विदेशबाट फर्किएकाको सीप परीक्षण र प्रमाणीकरण वैशाख ३ गतेदेखि सातवटै प्रदेशमा गरिने

 चैत १७, २०७५ आइतबार १३:३२:२३ | उज्यालो सहकर्मी

काठमाण्डौ – सरकारले वैदेशिक रोजगारीबाट फर्किएर सीप परीक्षणका लागि निवेदन दिएका व्यक्तिको सीप परीक्षण वैशाख ३ गतेदेखि ७ गतेसम्म गर्ने भएको छ । 

त्यसका लागि चैत २० गतेदेखि २७ गतेसम्म अभिमुखिकरण गरिने भएको छ । अभिमुखिकरणमा के के सीपको परीक्षण कहाँ गरिन्छ अनि कसरी गरिन्छ भन्ने विषयमा जानकारी गराइने वैदेशिक रोजगार बोर्डले जनाएको छ । 

अभिमुखिकरण चैत २० गते इटहरीको पाथिभरा हिमालय पोलिटेक्निकल इन्स्टिच्यूट, चैत २२ गते महोत्तरीको बर्दिबासमा रहेको सैलुङ होटल एण्ड रेस्टुरेन्ट, चितवनको नारायणी पोलिटेक्निकल इन्स्टिच्यूट, सुर्खेतको घरेलु तथा साना उद्योगको कार्यालय, कैलालीको धनगढीमा रहेको धनगढी कलेज अफ इन्फरमेसन टेक्नोलोजी प्रालि र चैत २६ गते भक्तपुरको सानोठिमीमा रहेको प्राविधिक प्रशिक्षण प्रतिष्ठानमा हुने बोर्डले जनाएको छ । 

सरकारले आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीबाट फर्किएका एक हजार जना युवाको सीप परीक्षण गर्न आवेदन माग गरेको थियो । फारम भर्ने म्याद थप्दा पनि झण्डै साढे ४ सय जनाले मात्रै सीप परीक्षणका लागि निवेदन दिएका छन् । 

पहिलो पटक गएको मंसिर ११ गतेदेखि मंसिर मसान्तसम्मको म्याद दिएकोमा फारम भर्नेको सङ्ख्या कम भएपछि पुस मसान्तसम्मको म्याद थपिएको थियो । तर यो अवधिमा पनि सरकारले लक्ष्य लिएको भन्दा आधा कम युवाले फारम भरेका छन् ।

वैदेशिक रोजगारीमा गएर फर्किएका युवाले विदेशमा वर्षौं काम गर्दा पनि अनुभवको कुनै प्रमाण नपाउने स्थिती अन्त्य गर्न भन्दै सरकारले त्यस्ता युवाको सीप परीक्षण र प्रमाणिकरण गर्न लागेको हो । 

वैदेशिक रोजगारीबाट फर्किंदा कामको प्रमाणपत्र नहुने र केही काम नपाएको भन्दै फेरि पनि विदेश नै जानुपर्ने अवस्थाको अन्त्य गर्न भन्दै सरकारले पहिलो पटक सीप परीक्षण गरेर प्रमाणपत्र दिन लागेको हो । 

औपचारिक शिक्षा नलिएकालाई पनि नासु, खरिदार सरहको प्रमाण

अहिलेसम्म वर्षौं विदेशमा बसेर काम गरेर फर्किंदा पनि नेपाली कामदारले त्यो कामको अनुभवको प्रमाणपत्र पाएका छैनन् । जसले गर्दा नेपाल फर्किएपछि कुनै काम पाउन सजिलो छैन । न त अनुभवका आधारमा स्वरोजगार बन्न नै सहज छ ।

यसको अन्त्य गर्न सरकारले पहिलो पटक सीप परीक्षण र प्रमाणिकरण गर्न लागेको हो । सीप परीक्षण र प्रमाणिकरण गरेर गरेपछि त्यसमा उत्तीर्ण भएका कामदारले लोकसेवाको परीक्षा पास गरेकै सरहको मान्यता पाउने बोर्डको भनाई छ ।

 काम गर्न जानेका तर औपचारिक शिक्षा नलिएका व्यक्तिहरुले लेभल एकको तालिम लिएपछि मुखिया, लेभल दुईले खरिदार र लेभल तीनले सुब्बा सरहको मान्यता पाउनेछन् ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, सीप परीक्षण समितिका कार्यकारी निर्देशक दामोदर देवकोटाका अनुसार यो सरकारबाट मान्यता दिइएको प्रमाणपत्र भएकाले कामदार त्यो तहको कामका लागि प्रतिस्पर्धा गर्न योग्य हुनेछन् ।

सीप परीक्षणका फाइदा त्यति मात्रै छैनन् । सीप परीक्षण गर्ने कामदारले आफूले सिकेका सीप प्रयोग गरी स्वरोजगार पनि बन्न सक्नेछन् । स्वरोजगार बन्न ऋण लिनु परेमा पनि यो प्रमाणपत्रले सघाउने देवकोटाको भनाई छ । 

सरकारले पनि जागिर खोज्न सहयोग गर्ने 

सीप परीक्षणमा सहभागी भएर उत्तीर्ण हुने कामदारलाई जागिर खोज्न पनि सरकारले सघाउने छ । विभिन्न उद्योग तथा प्रतिष्ठानहरुसँग समन्वय गरी उनीहरुलाई चाहिएका जनशक्ति र कामदारका बीचमा समन्वय पनि गरिने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालय अन्तर्गत प्रशिक्षण तथा अध्ययन अनुसन्धान शाखाका प्रमुख ऋषिराम भुसालले बताउनुभयो । 

के के कामको सीप परीक्षण ?

सरकारले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिका लागि यो वर्ष २० वटा कामको सीप परीक्षण र प्रमाणिकरण गरी प्रमाणपत्र दिने भएको छ ।पहिलो पटक सीप परीक्षण र प्रमाणिकरण गर्न लागेको सरकारले यो वर्षका लागि विल्डिङ पेन्टर, स्कापफोल्डर, बिल्डिङ इलेक्ट्रिसियन, असिष्टेण्ट वेटर, हाउसकिपिङ क्लिनर, रेफ्रिजेनेटर एण्ड एअर कन्डिसन जुनियर मेकानिक्स, टेलरिङ र फर्निचर मेकरको सीप परीक्षण गर्ने बताएको छ ।

यस्तै सटरिङ कापेन्ट्री, इन्डस्ट्रियल इलेक्ट्रिसियन, केयर गिभर, आर्क वेल्डर, एक्साभेटर अपरेटर, जुनियर प्लम्बर, स्टोन लेयर मेसन (डकर्मी), असिष्टेन्ट ब्यूटिसियन, कमी तेस्रो, आल्मुनियम फेब्रिकेटर, सेक्युरिटी गार्ड र स्ट्रक्चरल फेब्रिकेटरको सीप परीक्षण र प्रमाणिकरण गरिने बोर्डले जनाएको छ ।

यी काममध्ये एक व्यक्तिले एउटा कामको मात्रै सीप परीक्षण गर्न पाउनेछन् । यी सबै कामको परीक्षण प्रयोगात्मक (प्य्राक्टिकल) हुने सीप परीक्षण केन्द्रका सीप परीक्षण समितिका कार्यकारी निर्देशक दामोदर देवकोटाले बताउनुभयो ।

 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया