मेगा क्यापिटल मार्केट्सकाे औपचारिक कारोबार सुरु

 बैशाख ७, २०७६ शनिबार १६:५८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  मेगा बैंक नेपाल लिमिटेडको पूर्ण स्वामित्वमा रहेको मेगा क्यापिटल मार्केटस् लिमिटेडको औपचारिक शुभारम्भ भएको छ । 

काठमाण्डाैमा शुक्रबार साँझ आयोजित कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की र मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

समाराेहमा मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेलीले मेगालाई सबै नेपालीको बैंक बनाउने योजना अनुसार सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्न मेगा बैंक कटिबद्ध रहेको बताउनुभयो । उहाँले मेगा बैंकका देशभर छरिएका १०२ शाखाबाट मेगा क्यापिटलका पनि सबै सेवाहरु उपलब्ध गराउने बताउनुभयो । 

पूँजीबजारसँग सम्बन्धित डिम्याट खाता संचालन, निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन, संस्थागत परामर्श जस्ता मर्चेन्ट बैंकिङ सेवाहरु आफ्नो त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालय, साकेत कम्प्लेक्सबाट प्रदान गरिने मेगा क्यापिटल मार्केट्स लिमिटेडका सिइओ सुदयकान्त झाले बताउनुभयो । 

मेगा क्यापिटल मार्केटस् लिमिटेडले चैत्र १८ गते मर्चेन्ट बैकिङ्ग व्यवसाय गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरेको थियो । मेगा क्यापिटलको अधिकृत पूँजी ३० करोड छ भने चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ ।
 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया