वरपीपल चौतारीमा घैँटोको चिसो पानी खोइ ?

 बैशाख ७, २०७६ शनिबार १३:२५:५४ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – पुर्ख्यौली थलो तार्कुकोट हो, रमाकान्त अधिकारीको । बेसी, भोटेओडार । त्यसैले विगतमा गाउँबेसी गरिरहनुपर्दथ्यो, उहाँलाई । 

भारी बोकेर उकालो–ओरालो गर्नुपर्दा गाह्रै हुन्थ्यो, उहाँलाई । झनै गर्मीको समयमा बेसीबाट भारी बोकेर उकालो चढ्दै गर्दा निकै नै सकस हुन्थ्यो । 
तर भारी बिसाउनका लागि ठाउँ–ठाउँमा चौतारी बिसौनी हुन्थे । 

विशेषगरी  वैशाख महिनामा प्रतिष्ठा गरिएका चौतारी (विधिवत् रुपमा वरपीपलको विवाह गरिएको) मा माटोको घैँटामा चिसो पानी राखिएको हुन्थ्यो । पानी पिउनका लागि  बाँसको डुङ्ग्रो पनि राखिएको हुन्थ्यो । जानकारहरुका अनुसार यस परम्परालाई ‘धर्मघडा’ भन्ने गरिन्छ । कहीँकतै यस परम्परालाई ‘धर्मशाला’पनि भन्ने गरिन्छ । 

‘विगतमा भारी बोकेर उकालो चढ्दै गर्दा चौतारी बिसौनीमा पुगी माटोको घैँटोमा राखिएको मूलको चिसो पानी पिउन पाउँदा छुट्टै आनन्द हुन्थ्यो । पुरै थकान नै मेटिएको अनुभूति हुन्थ्यो’, हाल सिउँडीबारमा बस्दै आउनुभएका ५१ वर्षे अधिकारीले भन्नुभयो ।

‘धर्मघडा’ राख्ने चलन हराउँदै   

विगतमा चौतारी निर्माण गरेकामन स्थानीयले वैशाखमा नजिकैको चौतारीमा घैँटोमा पानी राख्ने गर्दथे । नेपाली समाजमा वैशाखमा चौतारीमा‘धर्मघडा’ राख्दा पूण्य मिल्ने धार्मिक विश्वास छ । 

यसरी चौतारीमा घैँटामा राखिएको पानीगोठाला, बटुवा, खेताला, भरियाले पिउने गर्थे । तर अहिले गाउँघरमै वैशाखमा चौतारीमा‘धर्मघडा’ राख्ने चलन हराउँदै गएको छ । 

पछिल्लो समय गाउँ छोडी शहरबजारमा बस्नेको जमात बढ्दो छ । ‘गाउँमा मान्छे बस्नै छाडे । त्यहीँमाथि अहिले त गाउँ–गाउँमा बाटो पुगेको छ । मानिसहरु बढी मात्रामा गाडीबाटै आवत–जावत गर्छन्’, भोटेओडारमा बस्दै आउनुभएकी एक वृद्धा धनमाया थापाले भन्नुभयो, ‘त्यसैले अहिले त यो चलन हराउँदै गयो ।’

उहाँका अनुसार वैशाख महिनाभर चौतारीमा ‘धर्मघडा’ राख्ने चलन छ । वैशाख अक्षय तृतीयाका िदन‘धर्मघडा’ राखिएको चौतारीमा खुदोपानी, जौको सातु खुवाउने चलनसमेत रहेको छ ।

बेसीशहर नगरपालिका–२, भकुण्डेका विष्णु बरालका अनुसार पछिल्लो समय गाउँमा बस्नेको संख्या कम हुँदै गएको छ । गाउँघरसम्मै मोटरबाटो, बिजुली पनि पुगेको छ ।

‘अहिले त विभिन्न चिसो पेय पदार्थ पिउने बढे । गाउँमा मान्छे कम हुन थाले । मान्छेको आवत–जावत पनि कम हुन थाल्यो । त्यसैले पनि गाउँघरका चौतारीमा घैँटोमा पानी राख्ने चलन हराउँदै गएको छ’, उहाँले भन्नुभयो, ‘अहिले पनि कतैकतै भने यो चलन चलिआएको पाइन्छ ।’  

वैशाखमा चौतारीमा घैँटामा पानी राख्ने परम्परा (धर्मघडा) नयाँ पुस्ताका लागि कथा लाग्न सक्छ ।

चौतारीको संरक्षण हुन सकेन 

मानिसको बसोबास कम रहेकाले गाउँघरमा रहेका चौतारीको पनि संरक्षण हुन नसकेको स्थानीय रमेश अधिकारीले बताउनुभयो ।

‘वैशाखमा वरपपीपल चौतारीमा घैँटामा पानी राख्ने चलन त संकटको संघारमै पुगेको छ । भएका चौतारीको पनि संरक्षण हुन सकिरहेको छैन’, उहाँले भन्नुभयो ।

उहाँका अनुसार विगतमा गाउँघरमा मानिसको बसोबास बढी हुन्थ्यो । गाउँघरमा हुने भेला, बैठक पनि चौतारीमै बस्ने चलन थियो । गाउँले जमघट भई दुःखसुख आपसमा बाँड्ने स्थान नै चौतारी हुने गर्दथ्यो । स्थानीयले चौतारीको सरसफाइ, संरक्षणमा उतिक्कै ध्यानदिन्थे । 

‘उबेला गाउँघरका चौतारीको संरक्षण हुन्थ्यो । ठूला–ठूला छपनी लगाएर चौतारी बनाइएको हुन्थ्यो, उहाँले भन्नुभयो, ‘अहिले त भएका चौतारीको पनि खासै संरक्षण हुन सकेको छैन । ठाउँठाउँमा भएका चौतारी पनि सिमेन्ट लगाएर बनाइएका छन् । यसले गर्दा मौलिकता गुमेको छ । गाउँघरमा नयाँ वरपीपल रोप्ने, हुर्काउनेको पनि संख्या निकै नै कम छ ।’

लमजुङमा मात्रै होइन, सबैतिर उकाली ओरालो गर्दा चौतारीमा बस्ने चलन नै हराइसकेको छ । गाडीको सुविधाले अहिले कहाँ नै छन् र देउराली अनि भञ्ज्याङहरु । चौतारीमा बसेर सुस्ताउन कसलाई पो फुर्सद छ र अहिले ? व्यस्त जिन्दगीसँगै हाम्रा भञ्ज्याङ अनि चौतारी पनि लोप हुँदैछन् । फ्रिजमा राखेको चिसो कोक फेन्टा हुञ्जेल चौतारीमा कसले पो राख्छ र घैँटोमा चिसो पानी ?

आफ्नो परम्परा, संस्कृति जगेर्नाका लागि सबै जुट्नु आवश्यक रहेको संस्कृतिप्रेमी बताउँछन् । तर जुट्नेचाहिँ काे ?


 

अन्तिम अपडेट: जेठ ३, २०७६

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया