सलमान खानसँग १६ वर्ष अघि भएको झगडा सम्बन्धमा अझै माफी माग्दै विवेक ओबेरोय

 बैशाख ३, २०७६ मंगलबार १५:४९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेता विवेक ओबेरोय सन् २००३ मा एक पत्रकार सम्मेलनकाे आयाेजना गरेर रातारात चर्चामा आएका थिए । विवेकले पत्रकार सम्मेलनमा अभिनेता सलमान खानले अभिनेत्री एश्वर्या रायसँग टाढा रहनु भन्दै रक्सीकाे तालमा आफूलाई ४१ पटक फोन गरेको बताएका थिए ।

साथै सलमानले उनकी प्रेमिका ऐश्वर्यासँग टाढा नभएमा आफूलाई मारपिट गर्ने धम्की दिएको भन्दै सलमान खानलाई सार्वजनिक रुपमै चुनौती दिएका थिए । त्यसको परिणामस्वरुप विवेक ओबेरोयको बलिउड करियर नै चौपट भएको थियो ।

उक्त घटनापछि बलिउडका फिल्म निर्माता तथा निर्देशकले विवेकलाई काम दिनै मानेनन् । अभिनेत्री ऐश्वर्या राय पनि विवेकबाट टाढिइन् साथै बलिउडका कैयौं कलाकारहरुले उनीसँगको सम्बन्ध नै तोडे। 

त्यो घटना भएको लगभग १६ वर्ष बितिसकेको छ तर अभिनेता विवेक ओबेराेय अहिले पनि सलमान खानले आफूलाई माफ गरिदिन्छन् कि भन्ने आशा गरिरहेका छन् ।

यतिबेला विवेक ओबेरोय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक ‘पिएम नरेन्द्र मोदी’ का कारण चर्चामा छन् । विवेकले यस फिल्ममा नरेन्द्र मोदीको भूमिका निर्वाह गरेका छन् ।

केही दिनअघि नै प्रदर्शन हुने भनिएको यो फिल्म भारतमा भइरहेको लोकसभा चुनावका कारण तोकिएको मितिमा प्रदर्शन हुन सकेन । निर्वाचन आयोगले रोक लगाएपछि यस फिल्मको प्रदर्शन मितिबारे अझै टुंगो लागिसकेको छैन ।  तर अभिनेता विवेक ओबेरोय भने यतिबेला यस फिल्मको प्रमोशनमा लागिरहेका छन् । 



प्रमोशनकै क्रममा एक अन्तरवार्तामा विवेकले सलमान खानका बारेमा दिएको बयान यति बेला चर्चामा छाएको छ । अन्तरवार्तामा सलमान खानलाई यतिका वर्षपछि केही भन्नु पर्‍यो भने के भन्नुहुन्छ भन्ने प्रश्नको जवाफमा विवेकले भनेका छन्, ‘तपाइँ माफी दिइनुपर्छ भन्ने कुरामा कत्तिको विश्वास गर्नुहुन्छ?’



विवेक ओबेराेयको याे बयानबाट प्रष्ट हुन्छ कि उनी अझै पनि सलमानसँग माफी माग्न खोजिरहेका छन् । यसअघि पनि विवेकले पटक पटक आफूबाट गल्ती भएको भन्दै सलमान खानसँग माफी मागेका थिए ।

तर सलमानले उनलाई माफ गरेका थिएनन् । अहिले झगडा भएको १६ वर्ष पछि आएर पनि विवेकले सलमान खानसँग माफीको अपेक्षा गर्दै बयानहरु दिइरहेका छन् । अब सलमान खानले विवेकको यस किसिमको बयानको जवाफमा कस्तो प्रतिक्रिया दिनेछन त्यो त पछि मात्रै थाहा हुनेछ । 
 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया