हिलोमा फुलेका कमल, त्रिशूलीमा बिलाए

 चैत १३, २०७५ बुधबार १८:२२:५४ | किरण लोहनी
unn.prixa.net

गोरखा – पृथ्वी राजमार्गमा पर्ने चितवनको फिस्लिङ बजारबाट त्रिशूली नदीको झोलुङ्गे पुल पार गरेपछि टेकिन्छ, गोरखाको साविकको भूम्लीचोक गाविस । 

पुल पारिबाट कस्सिएर आधाघण्टाको ठाडो उकालो उक्लेपछि पुगिने आइडाँडाबाट ठाडोबाटो गाउँपालिकाको केन्द्रतर्फ सोझिन्छ भने अर्को तेर्सो बाटैबाटो १५ मिनेट जति हिँडेपछि पुगिन्छ, तोमनडाँडा आधारभूत विद्यालय । 

विद्यालय नजिकैबाट गएको सडकै सडक अर्को १५ मिनेट जति हिँडेपछि पुगिने वनटार बस्तीमा चेपाङ समुदायको बाक्लो बसोबास छ । तोमनडाँडाबाट बस्तीतर्फ हेर्दा देखिनेजस्ता र स्याउलाले बारेका साना साना छाप्राले चेपाङ गाउँको गरिबी, अशिक्षा, अभावको धेरथोर पीडा बोल्छन् । 

बस्तीमै पसेपछि लाग्छ, देशको व्यस्त राजमार्गबाट करिब एकघण्टा टाढाको यो विकट गाउँमा चेपाङ समुदाय पनि बस्छन् भन्नेबारे राज्य बेखबर छ । हालको गण्डकी गाउँपालिका–६, मा पर्ने वनटारमा करिब ४० घरधुरी चेपाङ समुदायको बसोबास छ । 

हरेक घरका मान्छेलाई भिरालो पाखो सुर्काबारीमा मकै छर्नका लागि मल बोक्ने चटारो छ । मल बोक्ने काममा खटिएका अधिकांश खेतालाहरु किशोर–किशोरीहरु छन् । गाउँबाट १५ मिनेटमै पुगिने तोमनडाँडा आधारभूत विद्यालय पुगेर अक्षरको मेलो समात्नुभन्दा केटाकेटीहरुलाई मेलापात, घरधन्दा र ज्याला मजदूरीको काम सजिलो लाग्यो । 

४÷५ कक्षा पढ्दापढ्दै स्कुल छोडेका धेरैजसो किशोरीले त बिहे गरेर बच्चाबच्चीसमेत जन्माइसकेका छन् । किशोर–किशोरीहरु मेला जाने, मल बोक्ने, मकै गोड्ने र फिस्लिङतिर भारी बोक्न जाने काममा यति धेरै रमाएका छन् कि, उनीहरुलाई यो भन्दा पर पनि जिन्दगी छ भन्ने लागेकै छैन वा थाहै छैन ।

भारी बोकेर कमाएको दुई पाँच हजारले स्मार्टफोन किन्नु र त्यसमा भिडियो हेर्नु उनीहरुको जिन्दगीको सबभन्दा ठूलो लक्ष्य बनेझैं लाग्छ । ‘फलानाले स्कुल नपढेर के भो त, मोबाइल खेलाउन सक्ने भैहाल्यो’ गाउँलेहरु मोबाइल खेलाउनेको प्रशंसा यसरी गर्छन् । 

स्कुले उमेरका झण्डै ३०-४० बालबालिकाका बीचमा वनटारकै कमल चेपाङ भने फरक निस्के । दौंतरीहरुले धमाधम पढाइ छोडे पनि उनी भने स्कुल जान छोडेनन् । पढाइमा मध्यम कमलले घर नजिकैको तोमनडाँडा आधारभूत विद्यालयबाट २०७३ सालमा ८ कक्षा पास गरे । 

त्यसभन्दा माथिको पढाईका लागि गाऊँबाट एक घण्टा माथिको भद्रकाली माविमा भर्ना भए । कमलको घरमा आमा, ३ दाजुभाइ र २ दिदीहरु छन् । बुवाको ३ वर्ष अघि निधन भयो । एउटी दिदीको बिहे भैसक्यो भने अर्की दिदी किरुमाया स्टाफ नर्स बन्ने अन्तिम तयारीमा छिन् । 

चार दाजुभाइमध्येका कान्छा कमललाई पढाउन दिदीको प्रेरणाले काम गरेको उनले आठ कक्षासम्म पढेको तामेनडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक कुल बहादुर चेपाङले बताउनुभयो । 

‘घर परिवारको आर्थिक अवस्था पनि त्यति राम्रो होइन, दाजुहरु अर्मपर्म र मेलापातकै काम गर्छन्, ३ रोपनी जति टारी खेत छ,’ उहाँले भन्नुभयो, ‘कमजोर आर्थिक अवस्थाकै बीचमा पनि दिदीले स्टाफ नर्सको पढाई पूरा गर्न लागेकी छिन्, कमललाई पढाइमा हौस्याउने काममा पनि दिदीको ठूलो भूमिका थियो ।’ 

पढाइमा त्यति धेरै तेज नभए पनि कमल मध्यम खालका विद्यार्थी रहेको ८ देखि १० कक्षासम्म पढेको भद्रकाली माविका प्रधानाध्यापक नरेन्द्र तिमिल्सिनाले बताउनुभयो । ‘पढाईमा ठीकै थिए, तर मिजासिलो र साथीहरु लगायत सबैसँग घुलमिल हुने भद्र खालको स्वाभाव थियो उनको ।’ उहाँले भन्नुभयो । 

यही स्वाभावका कारण उनी गाउँघरमा सबैका प्रिय थिए । ‘ऊ ठूलै मान्छे बन्छ जस्तो हामीलाई लागेको थियो’ वनटारकी सम्झना चेपाङले टेलिफोनमा भन्नुभयो, ‘के गर्नु दैवलाई पनि राम्रै मान्छे चाहिने रहेछ ।’ 

यिनै कमल साथीहरुसहित एसईई परीक्षा दिन ज्ञानमार्ग मावि घ्याल्चोक आएका थिए । दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा दिएपछि उनी साथीहरुसहित सामान किन्न भन्दै घ्याल्चोक पारिको चरौंदी बजार हिँडे । 

गोरखाको घ्याल्चोक र धादिङको चरौंदी बजार जोड्ने गरी झोलुङ्गे पुल सञ्चालनमा रहेको छ । तर कमल र उनका साथीहरु पौडी खेल्दै नदी पार गर्ने प्रयासमा लागे । 

चैत ११ गते दिउँसो साढे एक बजेतिर नदी तर्दै गर्दा कमललाई त्रिशूलीले बगायो । गाउँसम्म खबर पुग्यो ।

सबै गाउँलेहरु त्यसै दिनदेखि हरेक दिनजसो दिनभर नदी किनारमा कमलको खोजीमा लाग्छन्, तर उनको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन । उनी बेपत्ता भएदेखि नै कमलको घरमा सन्नाटा छाएको छ भने विकट वनटार गाउँ शोकमा डुबेको छ । 

कमलले आठ कक्षासम्म पढेका तोमनडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक कुलबहादुर चेपाङ भन्नुहुन्छ, ‘गरिबी, अशिक्षा, कुरीति र कुसंस्कारको हिलोका बीचमा फुल्दै गरेका कमल आखिर त्रिशूलीमा बिलाए ।’  

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया