यू-१९ विश्वकप छनोट : सिंगापुरलाई नेपालले दियो २८३ रनकाे लक्ष्य

 चैत २९, २०७५ शुक्रबार ११:४१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपालले यू–१९ विश्वकप अन्तर्गत एशिया छनोटको पहिलो खेलमा सिंगापुरलाई २ सय ८३ रनको बलियो लक्ष्य दिएको छ । नेपालको तर्फबाट रोहितकुमार पौडेलले कप्तानी पारी खेले । 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा अलआउट हुँदै २ सय ८२ रन बनायो । १८ रन बनाउँदा दुई विकेट गुमाएको नेपालको पारीलाई पवन शर्राफ र रोहितकुमार पौडेलले सम्हालेका थिए । उनीहरुले तेस्रो विकेटका लागि एक सय आठ रनको साझेदारी गर्न सफल भए । जसमा पवनले ४७ रन बनाए । रित गौतम तीन रनमा र आशिफ शेख मात्र आठ रनमा आउट भएपछि नेपालले १९ रनमा २ विकेट गुमाएको थियो ।

त्यसपछि पवन र सन्दीप जोरा लगातार रुपमा आउट भएपछि नेपालले एकसय आठ रनमा चार विकेट गुमायो । नेपालका लागि भीम सार्कीले २६ तथा कुशल मल्लले १० रन बनाए । सातौ विकेटका लागि रोहित र रासिद खानले ७७ रनको साझेदारी गर्दै नेपाललाई बलियो स्थितीमा पुर्‍याएका थिए । तर रासिद ४८ रनमा रनआउट हुँदा नेपालका स्कोर दुई सय ३७ रन थियो ।

त्यसपछि नेपालको स्कोर दुई सय ७४ रन हुँदा रोहित कुमार पौडेल आउट भए । उनी सतक बनाउनबाट मात्र ५ रनले चुके । उनले एक सय ५ बलमा सात चौका र एक छक्का प्रहार गरेका थिए । त्यसपछि कमलसिंह ऐरी पनि ३१ रनमा आउट हुँदा अन्तिमका खेलाडीले खाता खोल्न सकेनन् ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया