सहकारी दिवसको कार्यक्रममा महिला मन्त्रीले गोरुबिनै हलो जोतेपछि...

 चैत २१, २०७५ बिहिबार १०:३७:४० | प्रताप बानियाँ

म्याग्दी – राष्ट्रिय सहकारी दिवसको अवसर पारेर बुधबार जिल्ला सहकारी संघ म्याग्दीले सहकारीसम्बन्धी कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमको प्रमुख अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा हुनुहुन्थ्यो । 

कार्यक्रमको प्रमुख अतिथि आउन समय लाग्ने भएपछि सहकारी संघको कार्यक्रम केही ढिलासुरु भयो । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य बोल्दै गर्दा मन्त्री थापा सुरक्षाको टोलीसहित टुप्लुक्क आइपुग्नुभयो ।

त्यसपछि उद्घोषकले मन्त्रीलाई प्रमुख अतिथिको आसन ग्रहण गराएपछि कार्यक्रम थप अगाडि बढ्यो । उद्घोषकको आग्रह अनुसार प्रमुख अतिथिले ५ वटा पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभयो । 

दीप बालेकै टेबुलको तलतिर बोरामाथि अलिकति माटो फिँजाइएको थियो भने छेउमा हलोजुवा राखिएको थियो । तर गोरु भने थिएनन् । छेउछेउमा प्लाष्टिकका दुईवटा भाँडोमा पनि खाडल खनेर माटो राखिएको थियो ।

सहकारीको कार्यक्रममा बोरामा माटो, काठको सानो हलोजुवा र साइडमा प्लाष्टिकको भाँडोमा माटो राखेको देखेर कतिपय सहकारीकर्मी कानेखुसी र मुखामुख गर्दै थिए । अनि कतिपयले त प्लाष्टिकको भाँडोमा फूल रोप्ने होला पनि भन्दैथिए । तर खास कुरो रहेछ, सहकारी संघसंस्थाले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न नमूनाका रुपमा प्रयोगात्मक अभ्यास गरेरै देखाउन मन्त्रीलाई गोरुबिनै हलो जोताउने । 

उद्घोषकको आग्रह अनुसार मन्त्री हलो जोत्न अगाडि बढ्नुभयो । स्टेजका अतिथि, अगाडि बसेका सहकारीकर्मी र नजिकै रहेका पत्रकार सबैले उठेर क्यामेरा, मोबाइल फोटो तथा भिडियो खिच्न थाले ।

काठको हलो बोरामाथिको माटोमा गाडेर मन्त्रीले ख्वार... ख्वार... पारेर हलो जोत्नुभयो । उहाँकै पछिपछि गण्डकी प्रदेशका सांसद विनोद केसीले मन्त्रीले जोतेको सियोमा मकैका दाना खसाल्नुभयो । मन्त्रीले हलो जोतेको र सांसदले बीउ रोपेको दृश्य निकै रोचक देखिन्थ्यो । यसपछि दुवैतिर रहेका प्लाष्टिकको भाँडोमा मन्त्री र सांसदले एकएक वटा काँक्राको बेर्ना पनि रोप्नुभयो ।

मकै छर्ने र काँक्रो रोप्ने काम उतिखेरै सकियो । धेरै बेर लागेन । महिलाले हलो जोत्नुहुँदैन भन्ने गलत मान्यताको अन्त्य गर्नका लागि कार्यक्रमस्थलमै उत्पादनका लागि हलो जोत्ने व्यवस्था मिलाइएको कार्यक्रम सञ्चालिका एवं जिल्ला सहकारी संघका सचिव ज्योती लामिछानेले बताउनुभयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले सहकारीमार्फत व्यावसायिक उत्पादनमा लाग्नुपर्ने बताउनुभयो । उहाँले सहकारीकर्मीहरुलाई उत्पादनमूलक क्षेत्रमा जोडिन आग्रहसहित गाउँगाउँमा सहकारीको माध्यमबाट स्वरोजगार सिर्जना गर्नुपर्ने बताउनुभयो ।

उहाँले सहकारीमार्फत समुदायस्तरमा रहेको स्रोतसाधनको उचित परिचालन गरेर उत्पादनका क्षेत्रमा लगानी गर्नुपर्ने भन्दै रोजगारको विकास गरी विदेशिने युवालाई रोक्नुपर्नेमा जोड दिनुभयो । 

मन्त्री थापाले देशको विकास र आर्थिक समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको भन्दै सरकारले लिएको ‘सुखी नेपाली र समृद्ध देश’ निर्माणको लक्ष्य पूरा गर्न सहकारी क्षेत्रलाई बलियो बनाउनुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो ।

उहाँले सहकारीबाट व्यावसायिक रुपमा कुखुरापालन, पशुपालन, तरकारी खेती, उद्योग तथा व्यापार, व्यवसाय गर्न सकिने बताउँदै सहकारीले पर्यटन प्रवर्द्धन गर्नका लागि ग्रामीण भेगमा होमस्टे सञ्चालन जस्ता कार्यक्रमहरु ल्याउनुपर्ने बताउनुभएको छ । 
     
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया