पन्ध्र असार : हिलोमै कबड्डी (फोटो फिचर)

 असार १५, २०७५ शुक्रबार १९:१४:४० | श्यामशितल परियार
unn.prixa.net

लमजुङ– लमजुङ कृषि क्याम्पसका विद्यार्थी हिलोमै कबड्डी खेलेर रमाएका छन् ।

पन्ध्र असारको अवसरमा उनीहरु क्याम्पस नजिकै रहेको हिलो फाँटमा कबड्डी खेली रमाएका हुन् । विद्यार्थीहरु बिहानैदेखी जम्मा भई हिलोमा कबड्डी, रिले दौड, टग अफ् वारलगायतका खेल खेल्दै रमाएका हुन् ।

आईएएएस नेपाल एलसी लमजुङको आयोजनामा पन्ध्र असारको अवसरमा हिलोमै विभिन्न खेल सञ्चालन गरिएको हो । क्याम्पसमा अध्ययनरत छात्रछात्राहरु विभिन्न समूहमा विभाजन भई खेलमा सहभागी भएका हुन् । 

नेपाली समुदायमा पन्ध्र असारलाई विशेष महत्वका साथ मनाउने चलन पहिलेदेखि नै चल्दै आएको लमजुङ क्याम्पसको तेश्रो सेमेस्टरमा पढ्दै आएकी छात्रा सोनिका पौडेलले बताउनुभयो ।

‘पन्ध्र असार हाम्रो मौलिक संस्कृति पनि हो, खेलको माध्यमबाट सँस्कृति संरक्षणका साथै विद्यार्थीहरु  बीचको सम्बन्धलाई सुमधुर बनाउने उद्धेश्यका साथ हामीले हिलोमै विभिन्न खेल सञ्चालन गरेका हौँ,’ हिलाम्ये भएकी सोनिकाले खुशी मुद्रामा भन्नुभयो । 

पछिल्लो समय पन्ध्र असारको रौनकतामा कमी आएको पुराना पुस्ता बताउँछन् । पहिले असारे गीत गाउँदै, बाउसे, रोपारे हिलो छ्यापछ्याप गरी आपसमा रमाउँदै पन्ध्र असार मनाउने गर्दथे । अहिले त्यस्तो अवस्था नरहेको भोटेओडारका ७६ वर्षीय भीमबहादुर सुनारले बताउनुभयो ।

‘असारे गीत गाउँदै हिलो छ्यापछ्याप गरी पन्ध्र असार मनाइन्थ्यो, दही चिउरा खाइन्थ्यो, निकै रमाइलो हुन्थ्यो,’ अर्मलफाँटमा हलो जोत्दै गरेका सुनारले व्यंग्य गर्नुभयो, ‘अहिले त फोटो खिच्नैका लागि हिलोमा एकैछिन पस्ने मात्रै धेरै भए ।’ 

उहाँका अनुसार पहिले प्रायः खेतबारी बाँझा हुदैँनथे । तर अहिले धेरै मान्छे परदेसिएका छन् । खेतबारी बाँझै छन् ।   
 

अन्तिम अपडेट: बैशाख २, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया