जनयुद्धको पृष्ठभूमिमा जिके पोख्रेलको ‘गोहो’

 चैत २४, २०७५ आइतबार १६:१५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कथाकार जिके पोख्रेलको कथासंग्रह ‘गोहो’ सार्वजनिक भएको छ ।

शनिबार सर्वनाम थिएटरमा भएको एक कार्यक्रममा समीक्षकद्वय महेश पौड्याल, राजिन पनेरु र कथाकार पोख्रेलले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् । ‘गोहो’मा नेपालको जनयुद्ध कालको दशवर्षे राजनीतिक र सामाजिक सङ्क्रमणको पृष्ठभूमिमा लेखिएका कथाहरू समावेश रहेका छन्।

परिचर्चाका सहभागी समालोचक महेश पौड्यालले जिकेका कथा राजनैतिक र सामाजिक विषयवस्तुमा आधारित भएर पनि तटस्थ रहेको बताए । जनयुद्ध र संक्रमणको समयलाई पर्खेर, हेरेर तथा परख गरेको झण्डै एक दशकपछिमात्रै कथा लेखेकोले यो सम्भव भएको उनको टिप्पणी थियो । समालोचक पौड्यालले भने, ‘जिकेका कथाले लैङ्गिक समानताको हकमा चलनचलतीका एकाङ्गी दृष्टिकोण सञ्याउन, स्वतन्त्रता र स्वच्छन्दताबीचको विभेदबारे चिन्तन गर्न तथा प्रेम र विवाहका हार्दिक तथा बाध्यात्मक पक्षबीचको वैषम्यबारे मनन गर्न अभिप्रेरित गर्दछन् ।’

अर्का वक्ता राजिन पनेरुले भने, ‘पोख्रेलको पुस्तकले नेपाली समाजको निकट विगतको ठूला सकसको कथा बोकेको छ ।’ नेपाली माटोको कथालाई जीवन्त रूपमा देखाएको हुनाले हरेकले पढ्नै पर्ने पनेरुले बताए । कथाभित्र बिम्बात्मक विषयवस्तु शक्तिशाली रूपमा प्रयोग भएको कुरामा उनको जिकिर थियो । ‘बिम्बले अव्यक्त चिजलाई व्यक्त गर्छ। आकारमा सानो, अर्थमा ठूलो आम मानिसको एक जीवन्त कथा रहेको छु’, पनेरूले भने ।

कथाकार पोख्रेलको दश वर्षे जनयुद्धको उठानदेखि बैठानसम्मको पृष्ठभूमिमा रहेर आफूले कथा लेखेको कथन थियो । अहिले अर्को कुनै पक्ष पुनः भूमिगत हुने अवस्था आएको भन्दै कथामा लेखिएका घटनाहरू यथार्थपरक रहेको बताए । उनले ‘गोहो’भित्र रहेका घटना, पात्रसँग आफू पनि कतिपय ठाउँमा जोडिएको स्वीकार गर्दै जनयुद्धलाई चियाउने एउटा सुन्दर आँखीझ्याल हुनेमा विश्वास व्यक्त गरे ।

पोख्रेलको यसअघि दुईवटा कथा संग्रह जून निदाएको रात (२०६९) र स्वभिमानको चिता (२०७२) सार्वजनिक भइसकेका छन्। कार्यक्रममा सहजकर्ताको भूमिका सञ्चारकर्मी दीपज्योति थापाले गरेकी थिइन् । 

दशवटा कथा समावेश रहेको गोहो अक्षर~शालाले प्रकाशन गरेको हो ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया