नेकपा महासचिव पौडेललाई संसदको कठघरामा उभ्याउ: कांग्रेस वरिष्ठ नेता पौडेल

 बैशाख ७, २०७६ शनिबार १८:५०:६ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाका महासचिव बिष्णु पौडेललाई संसदको कठघरामा उभ्याउनु पर्ने बताउनु भएको छ ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ४ को सम्मेलनको शनिबार बुटवलमा उद्घाटन गर्दै उहाँले बालुवाटार जग्गा काण्डको छानबिन गर्न नेकपा महासचिव पौडेललाई संसदको कठघरामा उभ्याउनु पर्ने बताउनु भएको हो ।

भष्टाचारलाई संस्थागत गर्न सरकार लागिरहेको भन्दै उहाँले बालुवाटार जग्गा काण्डमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाको भनाइले सरकारले संस्थागत भष्टाचारलाई प्रश्रय दिइरहेको पुष्टि गरेको बताउनु भयो ।

बालुवाटर जग्गा काण्ड , वाइड बडी खरिद र बुढिगण्डकीमा भष्टाचार भएको भन्दै वरिष्ठ नेता पौडेलले कांग्रेसले भष्टाचारका विरुद्ध शर्तहीन एजेण्डा तय गर्नुपर्ने बताउनु भयो ।

सरकार पतनको दिशातर्फ गइरहेको भन्दै उहाँले ओली सरकार समृद्धिको बिहानीमा कुहिराको काग भएको बताउनु भयो । उहाँले सरकारले अरुको आलोचना गर्ने तर आफनो समीक्षा र आत्मालोचना गर्न नसकेको बताउनु भयो । कांग्रेस नेता अर्जुन नरसिंह केसीले पार्टिलाई वैचारिक र सांगठनिक रुपमा बलियो बनाउँदै सरकारका गलत कृयाकलाप विरुद्ध केन्द्रित हुनुपर्ने बताउनु भयो ।

प्रमुख सचेतक बालकृष्ण खाँडले सरकार अधिनायकवादी सोचका साथ अगाडि बढिरहेको भन्दै संसदबाट त्यसकाे प्रतिवाद गर्ने बताउनु भयो । केन्द्रीय सदस्य गगन थापाले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि सरकारबाटै खतरा रहेको भन्दै प्रधानमन्त्री ओली संसदको अंक गणितले बलियो तर योजना र दृष्टिकोणका हिसाबले बरालिएको बताउनु भयो ।

उहाँले मुख्यमन्त्रीहरु प्रधानमन्त्रीको कारिन्दा बन्दै गएको भन्दै अदालत, संसद र अख्तियारलाई डर देखाएर प्रधानमन्त्री ओलीले संघियता र संविधानमाथि निर्मम प्रहार गरेको बताउनु भयो ।

केन्द्रीय सदस्य बद्री पाण्डेले कांग्रेस कार्यकर्ताहरुलाई संगठन निर्माणमा जुट्न आग्रह गर्नुभयो । कार्यक्रममा बोल्ने स्थानीय नेता र कार्यकर्ताहरुले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्न माग गर्दै सरकारका जनविरोधी कृयाकलाप विरुद्ध पार्टीको अडान सशक्त रुपमा प्रस्तुत गर्न आग्रह गरेका क्षेत्रीय सभापति हरि लम्सालले बताउनु भयो । 

अन्तिम अपडेट: चैत ४, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया