दैलेखमा भाइरल ज्वराेकाे प्रकोप

 चैत १६, २०७५ शनिबार २०:१२:४० | अमर सुनार
unn.prixa.net

दैलेख – महाबु गाउँपालिका–२ बडाखोलाकी रोजिना थापाले २ वर्षीया छोरा लक्की थापालाई दैलेख जिल्ला अस्तालमा भर्ना गरेको ४ दिन भयो, ज्वरोले लखतरान भएर ल्याएको बालक अहिले हाँस्ने–खेल्ने भइसकेका छन् । 

नारायण नगरपालिका–६ नयाँगाउँकी ७१ वर्षीया मानकुमारी राना धमको दीर्घरोगी हुनुहुन्छ, अघिल्लो हप्ता प्राइभेट मेडिकलमा उपचार गराउँदा ८ हजार खर्च भयो तर निको भएन । अस्पतालमा राखेको २ दिनमा मानकुमारी तङ्ग्रिन थाल्नुभएको छ । उहालाई हाइकेयर यूनिटमै राखेर उपचार गराउँदा १२ सय मात्र खर्च भयो ।   

इञ्जिनियर निरक खड्का भाइरल ज्वरोले थलिएर उपचार गराउन भर्ना भएको तेश्रो दिन शनिवार सामान्य हिड्डुल गर्न सक्ने हुनुभएको छ  । बिहीबार र शुक्रबार सुधार नहुँदा बाँचिन्न कि भन्ने डर लागेको तर नयाँ जुनि पाएजस्तो लागिरहेको उहाँले टिप्पणी गर्नुभयो ।

यस्तै नारायण नगरपालिका–१ वडा सदस्य रमेशकुमार केसी पनि भाइरल ज्वरोले थला पारेपछि शनिबार अस्पताल भर्ना हुनुभयो । नारायण क्याम्पसकी स्ववियू सभापति रेखा थापा श्वासप्रश्वास समस्याले आक्रान्त भएर शनिवार अस्पताल पुगेर उपचार सुरु गर्नुभएको छ । 

छाति दुखेर बिरामी परेकी नौमूले गाउँपालिका–४ कालिकाकी ६१ वर्षीया जैसरा सलामी पनि शनिवार नै दैलेख जिल्ला अस्पताल भर्ना हुनुभएको छ । लठ्ठी टेक्दै अस्पताल पुग्ने बित्तिकै उहाँले सुत्ने ठाउँ खोज्नुभयो, स्वास्थ्य सुधार हुन थालेको बिरामीले बेड छोडेपछि उहाँलाई बिश्राम र उपचार सुरु भयो । 

बयस्कहरु धेरै जति भाइरल ज्वरो, बालबालिकाहरु निमोनिया, बृद्धबृद्धाहरु धमका रोगी उपचारमा आएका छन् । कोही मेडिकलमा निको नभएपछि अस्पताल आएका छन्, धेरै जना चाहिं सोझै अस्पताल आएका देखिएबाट अस्पतालप्रति सेवाग्राहीहरुको बिश्वास बढ्दै गरेको देखिन्छ ।  

जनबिश्वास कमाएको दैलेख जिल्ला अस्पतालमा अहिले भाइरल ज्वरोको बिरामीले  खचाखच भरिएको छ । जम्मा १५ शैयाको अस्पतालमा केही दिन पहिलेदेखि उपचार गराउँदै गरेका र शनिवार भर्ना भएका समेत ३४ जना बिरामीको उपचार भइरहेको छन् । 

अस्वस्थ वातावरणको भीडभाड, सुत्ने बस्ने कोठामा प्रयाप्त प्रकाश र हावा नपुगेको, सरसफाईको कमी, मौसम परिवर्तनसंगै लगाउने कपडाको उचित प्रवन्ध नगरेको कारण भाइरल संक्रमण हुने जोखिम हुने दैलेख जिल्ला अस्पतालका इञ्चार्ज डा. निरञ्जन पन्तको व्याख्या छ । 
  

अन्तिम अपडेट: चैत ५, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया