विप्लवलाई राजनीतिक मूलधारमा ल्याउँदैछौँ : गृहमन्त्री थापा

 बैशाख ४, २०७६ बुधबार १३:४२:५४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राज्य र संविधानविरोधी गतिविधि गर्ने विप्लव  नेतृत्वको नेकपालाई राजनीतिक मूल धारमा ल्याउनका लागि प्रयत्न भइरहेको बताउनु भएको छ ।

विप्लव समूहलाई यसअघि पनि राजनीतिक मूल धारमा ल्याउनका लागि प्रयत्न गरिएको र अब पनि यही काम भइरहेको उहाँले बताउनुभयो ।

गृह मन्त्रालयको आयोजनामा हेटौंडामा प्रदेश नम्बर ३ स्तरीय गोष्ठीको कार्यक्रमलाई बुधबार बिहान सम्बोधन गर्दै उहाँले कानुनविपरीत गतिविधि गर्नका लागि कसैलाई पनि छुट नभएको बताउनुभयो । देशभित्र ध्वङ्सात्मक गतिबिधि गर्नका लागि कसैलाई पनि छुट नभएको बताउँदै उहाँले भन्नुभयो’, राज्यविरुद्धका गतिविधि पहिले गर्दा सीके राउतलाई पनि पक्राउ गरिएको थियो । अहिले राज्यविरुद्धका ध्वंसात्मक गतिविधि गरिएकाले विप्लवका नेता कार्यकर्ताहरुलाई पक्राउ गरिएको हो ।’ 

देशको शान्ति सुरक्षालाई बलियो बनाउनका लागि प्रदेशभरिका जिल्लाका सुरक्षा निकायहरुसँगको यो कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । वार्षिक रुपमा यस्ता कार्यक्रम गरिँदै आएको बताउँदै उहाँले देशको आन्तरिक शान्ति सुरक्षा मजबुत बनाउनका लागि कार्यक्रम गरिएको बताउनुभयो ।

भूमिसम्बन्धी अनियमितताको अन्त्य गर्नका लागि आफूहरु लागिपरेको बताउँदै गृहमन्त्री थापाले भन्नुभयो, ‘भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो काम भनेर प्राथमिकताका साथ लागिपरेका छौँ ।’ 
 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया