लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा

 बैशाख ५, २०७६ बिहिबार ६:२८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस क्लब लिभरपुल लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । पोर्टोलाई समग्रमा ६–१ गोल अन्तरले हराउँदै लिभरपुलले अन्तिम चारमा स्थान बनायो । 

घरेलु मैदानमा भएको पहिलो लेग दुई शून्यको जित निकालेको लिभरपुलले पोर्टोलाई बुधबार राति दोस्रो लेगमा चार एकले हरायो । 

खेलको २६ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । पहिलो हाफमा एक गोलका अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा थप तीन गोल गर्‍यो । ६५ औं मिनेटमा मोहम्मद सलाहले लिभरपुलको अग्रता दुई शून्यमा पुर्‍याए ।

तर त्यसका तीन मिनेटपछि पोर्टोका इडे मिलिटोले गोल गर्दै अन्तर कम गरेका थिए । लिभरपुलले पोर्टोविरुद्ध त्यसपछि अरु दुई गोल थप्यो । ७७ औं मिनेटमा रोबेर्टो र्फेमिन्होले गोल गरे भने ८४ औं मिनेटमा भान जीकले साडियो मानेको पासमा लिभरपुलका लागि चौथो गोल गरे । 

यसका साथै लिभरपुलले पोर्टोलाई लगातार दोस्रो सिजन हराउन सफल भयो । अब सेमिफाइनलमा लिभरपुलले बार्सिलोनासँग खेल्नेछ भने टोटनह्यामले आयाक्ससँग प्रतिस्पर्धा गर्नेछ । 

लिभरपुल लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने पहिलो इंग्लिस क्लव बनेको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया