आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : कबड्डीको उपाधि नेपाली सेनालाई

 बैशाख ४, २०७६ बुधबार १९:९:२४ | भावुक योगी
unn.prixa.net

बर्दिया – आठौँ राष्टिय खेलकुद प्रतियोगिताअन्तर्गत बर्दियाको बाँसगढीमा भएको पुरुष र महिलातर्फको दुवै खेलको कबड्डी प्रतियोगिताको उपाधि नेपाली सेनाले जितेको छ । 

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत चैत ३० गतेदेखि बाँसगढीमा सुरु भएको २३ औँ पुरुष र १८ औँ महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि नेपाली सेनाले नै जितेको हो ।

बुधबार भएको कबड्डी खेलमा महिलातर्फ नेपाली सेनाले नेपाल प्रहरीलाई २१ का विरुद्ध ३६ अंक ल्याई विजयी भएको हो । यस्तै पुरुषतर्फ भएको कबड्डी खेलमा नेपाली सेनाले प्रदेश नम्बर ५ लाई २१ का विरुद्ध ४२ अंक ल्याएर विजयी भएको हो  । 

पुरुषतर्फ प्रदेश नम्बर ५ र महिलातर्फ नेपाल प्रहरीले दोस्रो भएका छन् ।

पुरुषतर्फको खेलमा सशस्त्र प्रहरी बल र प्रदेश नम्बर ४ ले तृतिय उपाधि पाएका छन् भने महिलातर्फको खेलमा प्रदेश नम्बर ५ र प्रदेश नम्बर ७ को टिमले तृतीय उपाधि प्राप्त गर्न सफल भएका छन् । 

बुधबार नै प्रथम, द्वितीय र तृतीय हुने टिमलाई पुरस्कार तथा पदक वितरण गरिएको छ । 

बर्दियाको बाँसगढीमा नगरपालिका ४ मगरपुर गाउँको सामुदायिक वनमा निर्माणाधीन अवस्थामा रहेको कभर्डहलमा कबड्डी खेल प्रतियोगिता भएको थियो ।

कबड्डी खेलको समापन कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलाडीलाई शुभकामना तथा बधाई दिनुभएको थियो । 

बुद्धिचाल खेलमा खुलातर्फ नेपाल प्रहरी र महिलातर्फ नेपाली सेना विजयी

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बुद्धिचाल खेल प्रतियोगितामा खुलातर्फ नेपाल प्रहरी प्रथम भएको छ भने महिलातर्फ नेपाली सेना प्रथम भएको छ ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्ज नजिक बर्दियाको ठाकुरद्वारामा रहेको गैँडा क्याम्प रिसोर्टमा सञ्चालित बुद्धिचाल खेल प्रतियोगिताको फाइनल खेलमा खुलातर्फ नेपाल प्रहरीका पुरुषोत्तम चौलागाई प्रथम भएका छन् । नेपाल प्रहरीकै एस. एम. मनिष हमाल द्वितीय र नेपाली सेनाका सजिन महर्जन तृतीय भएका छन् ।

यस्तै महिलातर्फ नेपाली सेनाका डब्ल्यू. एस. एम. सुजन लोहनी ९ खेलमा ९ खेल नै जित्दै ९ अंकका साथ प्रथम भएकी छिन् । नेपाली सेनाकै सिन्दिरा जोशी द्वितीय र प्रदेश नम्बर १ की कृपा अधिकारी तृतीय भएकी छिन् ।
 

अन्तिम अपडेट: फागुन २८, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया