सञ्चालनमा आएको १० महिना नबित्दै फेरि बन्द भयो राजविराजमा विमान सेवा

 चैत २०, २०७५ बुधबार ९:३०:१६ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – ६ दशकदेखि बन्द रहेको सप्तरीको राजविराज विमानस्थल सञ्चालनमा आएको १० महिना नबित्दै पुनः विमान सेवा ठप्प भएको छ ।

गएको असार १० गतेदेखि नियमित विमान सेवा थालिएको विमानस्थलमा सुरुमा साताको ५ दिन उडान भर्दै आएको थियो । प्राविधिक त्रुटी देखाउँदै केही महिनादेखि ३ दिन उडान भर्दै आएको श्री एयरलाइन्सले सोमबारदेखि अनिश्चितकालीन उडान सेवा बन्द गरेको छ ।

सूचना बिना नै एयरलाइन्स कम्पनीले विमान सेवा बन्द गरेको राजविराज नागरिक उड्डयन कार्यालयले जनाएको छ । 

वि सं २०१६ सालमा तत्कालीन यातायातमन्त्री स्व.गणेशमान सिंहले शिलान्याश गरी सञ्चालनमा ल्याएको विमानस्थल हो, ‘राजविराज विमानस्थल’ । केही दिन सञ्चालन पश्चात कच्ची धावनमार्गको समस्या देखाउँदै विमान सेवा पूर्ण रुपमा ठप्प नै गरियो ।

पछि विभिन्न प्रयासले विमानस्थलमा एक हजार पाँच सय मिटर लामो र ३० मिटर चौडाइको पक्की धावनमार्ग, ९० मिटर लामो र ६० मिटर चोडाइ एप्रोन तथा १ सय १० मिटर लामो र २० मिटर चौडाइको ट्याक्सी वे पक्की निर्माण भएपछि गएको जेठ ९ गते श्री एयरलाइन्सले सफल परीक्षण गर्‍यो ।

झण्डै ६ दशकपछि गएको असार १० गतेबाट राजविराज विमानस्थलमा नियमित हवाई सेवा सुचारु भयो । श्री एयरलायन्सको ५० सिट यात्रु क्षमता भएको विमानले साताको पाँच दिन उडान सुरु गर्यो । पाँच महिनासम्म शनिबार र मङ्गलबार बाहेक श्री एयरलायन्सले नियमित उडान सेवा सञ्चालन गरेको थियो । पछि प्राविधिक समस्या देखाउँदै एयरलायन्स कम्पनीले दुई महिना यता सातामा ३ दिन मात्रै उडान भर्ने समय तालिका कायम गरेको थियो ।

राजविराज नागरिक उड्डयन कार्यालयले विमानस्थलको पूर्वतर्फ ७ सय मिटरकै दुरीमा ९० फिटको अग्लो ४ वटा चिम्नी (ईट्टा भट्टा) का कारण विमान सेवा सञ्चालनमा गम्भीर समस्या भइरहेको जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया