वर्षौंदेखि पूरै गाउँ लालपूर्जाविहीन

 चैत १३, २०७५ बुधबार २०:२८:२९ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटी जिल्लाको पुर्र्वीचौकी गाउँपालिकाको काडामाण्डौ गाउँका स्थानीय वर्षाैंदेखि लालपूर्जाविहीन छन् । 

जमिन भएर पनि स्थानीयहरु अहिले आफूहरु सुकम्बासी सरह भएको बताउँछन् । नेपाल एकीकरणका क्रममा पश्चिम गौंडाको इञ्चार्ज भएर आउनुभएका सरदार अमरसिंह थापाले पूर्वीचौकीको काडामाण्डौमा मालिका भगवती मन्दिर स्थापना गरी अखण्डद्वीप बाल्ने प्रचलन चलाउनुभयो । 

मन्दिर निर्माणसँगै उक्त क्षेत्रको जमीन आफूले विर्ता पाएको घोषणा गरेर स्थानीय उपरकाँडा, नवाघर, बोगटी गाउँ र बटाला गाउँका ५३ परिवारलाई जोतभोग गर्ने हकसमेत दिएर उहाँ जानुभयो । 

उहिलेका ५३ परिवार अहिले करिब ४०० परिवार पुगे तर अहिलेसम्म उनीहरू लालपूर्जाविहीन छन् । अमरसिंहका ‘जोताहा’ भन्दै जोतभोगको हक पाएका ती बासिन्दा न सुकुम्बासी हुन न त जग्गाधनी नै । 

अहिले पनि तिरो बुझाउनाका साथै मन्दिरको व्यवस्थापन र द्वन्द्वका बेला निभेको अखण्डद्वीप फेरि नियमित गर्दै आएका उनीहरूले विसं २०४४ मा मालपोत कार्यालयबाट ‘जोताहा पूर्जा’ पाए पनि जमीनको मालिक भने हुन सकेका छैनन् । 

‘हामीले भोगचलन गरेको जग्गा नापजाँचसमेत भएको छ,’ स्थानीय गोरखबहादुर बोगटीले भन्नुभयो, ‘तर पनि हामीले लालपूर्जा पाउन सकेका छैनौँ । विसं १८४६ मा गरिएको उक्त व्यवस्था अहिलेसम्म पनि आफूहरुले मान्नुपरेको छ । यो २२९ वर्षमा देशमा अनेकौँ परिवर्तन भए, अनेकौँ व्यवस्था आए तर हाम्रा लागि उस्तै अवस्था छ’, उहाँले भन्नुभयो । 

तर पनि उनीहरुले सलामी चढाउनुपर्ने, कर तिर्नुपर्ने र भूमिहीन भएर बस्नुपर्ने भएको छ ।

लालपुर्जा नभएकै कारण राज्यबाट पाउने मलखाद, बीउ, सिँचाइ सुविधाका साथै र जग्गा बिक्री वितरण गर्नसमेत आफूहरुले नपाएको जोताहाहरूको गुनासो छ । 
जग्गा जोतभोग गरेबापत आफूहरुले बर्सेनि नौ माना तेल, छ माना घिउ, १९ किलो चामल र एउटा बोका उपलब्ध गराउँदै आएको जानकारी दिँदै जोताहा बोगटीले भन्नुभयो, ‘मेरो करिब २० रोपनी जमिन होला, मैले करबापत करिब २० हजार रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता छ ।’ 

गाउँलेले कर उठाएर वर्षभरिमा ४८ बोका र दुई राँगा अनिवार्य बलि दिनुपर्ने बाध्यता अहिले पनि छ । दशैँको नवरात्रमा नौ दिनसम्म बोका बलि दिनुपर्ने नियम छ । मन्दिरमा दशैँ, चैतेदशैँ र मालिका पूर्णिमाका दिन मेला लाग्ने गर्छ । 

आफूले प्रयोग गरिरहेको जमिनको लालपुर्जा पाउनुपर्ने माग उनीहरूले गर्दै आएका छन् । गुठीमा रहेको जमिन रैकरमा परिणत गरी आफ्नो नाममा गरिदिनु पर्नेमा उनीहरूको जोड छ । 

गुठी संस्थान ऐनअनुसार उक्त जमिन रैकरमा परिणत हुनसक्ने देखिएको गैरसरकारी संस्था याक नेपालका कार्यकारी निर्देशक डबल बमले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ऐनको दफा १३ अनुसार उक्त जमिन रैकरमा परिणत हुनसक्छ, पहल ग¥यो भने त्यो सम्भावना देखिन्छ ।’

कार्यकारी निर्देशक बमले विसं २०१६ मै बिर्ता उन्मूलन भइसकेको हुँदा बिर्ताको रुपमा शुरुवात भएको यो जमिन अब रैकर बनाउन सकिने जानकारी दिनुभयो । 
अध्ययनका क्रममा उक्त क्षेत्रमा रहेका करिब ६० दलित परिवारको नाममा जोताहा पुर्जासमेत नरहेको पाइएको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया