एउटा बेरोजगारको रोजगार कहानी

 चैत १६, २०७५ शनिबार ७:४९:१२ | मिलन तिमिल्सिना
unn.prixa.net

गाउँमा खेतबारी बाँझै छ । खनजोत, छरछार र गोडमेल गर्न मन लाग्दैन । साथमा डिग्री पढेको सर्टिफिकेट छ, भनेजस्तो काम पाइँदैन ।

बाआमालाई खेतबारीमा काम गर्ने मान्छे चाहिएको छ, आफूलाई चाहिँ पढाइअनुसारको काम । डिग्री पढेको मान्छेले नि के खेतीपाती गर्नु ! लुगामा हिलो र धुलो लाग्छ । हात खुट्टा फुट्छ । शरीर धुलेफुस्रे भइन्छ । सम्झिँदा पनि मन मरेर आउँछ । त्यसैले शहरमा लेखपढ गर्न बसेको म शिक्षित बेरोजगार ।

सर्टिफिकेट बोकेर डुल्दाडुल्दा दाह्री कपाल फुल्न थालिसके । जागिर नखाई बिहे पनि नगर्ने भनेर कसम खाएकाले जिन्दगी एक्लै बित्ने हो कि भन्ने डर भैसक्यो । तर देशमा दुई तिहाईको सरकार बनेदेखि डर र चिन्ता हटेको छ । 

सरकार गठन भएपछि मात्र होइन, सरकारको नेतृत्व गर्ने पत्तो नहुँदै चुनावी घोषणापत्रमा बेरोजगारलाई रोजगार दिन्छु भने । मजस्ता बेरोजगारलाई रोजगारसँगै देशमा विकास र समृद्धिले उथलपुथल ल्याउने वाचा गरेको पार्टीले नै दुई तिहाईको बलियो सरकार बनाएको छ ।

पहिलेको सरकार फू गर्दा पनि ढल्ने कमजोर हुन्थ्यो । अहिलेको सरकार त आँधीहुरी र भुइँचालोले पनि नढल्ने बलियो सरकार छ । बलियो सरकारले जे भन्यो त्यही हुन्छ भनेर पत्यार लाग्छ । त्यसैले सरकारले जे–जे भन्यो, त्यही त्यही पत्याएर आशैआशले अघाउन लागिसकेँ ।

दशतिर सर्टिफिकेट बोकेर कुद्दा पनि कसैले काम नदिएपछि विदेश जानुपर्ला भन्ने सोच्न थालेको थिएँ । सरकारले भन्यो, ‘अब ५ वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य गरिन्छ ।’ मलाई सरकारको कुराले फुरुङ्ग बनायो । फुरुङ्ग हुँदाहुँदै सरकारले रोजगारीको हकसम्बन्धी ऐन बनायो ।

अब कोही पनि युवा बेरोजगार बस्न पर्दैन भनेर प्रधानमन्त्री र मन्त्रीहरुले भाषण गर्दागर्दै बेरोजगारको फारम पनि खुल्यो ।

अब आफ्नै ठाउँमा काम पाइन्छ भन्ने आशाले बेरोजगारको फारम भर्नेबित्तिकै जताततै कामको अवसर आउन थाल्यो । सुरुमा कोरियन भाषा परीक्षाको आवेदन खुल्यो । बेरोजगारको फारम वडा कार्यालयमा बुझाएर हत्तपत्त बैंकमा लाइन लाग्न पुगें । 

हुन त अनलाइनबाटै फारम भर्न सकिन्छ भन्ने सुनिएको हो । तर, न बीचमै हराउने हो ! अनलाइनको के भर । आफू लाइनमा उभिएर भरेको फारमको पो विश्वास हुन्छ । त्यसैले अरु केही नसोची अघिल्लो साँझ नै लाइनमा बसियो । उतै चौरमा सुतियो । कहिलेकाहीँ यसरी बाहिर सुत्नु र लाइनमा उभिनुको मज्जा पनि छुट्टै हुन्छ । पत्रिकामा फोटो पनि आउँछ, समाचार पनि छापिन्छ ।

बेरोजगारको फारम भर्नु कि जापानको लाइनमा उभिनु !

यस्तै मज्जाले कोरियन भाषा परीक्षाको आवेदन भरियो । आवेदन भरेर फर्कन नभ्याउँदै सरकारले भन्यो, ‘अब कोरिया मात्र होइन, जापानमा पनि काम गर्न जाने बाटो खुल्यो ।’ अब विदेशमा होइन, आफ्नै देशमा काम गर्नुपर्छ भनेर भाषण गर्ने मन्त्रीको उपस्थितिमा तामझामका साथ श्रम समझदारीमा हस्ताक्षर भयो । 

कोरिया जानको लागि फारम भरिसकेँ, अब जापानमा के गर्ने ? यही बेला जापान पनि खुल्नुपर्ने ? कहिले खातैखात, कहिले पुर्पुरोमा हात । यतिका वर्षसम्म जागिर नपाएर हैरान, अब बेरोजगार फारम भरेर गाउँमै जागिर खाने कि सरकारले पठाउने कोरिया र जापान जाने ? अलमलकाबीच फेरि अर्को खबर आयो, अब मलेसियाको रोजगारी पनि खुल्यो ।

अहिलेसम्म अरुले दुःख पाएको देखेर विदेश नगएको । दलालले ठग्छन्, यहाँ भनेअनुसारको काम र दाम उता पुगेपछि मिल्दैन भन्ने सुनेको । तर सरकार भन्छ, अब पहिलेजस्तो हुँदैन । मलेसियासँग श्रम समझदारी भएकाले कामदारले कुनै खर्च नगरी मलेसिया जान पाउँछ, यहाँ भनेअनुसारकै काम मिल्छ । मलेसिया मात्र होइन, अरु देशमा पनि यसैगरी श्रम समझदारी हुँदैछ भनेर मन्त्रीज्यूले भाषण गरेका गर्‍यै छन् ।

हैट अब फेरि मलेसिया र अरु देशमा पनि काम गर्न जाने रहर बढ्न थाल्यो । सरकारकै कारण रहर बढेको । 

आफ्नो त बेरोजगार फारम भर्ने, सरकारले काम दिए गर्ने, नदिए बेरोजगार भत्ता बुझ्ने सुर थियो । तर बेरोजगार फारम भरेर काम र भत्ता पाइने ठेगान छैन ।

कोरिया, जापान र मलेसियाको ठेगान भैसक्यो । यता काम पाए पनि दाम कति हुन्छ पत्तो छैन, उता जान पाइयो भने त खल्तीमा नअटाउने पैसा हुन्छ । त्यहाँ काम गर्न जानेले भनेको होइन, सरकार आफैले भनेको । सीप र भाषा जाने पुग्यो । उता गएर काम गर्न थालेपछि पैसा टिपेर फुर्सद हुँदैन ।

मजस्तो बेरोजगारको दिन फिर्यो । जता फर्के पनि कामै काम । देशभित्रै काम ढुकेर बस्ने कि विदेश कुद्ने ?

सर्टिफिकेट धितो राखी ऋण लिएर यतै व्यवसाय गर्ने कि खेतबारी  खोरिया धितो राखी ऋण लिएर जापान र कोरिया जाने लाइनमा उभिने ? जता फर्के पनि कामैकाम दामैदाम देखेर म त बेहोस हुन लागिसकेँ । योभन्दा धेरै कुरा पढ्नु भयो भने तपाईँ पनि बेहोस हुनुहोला भनेर यहीँ रोकिएँ । धन्यवाद ।  

अन्तिम अपडेट: चैत १५, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया