दुई नेपालीको मृत्यु, १२ घाइते : ज्यान गुमाउने चौधरी २८ दिनअघि मात्रै मलेसिया पुगेका थिए

 चैत २५, २०७५ सोमबार १५:४१:२२ | उज्यालो सहकर्मी

काठमाण्डौ – आइतबार राती मलेसियामा बस दुर्घटना हुँदा दुई नेपालीको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् । 

मुतियारा कायामास कम्पनीमा काम गर्ने रामु चौधरी र जगरनाथ सिंह दनुवारको दुर्घटनामा ज्यान गएकाे त्यही कम्पनीमा कार्यरत रमेश पन्थीले उज्यालोलाई जानकारी दिनुभएको छ । दुर्घटनामा ज्यान गुमाएका रामु चौधरी घर बिदामा नेपाल आएर २८ दिनअघि मात्रै मलेसिया फर्किनुभएको थियो ।

घाइते हुनेहरुमा केशव थापा, लोकेश ओली, कृष्णबहादुर पुन मगर, भरत शाही, पदमबहादुर कवार, सुमन काम्छा मगर, सन्तोषकुमार यादव, लोकेन्द्रबहादुर शाही, सुरज यादव, महेशकुमार बुढाथोकी,  विश्वकर्मा मण्डल र सन्तोषकुमार साह रहेको कम्पनीले जनाएकाे छ । कम्पनीकाअनुसार घाइतेमध्ये केशव थापा, लोकेश ओली, विश्वकर्मा मण्डलको अवस्था गम्भीर रहेकाले आइसीयूमा उपचार भइरहेको छ । 

होस्टलबाट रातीको सिफ्टमा काम गर्न कार्यस्थलतर्फ जाँदै गर्दा स्थानीय समयअनुसार आइतबार राति झण्डै ११ बजेर १० मिनेटमा बस दुर्घटनामा परेको थियो । बस विमानस्थलको कार्गोमा कामदार बोकेर गइरहेको पन्थीले बताउनुभयो ।

बस दुर्घटनामा पर्नुअघि बसका चालक फोनमा झगडा गरिरहेको र त्यही कारण दुर्घटना भएको घाइतेले बताएको पनि पन्थीले उज्यालोलाई जानकारी दिनुभयो । 

घाइते नेपाली कामदारको सेरदान, पुत्रजया, बान्तिङ र काजाङ अस्पतालमा उपचार भइरहेको छ । बस ४४ जना कामदार बोकेर मलेसियाको क्वालालाम्पुर विमानस्थलतर्फ जाँदै थियो ।

बस विमानस्थल नजिकै सेपाअङमा १० मिटर तल नालीमा खसेर दुर्घटना हुँदा दुई नेपालीसहित पाँच जना बंगलादेशी, तीन जना इण्डोनेसियन र एक मलेसियन नागरिकको ज्यान गएको हो । मलेसियन नागरिक बसका चालक रहेको प्रहरीले उल्लेख गरेको छ । 

दुर्घटनामा ३३ जना घाइते भएका छन् । बसमा १४ जना नेपाली, १२ जना बंगलादेशी, १४ जना इण्डोनेसियन र दुई जना मलेसियन नागरिक रहेको मलेसियन प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चार माध्यम मेट्रोले उल्लेख गरेको छ । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया