ओली र प्रचण्डले रोपे ‘जिउँदो डाइनोसर !’

 जेठ ३, २०७५ बिहिबार १२:५७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

plant

काठमाडौं, जेठ ३ – एमाले माओवादी पार्टी एकता संयोजन समितिको बैठकअघि एमाले र माओवादीका शीर्ष नेताहरुले प्रधानमन्त्री निवास बालुवाटारमा बिरुवा रोपे । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरुले नेपाली सहित जापानी प्रजातिका बिरुवा रोपेका हुन् ।

तर जापानी प्रजातिका बिरुवा नेताहरुले त चिनेनन् नै विरुवा ल्याउने नर्सरीका मानिसले पनि ठ्याक्कै भन्न सकेनन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो बिरुवाको नाम के हो ? भनेर सोध्नुभयो । तर बिरुवा ल्याउने नर्सरीका मान्छेले पनि जवाफ दिन सकेनन् ।

एमाले नेता राजन भट्टराईले उज्यालो अनलाइनसँग बिरुवालाई चिनाउँदै भन्नुभयो, ‘यसको नाम जिङ्को बाइलोवा हो । यसको पातले वर्षमा तीनपटक रंग फेर्छ । स्वास्थ्यको लागि निकै फाइदाजनक पनि छ र हत्तपत्त मर्दैन ।’


 
यो बिरुवा दोश्रो विश्वयुद्धताका जापानको हिरोसिमा र नागासाकीमा अणु बम खस्दासमेत नमरेकाले शक्तिशाली बिरुवा मानिन्छ । वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठका अनुसार यो जातको बिरुवा संसारभर प्रसिद्ध छ । ‘यो जत्तिकै पुरानो अरु प्रजातिका बिरुवा नाश भैसके, तर यो बिभिन्न प्रतिकूल अवस्था झेलेर पनि बाँचिरहेको छ । यसलाई लिभिङ डाइनोसर अर्थात जिउँदो डाइनोसर भन्दा हुन्छ ।’

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया