एक दिनका लागि नेपालगञ्जकाे मेयर बनेका वर्मा, बत्ती बनाउन राति-राति सडकमा

 चैत २०, २०७५ बुधबार २०:५४:२६ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - नगरभित्र राखिएका सोलार मर्मत सम्भारका लागि नेपालगञ्ज उपमहानगरपालिकाका कार्यवाहक मेयर दीपक वर्मा बुधबार राति आफै सडकमा खटिनुभएको छ ।

महिनौँसम्म पनि सोलार प्यानलको मर्मत नभएपछि कार्यवाहक मेयर वर्माले बुधबार प्राविधिक कर्मचारीलाई लिएर राति मर्मतसम्भारमा खटिनुभएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणा र उपमेयर उमा थापा काम विशेषले जिल्लाबाहिर रहेकाले वर्माले बुधबार एक दिनका लागि कार्यवाहक मेयरको जिम्मेवारी पाउनुभएको हो । दीपक वर्मा नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष हुनुहुन्छ । उहाँ नेपालगञ्ज उपमहानगरपालिकाका सक्रिय जनप्रतिनिधिमा गनिनुहुन्छ ।

नेपालगञ्जको जमूनाहदेखि कारकादौंसम्म १५० वटा सोलार प्यानल रहेकोमा झण्डै तीन दर्जन बिग्रेको पाइएको वर्माले बताउनुभयो ।  

बुधबार रातिदेखि सुर्खेत रोडमा रहेका सबै सोलारबत्तीको प्राविधिक परीक्षण सुरु गरी बिहीबार बिहानदेखि मर्मतसम्भारको काम सुरु गरी सोलार बत्ती झिलिमिली पारिने वर्माले बताउनुभयो । कार्यवाहक मेयर भएपछि वर्मा बिहानैदेखि काममा खटिनुभएको छ ।

प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, प्रवक्ता प्रमोद रिजाल, वडा नम्बर ६ का अध्यक्ष समीरप्रताप सिंहसहित बुधबार दिउँसो कार्यवाहक मेयर वर्माले ल्याण्डफिल साइटको स्थलगत अनुगमन गरी जानकारी लिँदै वैशाखदेखि फोहोर व्यवस्थापन कार्य सुरु हुने गरी निर्माणमा तीव्रता ल्याउन निर्देशन दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया