नेकपाको जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लाग्यो

 बैशाख ९, २०७६ सोमबार ६:२१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सबै जिल्लाको अध्यक्ष र सचिवको टुङ्गो लागेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बेलुकी बसेको सचिवालय बैठकले जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ७७ वटै जिल्लाको जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुङ्गो लागेको जानकारी दिनुभयो ।

७७ जिल्ला कमिटीमध्ये ४५ तात्कालीन एमाले र ३२ माओवादी केन्द्रले नेतृत्व लिने सहमति भएको छ । एमालेले अध्यक्ष पाउने जिल्लामा माओवादीले सचिव र माओवादीले अध्यक्ष पाउने जिल्लामा एमालेले सचिव पाउने सहमति भएको छ । 

७७ जिल्लाकै अध्यक्ष र सचिवको नाम सोमबार प्रज्ञा भवनमा कार्यक्रम गरेर सार्वजनिक गर्ने नेकपाको तयारी छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालका साथै वरिष्ठ नेता झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेललगायतका नेताहरुको निरन्तर छलफलपछि जिल्ला तहको एकता टुंगो लागेको हो ।

यसअघि नै सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटीको घोषणा भइसकेको छ । जिल्ला तहको एकता टुंगो लागे पनि पोलिटब्युरो कमिटी, केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट, जनवर्गीय संगठन र स्थानीय तहको एकता भने टुंगो लाग्न बाँकी छ । ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया