२०७६ मा पनि छुकछुके रेल र मेलम्चीको भेल !

 चैत ३०, २०७५ शनिबार ७:४१:० | मिलन तिमिल्सिना
unn.prixa.net

हरेक नयाँ वर्षमा भन्ने एउटै पुरानो कुरा हुन्छ – सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना । तर सुखमा सुखैसुख त के, दुःखमा पनि सुखसँग दुःख गर्न पाइँदैन ।

अनि शान्ति, समृद्धि र प्रगतिलाई पनि दिक्क लाग्दो हो, वरिपरि नै पर्दैनन् । त्यसैले सबैले पुरानै शुभकामना दोहोर्याउँछन् । हामी पनि पुरानै शुभकामना बाँड्दैछौँ ।

सुखसँग दुःख गर्नु र दुःखमा पनि दुःख पाउनुमा आकाश पातालको फरक छ । दुःख गरेअनुसार फल मिल्यो भने त्यो दुःख पनि सुख हुन्छ । यस्ता सुखले सुख्खा बालुवाटार पनि आफ्नो बनाइदिन्छ । तर दुःखमा बगेको पसिना बालुवामा पानी खन्याएजस्तो भयो भने दुःखमाथि दुःख मात्रै हुन्छ । बालुवाटार अर्कैको भयो भनेर टाउको समाउनुबाहेक अर्को उपाय हुन्न । बितेका धेरै वर्षमा धेरैलाई यस्तै भयो । दुःखमाथि भुक्तमान, सास्तीमाथि सकस । 

२०७५ पनि यसैगरी बित्यो । शान्ति, समृद्धि र प्रगतिलाई पनि सहज भएन । उनीहरुमध्ये कोही देश छाडेर हिँडे । कोही दिउँसै कसैले एकान्तमा भेटेर झम्टिहाल्ने हो कि भनेर डराउँदै, मुख छोप्दै गाउँ शहर चाहार्दैछन् ।

नेतादेखि नागरिकसम्म, जागिरेदेखि पँधेर्नीसम्मले दुःख मात्रै पाए । चुनाव जितेकालाई जितेअनुसारको फूर्ति लगाउने कुरा भेट्न दुःख । हारेकालाई अर्कोपटक जित्छु भनेर भ्रम खोज्न दुःख । सपना बाँड्दाबाँड्दै सबै सकिएर नयाँ भाषण खोज्न प्रधानमन्त्रीलाई दुःख । पत्याउने कुरा पत्याइसकेपछि फेरि पत्याउन नागरिकलाई दुःख । 
सबैलाई दुःखैदुःख । कागजमा योजना र नीतिहरु बनाउन दुःख । कागजमा कोरेको विकास साँच्चै हुन्छ भनेर नागरिकको विश्वास जित्न दुःख ।  

जागिरेलाई कार्यालय समयभरि काम गरिरहन दुःख । सरकारले खटाएको ठाउँमा जान दुःख । खटाएको ठाउँमा जाँदा क्लिनिकमा काम गरेर गोजी भर्न नपाइने भयो भनेर डाक्टरलाई दुःख । रोग निको पार्न अस्पताल पुग्दा डाक्टर नभेटेर उल्टै थलिनुपर्दा बिरामीको दुःख । 

पानी पँधेरो गर्नेलाई रित्तो भाँडो भर्न दुःख । बाटो हिँड्नेलाई धुलो, धुवाँ र हिलोको दुःख । सडक सफा गर्न आएको बु्रमरलाई खाल्डोको दुःख । खाल्डोलाई पानीको दुःख । 

गाडी चढ्नेलाई भनेको बेला गाडी नभेट्दा र भेटि हाले पनि उभिएर, ठेलिएर, पेलिएर यात्रा गर्नुपर्दाको दुःख । गाडीवालालाई सिन्डिकेट गर्न नपाउँदा दुःख । हवाईजहाज चढ्नेलाई जहाजले तेल हाल्यो कि हालेन भन्ने चिन्ता । 

हुनेखानेलाई भएका कुरा जोगाउन दुःख । हुँदाखानेलाई नभएका कुरा जुटाउन दुःख ।

अघिल्ला वर्षहरु जस्तै २०७५ को वर्ष पनि सबैका दिन दुःखमै बिते । वर्षको सुरुमा साटफेर भएका शुभकामनाले सुख दिएन । वर्षको अन्त्यमा पब्जी बन्द भए पनि सब्जी जुटाउने दुःखले छोडेन । नयाँ वर्षको मुखैमा पब्जी भन्द भएर ‘चिकेन डिनर’ खान पाइएन भने सरकारविरुद्ध कोकोहोलो मच्चाउनेको पनि कमी छैन ।

त्यसैले यसपाली पनि त्यही पहिलेकै शुभकामनालाई भुटभाट गरेर ताजाजस्तो बनाएर बाँड्नुपर्ने बाध्यता आइलाग्यो ।

अहिलेको सरकारको मूल नारा नै सुख र समृद्धि । पहिलेका सरकारले संविधान बनाउँछु, चुनाव गराउँछु मात्र भन्थे । अहिलेको सरकारले त विकास र समृद्धिको मात्र कुरा गर्छ । पोहोरदेखि अहिलेसम्म प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबैका मुखबाट नागरिकलाई सुखी र देशलाई समृद्धि बनाउँछौंं भन्ने कुरा मात्र सुनिन्छ । एकजनाले मात्रै भनेको भए पनि होइन क्यारे भनेर नपत्याउनु । यसले, उसले, त्यसले, जस्ले पनि एउटै कुरा भनेपछि कसरी नपत्याउनु ।

