थुनुवाले रगत दिएर बचाइन् सुत्केरीलाई: १८ घण्टापछि शल्यक्रिया गरेर निकालियो बच्चा

 बैशाख ८, २०७६ आइतबार १४:२२:८ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – रगतको अभावमा जिल्ला अस्पताल सल्यानमा छट्पटाइरहेकी रोल्पाकी एक सुत्केरीलाई जिल्ला कारागारमा १८ महिनादेखि थुनुवाको रुपमा रहेकी एक महिलाले रगत दिएर बचाउनुभएकाे छ । 

रोल्पाको गंगादेव गाउँपालिका–७, उपल्लोजायाकी २१ वर्षीया मनिषा केसी वलीलाई जिल्ला कारागार सल्यानकी थुनुवा पूजा घर्तीले रगत दिएर बचाउनुभएकाे हाे ।

शुक्रबार बिहान ८ बजे सुत्केरी बेथा लागेर बेलुकी ७ बजेसम्म पनि बच्चा नजन्मिएपछि परिवारले रोल्पाको राक स्वास्थ्यचौकी लगेको श्रीमान चोपीलाल वलीले बताउनुभयो । स्वास्थ्यचौकीमा लगेपछि बेथा झन् बढ्दै गएको र त्यहाँ सुत्केरी गराउन सम्भव नभएपछि शनिबार बिहान ७ बजे जिल्ला अस्पताल सल्यान लगिएको श्रीमान वलीले बताउनुभयो । 

‘अस्पतालमा ल्याउँदा उहाँ अर्धचेत अवस्थामा हुनुहुन्थ्यो, पेटको बच्चा मरिसकेको थियो’, अस्पतालका डाक्टर प्रदिप शर्माले भन्नुभयाे’, ‘साल पाठेघरको मुखमाआएर बसेको थियो । उनले भने ‘गर्भावस्थाका बेलामा जाँच नगरेको, एक्सरे नगरेको तथा रगतको समूह थाहा नभएका कारण उपचारमा समस्या भयो ।
तेस्रो पटक सुत्केरी वलीको अवस्था अहिले भने सामान्य छ । 

पेटको बच्चा पहिले नै मरिसकेकाले शल्यक्रिया गरेर आमाको ज्यान बचाउन सफल भएको डाक्टर शर्माले बताउनुभयो । मनिषाको झण्डै १८ घण्टापछि शल्यक्रिया गरेर बच्चा निकालिएको हो ।

उहाँले मनिषालाई शल्यक्रियाअगाडि ३ पोका र पछि थप २ पोका रगत दिएको र अवस्था क्रमिक रुपमा सामान्य बन्दै गएको बताउनुभयो ।

‘रगत दिएर मात्रै शल्यक्रिया गरेर बच्चा निकाल्नु पर्ने बाध्यता भयो,’ उपचारमा संलग्न डाक्टर शर्माले भन्नुभयो । जिल्लाअस्पतालमा रगत नहुँदा स्वास्थ्यकर्मी र बिरामीका आफन्तहरुले स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीहरुसँग गुहार मागे ।

पूजाका साथै सशस्त्र प्रहरीका गोपाल बस्नेत, अस्पतालका अंकित चन्द, स्टोरकीपर मनोज सिंहले समेत रक्तदान गर्नुभएकाे थियाे । घर्तीले जिल्ला अस्पतालको बेडमा रगतको अभावमा सुत्केरी छट्पटाइरहेको थाहा पाएपछि रक्तदान गरेको बताउनुभयाे ।

को हुन पूजा?

तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अपहरण तथा हत्यामा संलग्न देखिएको आरोपमा पूजा घर्तीलाई प्रहरीले ०७४ असारमा पक्राउ गरेको थियो । श्रेष्ठलाई अपहरण गरेको आरोप लागेकी पूजालाई भारतबाट पक्राउ गरिएको थियो । तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको ०७४ जेठ २६ गते तुलसीपुरबाटै पूजाको योजनामा अपहरण गरिएको प्रहरीले जनाएको थियो । 

प्रहरीको अनुसन्धानअनुसार तुलसीपुर—६ की पूजा घर्ती, उनका बुवा टीकाराम घर्ती र सल्यान झिम्पे—४ का मानबहादुर भण्डारी अपहरणको घटनामा संलग्न भएको भन्दै दाङ प्रहरीले स्केचसहित विवरण सार्वजनिक गरेको थियो ।

प्रहरीले पक्राउ परेका अविरल महतराको बयानका आधारमा व्यवसायी श्रेष्ठको शव २१ दिनपछि सल्यानको झिम्पेरेञ्जको जंगलमा फेला पारेको थियो । त्यसै बेलादेखि पूजा जिल्ला कारागार सल्यानमा थुनुवाको रुपमा हुनुहुन्छ । उहाँको मुद्धाको अन्तिम फैसला हुन बाँकी छ । 
 

अन्तिम अपडेट: चैत २७, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया