मलेसिया गएका दाजुभाइको कमाइ र खर्चको हिसाब : ६० लाख घर जग्गामा, १० लाख बहिनीको बिहेमा

 बैशाख ५, २०७६ बिहिबार १७:२३:१७ | मोहन पौडेल

काठमाण्डौ – धनुषाका सञ्जयकुमार मण्डलका ५ जना दाजुभाइ । तीन जना अहिले पनि पढ्दैछन् । सञ्जयकुमारलाई पनि पढ्न मन नभएको त कहाँ हो र ! तर बाध्यताले पढाईलाई निरन्तरता दिन सक्नु भएन ।

 घरको कमजोर आर्थिक अवस्थाले जति थिच्यो त्योभन्दा धेरै जेठो छोरो हुनुको जिम्मेवारीले गाँज्यो । उहाँले क्याम्पस टेक्न पाउनुभएन । एसएलसी सकेपछि गाउँमै ट्युसन पढाउन थाल्नुभयो । १४ वर्षअघि त्यो पनि धनुषाको भित्री गाउँ ।

एक जनालाई एक महिना ट्युसन पढाउँदा सञ्जयको हातमा एक सय रुपैयाँ पथ्र्यो । ‘त्यो बेला पैसा धेरै महङ्गो थिएन नि’ त्यति बेलाको कमाइ पत्याउँदैन कि भन्ने लागेर होला सञ्जयले विश्वास दिलाउन खोज्नुभयो । 

पैसा सस्तो भएर के गर्नु र, घर चलाउन त्यतिले नपुग्ने । त्यसमाथि सञ्जयले त आफ्नो लागि मात्रै कमाएर पनि त हुँदैनथ्यो । आफूभन्दा तलका ४ जना भाइ अनि एक जना बहिनीको पढाइ खर्चसँगै घर खर्चमा पनि सघाउनुपथ्र्यो । घरमा भर थप्नलाई ट्युसन पढाउन थालेका सञ्जयले त्यो कामले टेको दिन सक्नुभएन । 

ट्युसन पढाउँदा आँट आउला कि भन्ने सोच्नुभएको थियो । तर भएन । सञ्जयकुमारले ट्युसन पढाउन छोडेर लेखनदासको काम थाल्नुभयो । सुरु सुरुमा लेखनदास थोरै थिए । त्यसबाट केही पैसा हुन्थ्यो । तर समयसँगै लेखनदास थपिए, सञ्जयको दैनिक कमाइ बाँडियो, अनि घट्यो । हुँदाहुँदै एक दिनमा एउटा पनि टिप्पणी लेख्न पाइन छोड्यो । 

काम थपिएको भए आउने पैसा थपिन्थ्यो । तर उल्टो भयो । काम पनि पाउन छोड्नुभयो अनि पैसा पनि । यही बीचमा बिहे भएर एक जना छोरा पनि जन्मिसकेका थिए सञ्जयका । यसले के गर्ने कसो गर्ने भनेर अलमलमा परेका सञ्जयको भेट जनकपुरका विदेश पठाइदिने एजेण्टसँग भयो । 

उनले सञ्जयलाई अरु कोही गएको भनेर नसुनेको हङकङको नाम सुनाए । कामसँगै कमाइ पनि राम्रो छ भनेपछि सञ्जयले पत्याउनुभयो । ‘त्यतिबेला साथीहरुको कोही मलेसिया, कोही कतारतिर थिए । कोही पनि हङकङ गएको सुनेको थिइनँ’ सञ्जयले भन्नुभयो । 

एक त लाहुरेहरु जाने देशले खिचेको सञ्जयको मन, अर्कोतिर धनुषासँगै महोत्तरीका पनि ८० जनाको पासपोर्ट पनि लिएको छु भनेपछि उहाँले अरु कुरा नबुझी पासपोर्ट बुझाउनुभयो । एजेण्टले काठमाण्डौ पुगेपछि एक जनाले २० हजार रुपैयाँ दिनुपर्ने शर्त राखेर पासपोर्ट लिए । 

शर्त अनुसार उनले पासपोर्ट काठमाण्डौ ल्याएर प्रक्रिया सुरु गरेको भन्दै २० हजार रुपैयाँ दिनेको मात्रै प्रक्रिया अघि बढ्ने बताए । अरुले दिए कि के गरे सञ्जयलाई थाहा छैन, तर उहाँले एजेण्टलाई २० हजार रुपैयाँ दिनुभयो । 

विदेश जाने दिन कुरेर बसेका सञ्जय तीन महिना बित्दा पनि उड्न पाउनुभएन । केही हप्तामा काम हुन्छ भनेका एजेण्ट तीन महिनापछि भने भिसा नै लागेन भन्दै अरु कुनै देश जान प्रस्ताव गरे । ‘मलेसिया, कतार, यूएई जहाँ भए पनि पठाइदिन्छु भन्न थाल्यो,’ सञ्जय सुनाउनुहुन्छ, ‘मलाई उसले मलेसियाको फलामका सामान बनाउने कम्पनीको नाम सुनायो ।’

एसएलसी पास गरेका सञ्जयले त्यो कम्पनीको नाम त्योभन्दा पहिला कहिल्यै सुन्नुभएको थिएन । त्यसैले नामै नसुनेको कम्पनी नजाने भन्दै पैसा फिर्ता दिन भन्नुभयो । तर गोहीको मुखमा परिसकेको आहारा फुत्किन असम्भव हुन्छ भनेजस्तै एजेण्टको हातमा परेको पैसा फर्किने सम्भावना थिएन । त्यसैले सञ्जय एजेण्टले भनेकै कम्पनीमा जान तयार हुनुभयो ।

२० हजार रुपैयाँ बुझाइसकेका सञ्जयलाई एजेण्टले अझै २५ हजार रुपैयाँ मागे । उहाँले आफू मलेसिया पुगेर कस्तो कम्पनी रहेछ भन्ने नबुझेसम्म नदिने बताउनुभयो । एजेण्टले सञ्जयसँग जबरजस्ती गर्न सकेनन् । सञ्जयलाई काठमाण्डौ पठाएपछि उहाँका बुवालाई पैसा मागे । तर उड्ने बेलासम्म पनि माग्न नछोडेपछि सञ्जयका बुवाले एजेण्टलाई १० हजार रुपैयाँ थपिदिनुभयो । 

मलेसिया पुगेका सञ्जयले आफू गएको कम्पनी नेपालमा सोचे जस्तै रहेछ । नयाँ कम्पनी भएकाले न काम धेरै न त तलब नै । त्यतिबेला सञ्जयले महिनामा ६ हजार रुपैयाँ मात्रै तलब पाउनुहुन्थ्यो । तर केही समयमा त्यो कम्पनीमा सामानको माग बढ्न थाल्यो । कामदार थपिए । काम पनि थपियो ।

अब सञ्जयसँगै सबै कामदारले ‘ओभरटाइम’ पनि पाउन थाल्नुभयो । हेल्परबाट काम सुरु गरेका सञ्जयलाई कम्पनीले ६ महिनामा मेसिन चलाउने काम दियो । काममा बढुवा अनि ओभरटाइम पनि हुन थालेपछि सञ्जयको तलब २० हजार रुपैयाँ हुन थाल्यो ।

त्यसले केही हुन्छ कि भन्ने आशा जागेपछि उहाँले तीन वर्ष त्यही कम्पनीमा बिताउनुभयो । सञ्जयले सोचेको जस्तै भयो । ३ वर्षपछि उहाँले तलब र ओभरटाइमसहित महिनाको ४० हजार रुपैयाँसम्म कमाउनुभयो । 

पाँच वर्ष घर बिदामा पनि आउनुभएन । त्यसपछि घर आएका सञ्जय यहाँ अडिने कुरै थिएन । काम र कमाइ भइरहेको थियो । उहाँ १३ वर्ष मलेसियामै बिताएर फर्किनुभयो ।

त्यही  बीचमा उहाँका माइला भाइ सुशिलकुमार पनि वैदेशिक रोजगारीका लागि मलेसिया नै जानुभयो । उहाँ दुई वर्षको बिदामा घर आएर अहिले पनि मलेसिया नै जानुभएको छ । सञ्जयले १३ वर्ष र सुशिलले दुई वर्ष मलेसिया बस्दा झण्डै ८० लाख रुपैयाँ कमाउनुभयो ।

तर त्यो हिसाब उहाँले पैसा गनेरै त गर्नुभएको थिएन । महिनामा तलब थापेर घरमा पठाउनुहुन्थ्यो ।  त्यही पैसाबाट किनेको डेढ बिगाहा खेत र बहिनीको बिहेमा लागेको १० लाख रुपैयाँ जोड्दा सञ्जयका दाजुभाइको कमाइको हरहिसाब निस्कियो । 

हिसाब राम्रै निस्किए पनि अहिले घरमा पैसा छैन । जग्गा र बहिनीको बिहेमा लगानी भइसक्यो । ‘के गर्नु सर हाम्रो समाजमा दहेज नदिई बिहे हुँदैन त्यही भएर गर्नै पर्छ’ सञ्जय सुनाउनुहुन्छ । त्यसैले बेचेको २/४ लाख र अब भाइले गर्ने कमाइले पछिका लागि पनि कमाइ हुने काममा लगानी गर्ने योजना बनाउनुभएको छ सञ्जयले । 

तर त्योसँगै सञ्जय र सुशिललाई प्याथोलोजी विषय पढिरहेका, इलेक्ट्रिसियन पढिरहेका र यो वर्षको एसईई दिएका भाइहरुको पढाइमा सहयोग गर्ने जिम्मेवारी पनि छँदैछ ।

अन्तिम अपडेट: कात्तिक १३, २०७६

मोहन पौडेल

मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

तपाईको प्रतिक्रिया