झुटो कुरा धेरैले भने त पत्याउनुपर्छ भन्छन् । तर झुटो कि साँचो भन्ने थाहा नभएको कुरा हो, हुन्छ भनेर धेरैले भनेपछि त पत्याउनै पर्‍यो ।

पहिला पहिला तेलका कुरा हुन्थे । तेलकै चिन्ता हुन्थ्यो । तर अब रेलका कुरा र रेलकै चिन्ता बढी हुन थालेका छन् । छिमेकी देश भारत र चीनले पहिलेदेखि नै तँ पहिले कि म पहिले भन्ने पारामा नेपालमा रेल कुदाउन तँछाडमछाड गरिरहेका छन् ।

प्रधानमन्त्रीले त उहिल्यै रेल ल्याउँछु भनेका । प्रधानमन्त्रीको कुरा पत्याउने हो भने अहिलेसम्म सबै नेपालीले रेलको टिकट पाइसकेका हुन्थे । दोहोर्‍याएर, तेहेर्‍याएर रेल चढ्ने रहर जाग्थ्यो । 

काठमाण्डौका मेयरले रेलकै कुरा गरेर चुनाव जितेका । त्यसमाथि काठमाण्डौमा मेट्रो र मोनो रेल बनाउने प्रक्रिया नै सुरु भैसक्यो । पानीजहाज पनि चल्ने भयो । 

पानीजहाज र रेल कुदेको देख्न पाइने हो कि होइन, ठेगान छैन । तर रेल चल्छ रे भन्ने कुरा सुन्दा पनि रेल चढेजत्तिकै मजा हुँदो रहेछ । रेलको कुरा सुन्न मज्जा, रेल चढेको कुरा सम्झिन मज्जा ।

छुकछुक गर्दै रेल कुदेको, उत्तर र दक्षिणबाट आएका रेल काठमाण्डौमा भेट भएको, यताबाट फर्किंदा नेपालमा उत्पादन भएका सामान भरिभराउ बनाएर लगेको, अनि रोजीरोजी रेल चढेको कल्पना गर्दा पनि आनन्द लाग्ने । २०७५ साल यस्तै आनन्दले बित्यो । छिट्टै रेल आएको भए रेलको कल्पना गर्दाको आनन्द छिटै सकिन्थ्यो । त्यसैले यस्तो आनन्दलाई अझै लम्ब्याउने सरकारको उदेश्य छ । यसकारण यो आनन्द ०७६ सालभरि लिन पाइन्छ ।

२०७५ मा रेलको कल्पना मात्रै गर्न परे पनि काठमाण्डौमा मेलम्चीको भेल बगेको चाहिँ साँच्चै हेर्न पाइने आशा थियो । ०७४ सालमै आउँछ भनेको मेलम्चीको भेल सुरुङको ढिस्कोमा रोकियो । पहिले दशैंमा आउँछ भनियो, त्यसपछि हैन वैशाखमा भनेर भाका सारियो । भाका सार्दासार्दै ०७५ को दशैंलाई पुर्याइयो । 

धेरैपटक ब्रेक थ्रु हुँदाहुँदा मेलम्चीको पानी ल्याउने पहाड फुटाएर सुरुङ नै वारपार भै साँच्चैको ब्रेक थ्रु भएकाले काठमाण्डौका धारामा खललल पानी बग्छ भन्ने थियो । तर पानी हैन, धाराबाट हावा मात्रै आयो । बाग्मतीमा कहिलेकाहीँ दिसापिसाबको भेल बग्नुबाहेक अरु उल्कापात भएन ।  

धारामा मात्र होइन, सडकमै भेल बग्नेगरी मेलम्ची आउने आशा फेरि धकेलिएको छ । अर्थात मेलम्चीको कल्पना गरेर आनन्द लिने समय थपिएको छ । जति आनन्द थपिन्छ, उति मज्जा । त्यसैले २०७६ सालमा पनि मेलम्ची आउँछ रे भनेर आनन्द लिन पाइने भएको छ ।

खाने र भर्ने तेलको भन्दा छुकछुके रेलको चर्चा । छुकछुके रेलको भन्दा मेलम्चीको भेल पक्का । जालझेलमा नअल्झिने हो भने पहिलेका एमाले र माओवादीको साँच्चै मेल पनि यही वर्ष पक्का । कांग्रेसमा न पौडेलको चौका, न देउवाको छक्का । हिन्दू राष्ट्रको वकालत गर्ने राप्रपालाई लौरो र फोहोराको धक्का । 

प्रधानमन्त्रीको भाषणमा पुरानै उखानटुक्का । वर्षाको पानी हिउँदमै सकिएपछि असार साउन सुख्खा । बालुवाटारको जग्गा सकिएपछि टुँडिखेलमा माफियाको कब्जा । भ्रष्टाचार र अनियमितता देखिसहन्नँ भन्नेहरुको अनुहारमा कालो धब्बा । 

नागरिकलाई सधैँ माछो माछो भ्यागुतो । आकाशको फल आँखा तरी मर । न पहिले भयो, न अहिले होला । अहिल्यै भयो भने नेताले फेरि के बोल्ला ? त्यसैले हुनुभन्दा नहुनु नै वेश । हुँदा आशा सकिन्छ, नहुँदा आशा बढ्छ । 

त्यसैले ०७५ मा जे थियो ०७६ मा उस्तै गरौं कामना । पात्रो फेरिन्छ, पात्र फेरिँदैन । शुभ काममा गरिँदैन, कामना मात्र गरिन्छ । थोरै उमंग, सानो हर्ष । यसैगरी दोहोरिन्छ नयाँ वर्ष । २०७६ सालमा नेपालीको रेलम्ची सपना पूरा होस्, शुभकामना ।

अन्तिम अपडेट: बैशाख ५, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया