यूएईको जेलमा रहेका खड्गबहादुरलाई छुटाउन ६० लाख ब्लडमनी अदालतमा बुझाइयो,  कानुनी प्रक्रिया गरेर नेपाल फर्किन पाउने

 चैत २३, २०७५ शनिबार १३:१८:५८ | उमाकान्त पाण्डे

यूएई – पाँच वर्षदेखि यूएईको आबुधाबीमा जेल रहेका फेदाप – २ तेह्रथुमका खड्गबहादुर जोगीलाई छुटाउन ब्लडमनी यहाँको उच्च अदालतमा बुझाइएको छ । ब्लडमनी बापतको २ लाख दिर्हाम अर्थात झन्डै ६० लाख रुपैयाँ गएको सोमबार यहाँको उच्च अदालतमा बुझाएको नेपाली दूतावास आबुधाबीले जनाएको छ । 

रकम अदालतमा बुझाएको र बाँकी केही अदालती तथा प्रशासनिक प्रक्रिया पुरा गरेपछि उहाँ नेपाल जान सक्ने दूतावासकी द्वितीय सचिव तथा सूचना अधिकारी विष्णुकुमारी अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो।   

जोगीलाई आफ्नै सहकर्मी फिलिपिनो नागरिकको हत्या गरेको अभियोगमा सन् २०१४ मे महिनामा पक्राउ गरी जेल चलान गरिएको थियो । आबुधाबीको अल वात्बा जेलमा जेल जीवन बिताइरहेका जोगीलाई गएको मार्च २७ सम्म जेल बस्नुपर्ने र २ लाख दिर्हाम ब्लडमनी तिरेपछि यूएईबाट निकाला गरेर स्वदेश पठाउने फैसला अदालतले गरेको थियो । 

जोगीले आफूलाई लागेको हत्या आरोप झुठो भएको बताउँदै आउनुभएको छ । उहाँले आफूले फिलिपिनो नागरिकको हत्या गरेको नभई बचाउन खोज्दा आफू फसेको परिवारसँग बताएपनि अदालती बयानमा भने हत्या गरेको स्वीकारेको र उनले हत्या गरेको सँगै काम गर्ने साथीहरुले समेत देखेको उल्लेख छ ।   

अदालतको फैसला अनुसार आवश्यक पर्ने ब्लडमनीका लागि परिवारले अपिल गरेपछि इजरायलमा कार्यरत तेह्रथुमका देव बाँस्कोटाको पहलमा स्वदेश तथा विदेशमा रहेका नेपालीबाट जोगी बचाउ अभियान सञ्चालन गरेर विभिन्न देशमा रहेका नेपालीबाट ६१ लाख ९४ हजार रूपैयाँ संकलन गरेको थियो । 

सङ्कलित रकम एक महिनाअघि परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको उपस्थितीमा यूएईका लागि नव नियुक्त राजदूत कृष्णप्रसाद ढकाल, नियोग उपप्रमुख सागरप्रसाद फुयाँललाई हस्तान्तरण गरिएको थियो ।

त्यही रकम आबुधावीमा रहेको नेपाली दूतावासमा आएलगत्तै दूतावासका स्थानीय जनसम्पर्क अधिकृत इर्फान आलमले अदालतमा बुझाइसकेकोले जोगी छिट्टै नेपाल फर्किने बाटो खुलेको दूतावासका नियोग उपप्रमुख तथा प्रवक्तता सागरप्रसाद फुयाँलले बताउनुभयो ।   
 

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

1 Comments

  • dev

    April 6, 2019, 5:21 p.m.

    तेह्रथुमका खडगबहादुर जोगीको विसयमा उज्यालो अनलाइनमा २३ चैतमा प्रकाशित समाचारमा केही तथ्य र जानकारी गलत भएको हुदा सच्याउन आवश्यक देखेको छु । म यो अभियानको संयोजक भएको र जोगीको ब्लडमनी जुटाउन अहोरात्र खटेको मानिस भएका कारण गलत स्थापित मिडिया हाउसले सत्य र तथ्यमात्रै प्रकाशन गर्नुपर्ने मान्यतालाई यो प्रतिक्रियाले सघाउ पुर्‍याउने विस्वास लिएको छु । सबैभन्दा पहिला यो समाचारमा मेरो भनाई राखिएको छ, तर उज्यालोका युएई समाचारदाता उमाकान्त पाण्डेले कुनै पनि माध्यमबाट केही जानकारी लिएका छैनन । हचुवाको भरमा मेरो नाम राखिएको छ । म पनि पत्रकरिताको सिकारु भएका कारण जसलाई यो अभियानबारे जानकारी छ, उसलाई एकपटकपटक नसोधी मनगणन्ते रूपमा नाम हालेर लेख्न पाइन्छ जस्तो लाग्दैन । साथै,यो अभियानलाई यहासम्म ल्याउन केकती योगदान गरियो ? ककस्ले के कसरी सहयोग/असहयोग गरे ? युएईमा रहेको एनआरएनए, तेह्रथुम समाज लगायतको भुमिका केक्स्तो रह्यो ? यो सबै उल्लेख नगरी समाचार पुर्ण नै हुन्न । अर्को विचारनिय कुरा के हो भने यो समाचार जोगीलाई अपराधी, हत्यारा भनी देखाउन खोजिएको छ, जुन कुरा जोगीले अस्वीकार गरेका छन् । भासाको अज्ञानता र स्थानीय कानुनले जोगी अपराधी बनाइएका हुन् । यो कुरा परिवारका सदस्यले बारम्बार दोहोर्‍याएका छन् । जोगीलाई ज्यानमारा भनी समाचार प्रकाशन गरेका कारण हाम्रो अर्थ संकलन अभियानमा पनि धेरै समस्याहरु आएका थिए । अहिलेको परिप्रेक्षमा हामीले आवश्यकता अनुसारको ब्लडमनी बुझाइसकेको र निज जोगीले पनि स्थानीय कानुन अनुसार सजाय भुक्तान गरीसकेको अवस्था छ । अर्काको देशको मानिसले त मानवीयता, सहयोगको अर्थ नबुझेको कारण जोगीलाई अपराधी भनी जबर्जस्त साइन गराए । तर, हामी नेपालीले त परिस्थितिजन्य विवशता बुझ्न सक्नुपर्छ नि । समाचार मा जोगीका साथीहरूले भनेको भनेर जोगी अपराधी नै हो भनी जोड दिइएको छ । को हुन् ती साथीहरु ? पत्रकारले ती साथीहरुलाई प्रत्यक्ष भेटेको हो कि ? भेटेको भए नाम किन हालिएन ? श्रोत गोप्य राख्नुपर्ने केही विशेष समाचार पनि होइन यो । मुलत जोगीका विसयमा उज्यालोमा निरन्तर नकारात्मक सन्देश दिने खालका समाचार किन आउछ्न ? उमाकान्तजीले यो अभियानको सम्वेदनशीलता र गम्भीरता अनि नेपाली भएर नेपालीप्रती निर्वाह गर्नुपर्ने सदासयता किन नदेखाएर जोगीको अनुहारमा किन कालो दाग लगाउन कोसिस गर्नुभएको हो ? सबैभन्दा महत्त्वपूर्ण कुरा मसँग कुराकानी नगरी किन मेरो नाम कोट गरियो ?

  •  0 Reply

तपाईको प्रतिक्रिया