खुशी बाँड्ने काम !

 बैशाख ८, २०७६ आइतबार ११:५६:४७ | सन्जिता देवकोटा

काठमाण्डौं – सबैलाई खुशी बनाउन सकिंदैन । कहिलेकाहीँ त आफूले आफूलाई पनि ! धेरैको गुनासो हो यो । तर काठमाण्डौका निरज काफ्ले अरुलाई खुशी बनाउने काममा लाग्नुभएको छ । अरुलाई खुशी मिल्दा उहाँ झन् खुशी हुनुहुन्छ । 

उहाँ र उहाँको समूहले शहरका व्यस्त मानिसलाई खुशीको अवसर जुटाइदिने, सात समुद्र पारी रहेका परदेशी र घरबासीबीच दूरी घटाइदिनेदेखि खुशी जोडिएका अरु सबै काम गर्दै आएको छ ।

को कसरी खुशी हुन्छ, कसरी जान्ने त ?

निरज भन्नुहुन्छ, ‘मानिसलाई खुशी हुन ठूलो कुरा नै चाहिँदैन, यसको एउटा माध्यम हो सरप्राइज, हामी त्यही काम गर्छौं ।’

अफरिङ ह्यापिनेश’ यसकै अर्को नाम हो । जसले मानिसलाई बुझेर खुशी हुने अवसर जुराइदिन्छ । र, अरुलाई खुशी बाँड्ने काम गर्नुहुन्छ निरज पनि । 

‘हाम्रो विषेश दिनलाई सम्झनलायक बनाइदिनुभयो, यो एकदमै गाह्रो काम हो, तर तपाईँहरुको टिमले यो सम्भव बनाइदिनुभयो, हामीले एकदमै रमाइलो गर्न पायौं, धन्यवाद अफरिङ ह्यापिनेश,’ अरुलाई पनि सेवा लिन सुझाव दिँदै अफरिङ ह्यापिनेशको बारेमा सुनिता दिलुङचाल लेख्नुहुन्छ । 

अफरिङ ह्यापिनेशबाट सेवा लिएकी श्रदा घिमिरे पनि आफ्नो मायासँगको क्षण सम्झना लायक बनाइदिएकोमा धन्यवाद भन्नुहुन्छ अफरिङ ह्यापिनेशलाई ।

खुशी बाँड्ने कामको सुरुवात  

अरुलाई खुशी बनाइदिएर आफू खुशी भइरहेका निरज र उहाँका साथीहरु मिलेर दुई वर्षअघि यो काम सुरु भएको हो । 

कुरा सन् २०१६ को हो । निरज नेशनल कलेजमा स्नातक पढ्दै हुनुहुन्थ्यो । उहाँसहित साथीहरुको रुची नयाँ नयाँ कुराको खोजी र त्यसको प्रयोगमा थियो । 

सबैजना केही नयाँ गर्न चाहन्थे । त्यसको खोजीमा थिए । ‘समाजका लागि केही नयाँ कुरा गरौं भन्ने थियो, तर के गर्ने त, हामीले झण्डै एक वर्ष त अध्ययन गर्‍यौं, मानिसको खुशी र भावनासँग जोडिएको कामको सुरुवात गर्ने भनेर योजना बनायौं,’ निरज भन्नुहुन्छ, ‘त्यसपछि अफरिङ ह्यापिनेशको सुरुवात गरेका हौं ।’ 

निरजसहित सन्तोष पाण्डे, अभिनास चौधरी र दर्शन पराजुली संस्थापक हुन् भने दीपा पराजुली, श्रेया मानन्धर र श्रीषा पौडेल अफरिङ ह्यापिनेशका ‘एक्टिभ पार्टनर’ हुन् । 

नयाँ कामको सुरुवात गर्दा न उनीहरुसँग पैसा थियो, न त अनुभव । तर आँट थियो । झण्डै एक वर्ष बजार र मानिसबीचका दूरीलाई बुझेकाले पनि आफूले गरेको कामबाट त्यसलाई पुर्न सकिन्छ भन्ने विश्वास पनि थियो । अनि परिवारको साथ पनि ।

‘हरेक कुरामा फेल भन्ने हुँदैन, कि सफल भइन्छ कि नयाँ कुरा केही सिकिन्छ,’ निरज आत्मविश्वासका साथ भन्नुहुन्छ, ‘यही सोचका साथ हामीले छोराले एक सेमेस्टर बढी पढ्यो भन्ने ठान्नु भनेर बुवाआमासँग पैसा मागेर काम थालेका हौं ।’

निरज स्नातक चौथो सेमेस्टरमा पढ्नुहुन्थ्यो । आफूले थालेको काममा निरजलाई मात्र हैन, परिवारको पनि आश थियो । तर आफन्त र छिमेकीलाई सुरुमा त कामको बारेमा बुझाउनै मुश्किल पर्‍यो । ‘हामीले काम थालेका कति समयसम्म त यस्तो काम गर्दैछौं भनेर भन्दा पनि भनेनौं,’ निरज सम्झनुहुन्छ, ‘पछि काम राम्रो हुँदै गएपछि मात्रै भनेका हौं ।’

कामको सुरुवात ‘गिफ्ट’बाट भयो । मानिसको विषेश दिनका लागि गिफ्टहरु बनाउने र सामाजिक सञ्चालको सक्दो सदुपयोग गरेर बजार बढाउने उनीहरुको योजना थियो । 

‘गिफ्ट बनाउँदा बनाउँदै हामीले अर्को अवसर देख्यौं, व्यस्त मानिसका लागि खुशीको अवसर जुराइदिने काम त नयाँ रहेछ, फेरि हाम्रो रुची पनि सर्भिस मै थियो,’ उत्साहित हुँदै निरज भन्नुहुन्छ, ‘सबैलाई खुशीको मोमेन्ट लिएर बजारमा गयौं ।’

मानिस व्यस्त छन् । व्यस्तताले खुशी लुटेको छ । निरज भन्नुहुन्छ – हामी त्यही खुशी खोज्ने प्रयास गरिरहेका छौं । 

अफरिङ ह्यापिनेश नेपालकै पहिलो ‘सरप्राइज इभेन्ट प्लानर’ हो । उदेश्य नै सरप्राइज दिने र त्यसमार्फत खुशी प्रदान गर्नु हो । व्यक्तिका विषेश दिन जस्तै वर्थ डे, एनिभर्सरी लगायतमा सरप्राइज इभेन्ट प्लान गरिदिने काम गर्छ अफरिङ ह्यापिनेशले । 

मानिसलाई खुशी प्रदान गर्नका लागि फरक फरक योजनाहरु बनाएका छन् । व्यक्ति अनुसार योजनाहरु छान्न सकिन्छ । 

‘संसारको जुनसुकै कुनामा भए पनि काठमाण्डौमा रहेका आफ्नो मान्छेलाई सरप्राइज केही दिन मन छ भने त्यसको जिम्मा हामीले लिने गर्छौं’ निरज मुस्कुराउँदै भन्नुहुन्छ, ‘तपाईँलाई रोमान्टिक डेट जान मन लागेको भए पनि भन्नुहोस् ।’

‘विदेश जाँदा नेपालमा कामको अवसर देखें’

निरज अहिले २५ वर्षको हुनुहुभयो । दुई वर्षअघि काम थाल्दा उहाँको उमेर २३ वर्षको थियो । स्नातक पढ्दै गर्दा विदेश जाने र कमाउने सोच पनि थियो । उहाँसँगै अहिले काम गरिरहेका कति साथीले ‘ट्राइ’ पनि गरेका थिए ।

कलेज पढ्दा पढ्दै निरजलाई अमेरिका जाने अवसर मिल्यो । एक कार्यक्रममा भाग लिन उहाँ अमेरिका जानुभएको थियो । 

‘विदेशमा नेपालीको भिड देखें, उनीहरुको संघर्ष र सफलता पनि देखें,’ निरज भन्नुहुन्छ, ‘त्यहाँका नेपाली देख्दा चाहिँ लाग्यो उनीहरुका लागि भएन पनि नेपालमा केही गर्नुपर्छ ।’ निरजलाई परदेशमा पुगेर नेपाललाई हेर्दा संसारकै अग्लो सगरमाथाको मात्रै हैन अवसरहरुको पनि चुचुरो देख्नुभयो । र त्याग्नुभयो त्यो बेला नै विदेशको मोह । 

परिवारसँग टाढा भएर कमाएको धन र आफन्तसँग टाढिदा फाटिएको मन सम्झनुभयो । त्योबेला उहाँलाई लाग्यो, केही नभए पनि उनीहरुको दूरी घटाइदिने केही काम गर्नुपर्छ । 

यही सोचले अहिले सफलता पाएको छ । विदेशमा रहेकाले नेपालमा आफन्तको विशेष दिनमा अफरिङ ह्यापिनेश मार्फत सेवा लिन्छन् र आफ्नालाई खुशी बनाउँछन् । आफन्त खुशी देखेपछि फोनमार्फत धन्यवाद दिन्छन् । अरु खुशी भएर, खुशीले दिएको धन्यवादले नै सबैभन्दा खुशी मिल्छ भन्नुहुन्छ निरज । 

खुशी र रोजगारी सँगसँगै

अवसर जति पनि छ । निरजकै शब्दमा भन्दा अवसरहरु उडिरहेका छन्, मात्र त्यसलाई टिप्न सक्नुपर्छ । उडिरहेका अवसरलाई टिप्नु सजिलो भने हुँदैन । 

खुशी बाँड्ने काम गर्न पनि सजिलो छैन । मानिसको भावनासँग जोडिएको काम भएकाले सबैका भावना बुझनु पर्छ । त्यति मात्र हैन, दक्ष कामदार पाउन पनि गाह्रो छ । 

‘यही क्षेत्रका लागि भनेर पढ्ने मानिस भेटिंदैनन्, नयाँलाई काम सिकायो, तर धेरैले यो कामलाई आफ्नो भविष्य नै मान्दैनन्, छिटो छिटो कामदार परिवर्तन हुँदा हामीलाई सिकाउनै मुश्किल पर्छ,’ निरज काम गर्दाका चुनौती सुनाउनुहुन्छ । 

अफरिङ ह्यापिनेशमार्फत १२ जनाले प्रत्यक्ष र अरु एक सय जना भन्दा धेरैले अप्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् ।

‘फोटोग्राफरदेखि म्युजिसियनसम्म गरी विभिन्न व्यक्ति तथा संस्था हामीसँग जोडिएर काम गरिरहनुभएको हुन्छ’ निरज भन्नुहुन्छ, ‘हामी विभिन्न पार्टनरहरुसँग मिलेर काम गरिरहेका हुन्छौं ।’ एउटा इभेन्ट आयोजना गर्दा धेरै पक्ष जोडिने भएकाले पनि रोजगारीको अवसर धेरै छ । 

दिने गिफ्ट र त्यसमा लेखिने म्यासेजमा एकदमै ख्याल राख्नुपर्छ भन्नुहुन्छ, निरज । लिने र दिने व्यक्तिको भावना साटिने खालको भएन तथा उनीहरु खुशी भएनन् भने निरजलाई पनि खुशी मिल्दैन । 

सालाखाला महिनाको ६० वटा सर्भिस प्रदान गर्दा कम्तिमा ६ लाख र बढीमा १० लाख रुपैयाँ मासिक आम्दानी हुन्छ ।

रुपैयाँ भन्दा बढी त उनीहरुले उपभोक्ताको माया र खुशी कमाइरहेका छन् । उनीहरु गिफ्टदेखि इभेन्टहरुसम्म ‘क्रियटिभ’ बनाउँछन् । जुन कुरा बजारमा किन्न पाईंदैन । 

हिजोआज ‘आइडिया’ बिक्छ अथवा नयाँ कुरा बिक्छ । निरज भन्नुहुन्छ, ‘मानिसलाई नयाँ कुरा दियो भने नहुने केही छैन । अलिकति झञ्झटिलो पक्कै छ तर नहुने भन्ने होइन ।’ 

सानो छँदा गणितमा कमजोर निरज भविष्यको हिसाबकिताब गर्न भने निकै अगाडि हुनुहुन्छ । पढाइमा कमजोर भएकै कारण उहाँलाई ठूलो भएर गरिखान्छ भनेर धेरैले विश्वास गर्दैन थिए । तर अहिले निरज भन्नुहुन्छ –‘सघर्ष गर्नुपर्छ, संघर्ष गर्ने मान्छे असफल पक्कै हुँदैन ।’

सुनसरीका निरज ६ कक्षामा भर्ना हुन काठमाण्डौ छिर्नुभएको थियो । सुनसरीबाट राम्रो भविष्य र खुशीको लागि काठमाण्डौ छिरेका निरज अहिले अरुलाई खुशी बाँड्दै आफ्नो खुशी खोजीरहनुभएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया