आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : पुलिसलाई हराउँदै आर्मीले जित्याे हक्कीमा स्वर्ण

 बैशाख ४, २०७६ बुधबार १९:१७:३ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपालगन्जमा सम्पन्न पुरुष हक्की प्रतियोगिताको स्वर्ण पदक नेपाल आर्मीको त्रिभुवन आर्मी क्लबले जित्न सफल भएको छ ।

बुधबार नेपालगञ्जको मंगलप्रसाद माविको खेल मैदानमा भएको फाईनलमा नेपाल प्रहरीलाई पेनाल्टी सुटआउटमा आर्मीले ४–१ गोलअन्तरले पराजित गरिीउपाधि जित्न सफल भएको हो । निर्धारित समयमा आर्मी र प्रहरीबीच १/१ गोल भएपछि खेल टाइब्रेकरमा टुंगिएको हो ।

निर्धारित समयमा आर्मीका प्रदिप राजवंशीले सुरुवाती गोल गरेकोमा प्रहरीका रोमण राणाले बराबरी गोल गरेका थिए । पेनाल्टी सुटआउटमा  आर्मीले प्रहरीलाई ४–१ ले पराजित गरेकाे छ । 

घरेलु टिम प्रदेश ५ ले कास्यमा चित्त बुझाएको छ । सुदूरपश्चिम प्रदेशलाई ३–० गोलले पराजित गरी प्रदेश ५ तेस्रो भएको छ । 

नेपालगञ्जस्थित मंगलप्रसाद माविको खेल मैदानमा बुधबार भएको खेलमा प्रदेश ५ का ३६ औँ मिनेटमा मनिष गुरुङले पहिलो गोल गरे । प्रदेश ५ का शशि दर्लामीले ५१ औँ मिनेटमा पेनाल्टी कर्नरलाई गोलमा परिणत गरेर आफ्नो टिमलाई २-० गोलको अग्रता दिलाए । 

पुलिससँग पराजित भई तेस्रोका लागि प्रदेश ५ सँग भिडेको सुदूरपश्चिमका खेलाडी आक्रामक रुपमा खेलमैदानमा उत्रिए पनि गोल गर्न सकेनन् । सुदूरपश्चिमका खेलाडीलाई पाखा लगाउँदै प्रदेश ५ का रविकान्त कुमारले ५४ औँ मिनेटमा तेस्राे गोल गरे । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया