजुरा, बझाङ र डोटीबाट १९ लाख ९४ हजार दुई सय रुपैयाँ लिएर फरार भएको स्थानीयको आरोप छ ।
यहाँका पहाडी जिल्लामा विभिन्न बचत समूह बनाइ संस्थाले अछामबाट २ लाख ३० हजार ६ सय रुपैयाँ, बैतडीबाट ३ लाख ६ हजार ८ सय रुपैयाँ, बझाङबाट ४ लाख ३५ हजार ५ सय रुपैयाँ, बाजुराबाट ३ लाख १४ हजार ४ सय रुपैयाँ, तथा डोटीबाट ७ लाख ६ हजार ९ सय गरी जम्मा १९ लाख ९४ हजार दुई सय रुपैयाँ लगेर फरार भएको बताइएको छ । त्यस संस्थाले यहाँका जिल्लामा ब्याज तथा ऋण सहयोग दिने भन्दै बचत समूह बनाइ प्रत्येक समूहमा आबद्ध सदस्यहरुबाट मासिक २ हजार रुपैयाँका दरले रकम उठाउँदै आएको थियो ।
उता राजपुरका स्थानीय तथा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनबहादुर कलेलले रकम संकलन गरेर कर्णाली एग्रिकल्चर डेभलपमेन्ट नेपाल नामक संस्थाका पदाधिकारी फरार भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संस्थाका कर्मचारी कतिबेला फरार भए कसैले पत्ता लगाउन सकेनौँ, संस्थाको बोर्ड झुन्ड्याएको छ, पछि बुझ्दा थाहा भयो, कर्मचारी भागे भन्ने ।’
त्यस संस्थाका कर्मचारीले रकम लिएर फरार भएको विषयमा जिल्ला प्रहरी कार्यालयमा अहिलेसम्म कुनै पनि उजुरी नपरेको प्रहरी प्रमुख विद्यानन्द माझीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘रकम लिएर संस्था भाग्यो भन्ने सुन्नमा आएको छ तर उजुरी कसैले दिएको छैन ।’
फरार भएका त्यस संस्थाका कर्मचारीले स्थानीय दीर्घराज राणाको घर भाडासमेत नतिरेको बताइएको छ । त्यस संस्थाको केन्द्रीय कार्यालय नेपालगञ्जमा रहेको र संस्थाका अध्क्षय भष्टचारको आरोपमा जेल परेको बताइएको छ ।