देशैभर समयमै पाठ्यपुस्तक पुग्नेमा अन्योल, समयमै रकम निकासी नहुँदा समस्या

 बैशाख ८, २०७६ आइतबार १७:४३:३७ | उज्यालो सहकर्मी

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले शैक्षिक सत्र २०७६ का लागि समयमै पाठ्यपुस्तक उपलब्ध गराउने भनेको भए पनि कतिपय जिल्लामा पाठ्यपुस्तक पुग्न सकेको छैन । शैक्षिक सत्र सुरु भएको हप्ता दिन बितिसक्दा पनि सबै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको छैन । वैशाख १५ गतेसम्म सबै स्थानमा पाठ्यपुस्तक पुग्छ भन्नेमा पनि अन्योल देखिएको छ ।  

जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक बिक्रीवितरणमा सहज होस् भनेर विराटनगर, जनकपुर, भरतपुर, पोखरा, बुटबल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । 

पश्चिम नेपालका धेरै जिल्लामा पाठ्यपुस्तकको अभाव देखिएको छ । विशेषगरी कक्षा ६, ७ र नैतिक शिक्षाका पुस्तकको अभाव देखिएको छ । केन्द्र र स्थानीय तहबीच समन्वय नहुँदा पनि पाठ्यपुस्तक बिक्री वितरणको काम लम्बिने भएको छ । स्थानीय तहले समयमै रकम निकाशी नगर्दा पनि ढिलाई भएको हो । कर्मचारी समायोजनले गर्दा पनि समयमै रकम हातमा नपरेको विद्यालयका प्रधानाध्यापकहरुको गुनासो रहेको छ । 

रकम निकासीमा ढिला भएसँगै कतिपय व्यापारीहरुले आफ्नै खल्तीबाट पैसा खर्च गरेर सम्बन्धित विद्यालयमा पाठ्यपुस्तक पुर्याउन कम्मर कसेका छन् । तर सबै व्यापारीहरुले आफ्नै पैसा खर्च गरेर पाठ्यपुस्तक खर्च गर्ने आँट गरेका छैनन् । 

विराटनगर

प्रदेश नम्बर १ र प्रदेश नम्बर ३ का केही जिल्लामा पाठ्यपुस्तक वितरणको जिम्मा पाएको क्षेत्रीय कार्यालय विराटनगरले पहाड र हिमालमा वितरणको काम अन्तिम चरणमा पुगको जनाएको छ । केन्द्रबाट स्थानीय, स्थानीयबाट विद्यालयल अनि विद्यालयबाट व्यापारीसम्म आइपुग्दा प्रक्रिया लम्बिएको क्षेत्रीय विराटनगर प्रमुख राजेन्द्रनिधि तिवारीले बताउनुभयो । 

विराटनगर कार्यालयले वैशाखभरि आफूले जिम्मा पाएको जिल्लाभरि पाठ्यपुस्तक पठाइसक्ने जानकारी दिएको छ । स्थानीय तहले बजेट विनियोजन गर्न ढिला गरेका कारण पनि अझै केही लाग्ने तिवारीले बताउनुभयो ।  

पोखरा

पोखरा क्षेत्रीय पाठ्यपुस्तक बिक्री वितरण केन्द्रमा पहिलो पटकको पुस्तक वितरण पूरा भएको छ । क्षेत्रीय प्रमुख प्रबन्धक जयराम अर्यालका अनुसार, ७५ प्रतिशत पाठ्यपुस्तक सम्बन्धित क्षेत्रमा पठाइसकिएको छ, अब समयमा नै पाठ्यपुस्तक आएको खण्डमा एक हप्तामा सबै काम सकिन्छ । 

‘वैशाख १० गतेदेखि मात्र विद्यालय सञ्चालनमा आउने भएकोले पनि केही ढिलो देखिएको हो, पाठ्यपुत्क वितरणकै सन्दर्भमा हामीले जिम्मा पाएको प्रदेश नम्बर चारको १० जिल्लामा द्रूत गतिमा नै काम भइरहेको छ’ उहाँले भन्नुभयो । 

धनगढी

धनगढी क्षेत्रीय पाठ्यपुस्तक बिक्रीवितरण केन्द्रका प्रमुख भूपिन्द्र बोहराले एक हप्ताभित्र पाठ्यपुस्तक बिक्री वितरण कार्यले पूर्णता पाउने बताउनु हुन्छ । उहाँका अनुसार, धनगढी क्षेत्रीय कार्यालयले सुदूरपश्चिमका ९ जिल्लामा पाठ्यपुस्तक वितरणको जिम्मा पाएको छ । ‘पहाडी जिल्लामा लगभग अन्तिम चरणमा छ, कञ्चनपुरमा ६० देखि ७० प्रतिशत, कैलालीमा ५५ प्रतिशत पुस्तक पठाइसकिएको छ’ उहाँले भन्नुभयो ।  

धनगढी क्षेत्रीय कार्यालयमा पनि नैतिक शिक्षा पुस्तककै अभाव देखिएको छ । यहाँ पनि बजेट निकाशा नहुँदा पाठ्यपुस्तक वितरण क्षेत्रीय कार्यालय र व्यापारीबीच समन्वय हुन सकिरहेको छैन । केही व्यापारीहरुले तत्कालका लागि आफ्नै खर्चमा किताब लगे पनि धेरैले बजेट नै पर्खिरहेका छन् ।  

सुर्खेत

प्रादेशिक पाठ्यपुस्तक वितरण केन्द्र सुर्खेतमा पनि बिक्री वितरणको कार्य लगभग अन्तिम चरणमा पुगेको छ । गएको मंसिर १५ गते कार्यालय स्थापना भएपछि माघद‍ेखि पुस्तक वितरण गर्न थालिएको हो । सुर्खेतको कर्णाली प्रदेशका जिल्लामा पुस्तक वितरण गर्ने जिम्मा पाएको छ । 

‘सर्वसुलभ रुपमा पाठ्यपुस्तक वितरणका लागि विभिन्न जिल्लासँग समन्वय गरेका छौं, ७५ प्रतिशतभन्दा बढी पाठ्यपुस्तक व्यापारीका हातसम्म पुगिसकेको छ । कालिकोटमा भने नैतिक शिक्षाको अभाव नै छ’ सुर्खेतका प्रदेश प्रमुख धनबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार, कतिपय विद्यालयहरुले नगरपालिकाबाट बजेट निकासा नभइसकेको बताएका छन् । 

जनकपुर

क्षेत्रीय पाठ्यपुस्तक बिक्री वितरण कार्यालय जनकपुरमा भने सबैभन्दा कम मात्रामा पाठ्यपुस्तक निकासा भएको छ । शुक्रबारसम्म ५० प्रतिशतको हाराहारीमा मात्र पाठ्यपुस्तक पठाइएको क्षेत्रीय सहायक प्रमुख स्थीर बहादुर कार्कीले बताउनुभयो । क्षेत्रीय कार्यालय जनकपुरको भागमा २ नम्बर प्रदेशको ९ जिल्ला परेको छ । 

‘विभिन्न कारणले यहाँका व्यापारीहरु आउन ढिला भइरहेको छ र कक्षा ६, ७, ८ र ९ का केही पाठ्यपुस्तकको पनि अभाव देखिएको छ’ उहाँले भन्नुभयो ।   

भरतपुर

पाठ्यपुस्तक बिक्री वितरण प्रादेशिक कार्यालय भरतपुरका कार्यालय प्रमुख हरिप्रसाद माझी क्षेत्रीले झण्डै ८५ प्रतिशत पाठ्यपुस्तक बिक्री वितरण भैसककेको बताउनुभयो । ‘भरतपुर कार्यालयले प्रमुख जिम्मेवारी पाएको क्षेत्र प्रदेश नम्बर ३ हो, आंशिकरुपमा प्रदेश २ र ४ को पनि जिम्मेवारी पाएका छौं, ’ उहाँले भन्नुभयो । उहाँका अनुसार, बाँकी रहेका स्थानमा पनि विद्यालय र पाठ्यपुस्तक व्यापारीबीच समन्वय नभएर हो । हाम्रो तर्फबाट कुनै कसर बाँकी छैन ।   

नेपालगञ्ज

प्रादेशिक पाठ्यपुस्तक बिक्री वितरण केन्द्र नेपालगञ्जका प्रमुख रवीन्द्र शर्मा भन्नुहुन्छ, ‘हाम्रो कार्यालयले हेर्ने क्षेत्र भनेको बाँके, बर्दिया, दाङ, सल्यान, रुकुम र रोल्पा हो, जसमा ८० देखि ९० प्रतिशतसम्म वितरण भइसकेको छ । बाँकी रहेका स्थानमा एक हप्ताभित्र सक्ने योजना छ ।’ 

उहाँका अनुसार, कतिपय विद्यालयमा भने नगरपालिकाबाट रकम निकासा भैसकेको छैन । ‘स्थानीय तहमा कर्मचारी समायोजनाले गर्दा पनि कहिले कार्यालय प्रमुख नहुने कहिले समन्वयको अभावले गर्दा प्रक्रृया केही लम्बिने भएको हो । कक्षा ६ र ७ को पुस्तक अभाव छ,’ उहाँले भन्नुभयो । 

बुटवल

क्षेत्रीय प्रादेशिक कार्यालय बुटवलमा पनि पाठ्यपुस्तकको अभाव देखिएको छ । प्रदेश नम्बर ५ को ९ जिल्लामा पाठ्यपुस्तक बिक्रीवितरणको जिम्मा पाएको बुटवल केन्द्रमा कक्षा सातको नैतिक शिक्षा, कक्षा १० को सामाजिक, कक्षा आठको गणित र सामाजिक शिक्षाको अभाव छ । 

कम्प्युटर अपरेटर विष्णु न्यौपानेले भन्नुभयो, ‘हामीकहाँ सबैभन्दा कम रुपन्देहीका क्रेताहरु आउनुभएको छ । पुस्तकको अभाव कायम नै छ, तत्काल पाठ्यपुस्तक आयो भने १० दिनभित्र पाठ्यपुस्तक बिक्री वितरण सकिन्छ ।’ 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया