बसमा विद्युतीय टिकट प्रणाली : सजिलो र झण्झटिलो उस्तै

 बैशाख ८, २०७६ आइतबार ११:५५:४१ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाण्डाै – झापाका अमित अधिकारी साझा बस चढ्दा खल्तीमा चानचुन पैसा बोक्नुहुन्न । उहाँसँग भाडा तिर्न मिल्ने विद्युतीय कार्ड छ । बसमा चढ्ने बित्तिकै सहचालकलाई कार्ड देखाउनुहुन्छ । सहचालकले त्यो कार्ड मेसिनमा राख्छन् । जहाँसम्म पुग्नुपर्ने हो, कार्डबाट त्यति नै पैसा काटिन्छ ।

रानीबारी बस्ने अमित लगनखेलको एक प्राइभेट कम्पनीमा काम गर्नुहुन्छ । कार्ड प्रणालीले यात्रामा केही सजिलो भएको उहाँले बताउनुभयो । 

‘पहिले घरबाट निस्किँदा गाडी भाडाको लागि भनेर चानचुन पैसाको जोहो गर्नुपर्थ्यो, अहिले ढुक्क छ’ उहाँले खुशी हुँदै भन्नुभयो । तर कहिलेकाँही भने कुनै सहचालकसँग यो मेसिन नै नहुँदा र भए पनि काम नगर्ने अवस्थामा हुँदा भने खल्ती छाम्नुपरेको उहाँको अनुभव छ । ‘त्यसो हुँदा फेरि उही पुरानो ताल’ उहाँले टाउको कन्याउँदै गुनासो पोख्नुभयो ।

बसको टिकट प्रणाली विद्युतीय बनाउने भनेर साझा यातायातले यस्तो प्रणाली लागू गरेको छ । आफूसँग भएका जम्मा ५१ बसहरुमध्ये अहिले ४५ बसहरुमा यस्तो सुविधा रहेको साझा यातायात प्रालिका लेखाअधिकृत गोपालप्रसाद पन्तले बताउनुभयो । २० दिन अघिदेखि स्मार्ट कार्ड बाँड्न सुरु गरेकोमा अहिले १ सय ५० सेवाग्राहीहरुले स्मार्ट कार्ड लिइसकेको पनि उहाँले जानकारी दिनुभयो । 

‘हामी अहिले परीक्षण कालमा छौं, यसको प्रचारप्रसार नभएकाले धेरै कार्ड बिक्री नभएको हो’ उहाँले भन्नुभयो, ‘तर बिक्री भएजतिबाट भने राम्रै प्रतिक्रिया पाएका छौँ । यसको प्रयोगले सेवाग्राहीलाई मात्र होइन, व्यवसायीहरुलाई पनि राहत पुग्ने छ ।’

आर्थिक चुहावट रोक्न उत्तम विकल्प

भाडा तिर्ने स्मार्ट कार्डको प्रयोगले यात्रुलाई सुविधा त पुग्छ नै । व्यवसायीलाई पनि राहत मिल्नेछ । विद्युतीय टिकट प्रणालीले आर्थिक चुहावट रोकिने साझा यातायातका कार्यकारी निर्देशक भुषण तुलाधर बताउनुहुन्छ ।

सवारी चालक र कण्डक्टरहरुको मिलोमतोबाटै दैनिक रुपमा उठ्ने भाडामा हिनामिना हुने गरेको र विद्युतीय प्रणाली लागू गरेपछि यात्रुहरुले तिर्ने पैसा सहचालकको हातमा नभएर सिधै बैंक खातामा जाने भएकाले आर्थिक चुहावट नहुने  तुलाधरले बताउनुभयो ।  

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा  मात्र साझा यातायातले १ करोड ७८ लाख रुपैयाँ घाटा बेहोरेको भन्दै उहाँले यसलाई रोकथामग र्न कार्ड प्रणाली सुरु गरेको बताउनुभयो । ‘पहिलेदेखि नै कार्ड प्रणाली लागू गर्न चाहेका थियौँ । तर विविध कारणबस लम्बिंदै जाँदा बल्ल प्रयोग गर्न भ्यायौँ’ उहाँले भन्नुभयो । 

अब काठमाण्डौ उपत्यकामा चल्ने सबै बसमा स्मार्ट कार्ड अनिवार्य

काठमाण्डौ उपत्यका भित्रचल्ने सबै सार्वजनिक गाडीमा विद्युतीय कार्ड प्रणाली लागू हुने भएको छ । काठमाण्डौ महानगरपालिकाले ऐन पारित गर्दै वैशाखभित्र यो नियम कार्यान्वयन गरिसक्नुपर्ने बताएको छ ।

ऐनको दफा ३ मा लेखिएको छ, ‘सार्वजनिक यातायात सञ्चालनमा कागजी र विद्युतीय गरी दुई प्रकारका यात्रु टिकट प्रयोग गर्न सकिनेछ ।’ ऐनमा थपिएको छ ‘कागजी टिकटको प्रयोगलाई क्रमशः विद्युतीय टिकटले विस्थापित गर्नुपर्नेछ ।’ ऐन पारित भएको १६औँ दिनमा मेयरले प्रमाणीकरण गरेपछि लागू हुने महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यसले गर्दा यात्रुहरुलाई सजिलो मात्र नभएर बस व्यवसायीहरुलाई पनि फाइदा पुग्नेछ ।’ काठमाण्डौ भित्र चल्ने कतिपय बसहरुमा टिकट समेत काट्ने गरिंदैन । कण्डक्टरले कहाँबाट आएको र कहाँसम्म जाने भन्ने सोधेरै यात्रुहरुबाट भाडा लिने गर्छन् । 

तर यो त्यति पारदर्शी नभएको आचार्य बताउनुहुन्छ । यसो गर्दा टाढाबाट चढेका यात्रुले पनि नजिकैबाट चढेको भन्ने गर्छन्, जसले गर्दा बस व्यवसायीहरु मर्कामा पर्छन् । यस्तै कण्डक्टरले पनि कुनै यात्रुसँग बढी भाडा माग्ने गरेको गुनासो छ । यस्तै कण्डक्टरबाट पनि भाडा उठेको रकम हिनामिना हुँदा बस धनीहरु ठगिने गरेका छन् ।

यस्तो गलतकार्यलाई नियमन गर्नको लागि पनि बसमा स्मार्ट कार्ड लागू गर्नै पर्ने महानगरपालिकाको भनाई छ । एउटा स्मार्ट कार्डले नै उपत्यकाभित्र चल्ने असबै बसहरुमा चढ्न मिल्ने बनाउने पनि आचार्यले बताउनुभयो ।

के हो स्मार्ट टिकट, कसरी प्रयोग गर्ने ?

भाडा तिर्न मिल्ने स्मार्ट कार्डमा डेबिट कार्डजस्तै सानो चिप्स जडान गरिएको हुन्छ । जसरी एटीएमले काम गछ,  यसको पनि त्यस्तै कामहो । सहचालकको हातमा कार्ड रिडर मेसिन हुन्छ । यात्रु कहाँबाट चढेको र कहाँ ओर्लने भन्ने आधारमा कण्डक्टरले कार्डलाई मेसिनमा रिड गराएर त्यहीअनुसार कार्डबाट पैसा काटिन्छ ।

तर बजारमा यो भन्दा पनि परिस्कृत प्रविधि आइसकेको र चाँडै त्यो ल्याउने प्रयासमा रहेको साझा यातायातले जनाएको छ । त्यसमा बसको दुईवटै ढोकामा कार्ड रिडर मेसिन लगाइन्छ । बसमा चढ्दा पनि र ओर्लिदा पनि कार्डलाई मेसिनमा छुवाउनुपर्छ । सुरुमा कहाँबाट चढेको हो र कहाँ ओर्लने हो भन्ने दूरीको आधारमा कार्डमा भएको पैसा काटिने हुन्छ ।

यो प्रविधि बढी विश्वसनीय भएको साझा यातायातका लेखाअधिकृत गोपालप्रसाद पन्तले बताउनुभयो । स्मार्ट कार्डका प्रयोगकर्ता बढेर बढेपछि सबै बसमा यस्तो प्रविधि जडान गरिने उहाँले बताउनुभयो ।

अहिले बसको न्यूनतम भाडादर १३ र अधिकतम भाडादर २५ छ । यसमाविद्यार्थी र जेष्ठ नागरिकको लागिभनेर फरक कार्ड नबनेको र बिस्तारै त्यस्तो कार्ड पनि बनाइने पन्तले बताउनुभयो ।

विद्युतीय टिकटलाई साझा यातायातको कार्यालय र साझा बसकै कण्डक्टरहरुबाट पनि दुईसय रुपैयाँ तिरेर किन्न सकिन्छ । त्यसमा दुईसय रुपैयाँ नै आउँछ । त्यो रकम सकिएपछि यात्रुले त्यो कार्ड फिर्ता गरेर अर्को कार्ड लिनुपर्ने हुन्छ । मागको आधारमा कार्ड पाँचसय र हजारसम्मको पनि बनाउने पन्तले जानकारी दिनुभयो । 

कार्डमा समस्या हुने गरेको सहचालकको गुनासो

कहिलेकाहीँ मेसिन बिग्रिंदा त्यसले दुःख दिने गरेको साझा बसका एकजना सहचालकले गुनासो गरे । ‘कहिलेकाहीँ मेसिन आफै बन्द भइदिन्छ, कहिले कुनै रेसपोन्स नै गर्दैन, यसले गर्दा मेसिन थन्क्याएर राख्नुपर्ने अवस्था आउँछ’ उनले भने ।

विद्युतीय कार्ड बनाउने जिम्मा इन्क्लाउड कम्पनीले लिएको छ । कम्पनीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले भने मेसिन गुणस्तरीय भएको बताउनुभयो । ‘तर कहिलेकाँही चार्ज कम हुँदा राम्रो काम नगर्न सक्छ’, उहाँले भन्नुभयो, ‘त्यसको लागि सहचालकले पूरा चार्ज गरेर मात्र प्रयोग गर्नुपर्ने हुन्छ ।’


 

अन्तिम अपडेट: चैत १४, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

1 Comments

  • Manita Subedi

    May 3, 2019, 2:55 p.m.

    As there is msg alert after deduction of money in ATM,likewise Can we know amount deducted from smart card and the remaining balance in that card ??

  •  0 Reply

तपाईको प्रतिक्रिया