एथ्लेटिक्समा आर्मी प्रथम, पुलिस दोस्रो र एपीएफ तेस्रो

 बैशाख ९, २०७६ सोमबार १३:३९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – आठौँ राष्ट्रिय खेलकुद अन्तर्गतको म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेत र नेपाल पुलिस क्लबकी राजपूरा पछाईले हात पारेका छन् ।

दाङको बेलझुण्डीमा सोमबार भएको पुरुषतर्फको म्याराथनमा आर्मीका कृष्णले दुई घण्टा १७ मिनेट ३३ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितेका हुन् । दुई घण्टा १८ मिनेट ३९ सेकेन्डमा दौड पूरा गरेका प्रदेश ६ का दुर्गा बुढाले रजत हात पारे । एपीएफका किरण सिंह बोगरीले काश्य जित्दा दुई घण्टा २२ मिनेट दश सेकेन्ड लगाए ।

त्यस्तै महिला तर्फको म्याराथनमा स्वर्ण जितेकी पुलिसकी राजमुरा पछाईले दुई घण्टा ५९ मिनेट ३८ सेकेन्डमा रेस पूरा गरिन् । रजतमा एपीएफकी पुष्पा भण्डारी र काश्य आर्मीकी सरिता बासीले जितिन् । 

बेलझुण्डी खेलमैदानबाट सुरु भएको म्याराथन बिजौरी, तुल्सीपुर बजार हुँदै डाँडाचिस, श्रीगाउँ पुन त्यहीँ रुटबाट बेलझुण्डीको मैदानमा आएर तुङ्गिएको थियो । पुरुषतर्फ १५ जना तथा ६ जना  महिला धावकले म्याराथनमा सहभागी जनाएका थिए । त्यस्तै पुरुषतर्फको चार सय मिटर रिलेमा आर्मीले स्वर्ण, एपीएफ रजत र नेपाल पुलिसले काश्य पदक जिते ।

महिलातर्फको चार सय मिटरको रिले पनि आर्मीले नै जित्दा प्रदेश पाँच रजत तथा एपीएफ काश्यमा सिमित रहे ।

पुरुष आठ सय मिटर दौड आर्मीका उमेश मर्स्याङ्दी मगरले हात पारे । उनले एक मिनेट ५७ दशमलव ६ सेकेन्डमा दूरी पार गरे ।  आर्मीकै टंक कार्कीले रजत जित्दा प्रदेश तीनका सुवास थापाले काश्य पदक जिते ।

महिलातर्फको आठ सय मिटर आर्मीकी सरस्वती भट्टराइले जितिन् । उनले स्वर्ण जित्न दुई मिनेट १६ सेकेन्डमा दूरी पूरा गर्नुपर्यो । रजत आर्मीकै सानुमाया कार्की तथा काश्य एपिएफकी फुलमती रानाले जित्न सफल भए ।

पुरुषतर्फको चार सय मिटर हडल्र्स तर्फका सबै उपाधि आर्मीले जितेको छ । नीरप्रताप महतोले स्वर्ण, जीवन चौधरीले रजत तथा अशोक कुवरले काश्य जिते । महिलातर्फको चार सय मिटर हडल्र्समा आर्मीकी तुलसा श्रेष्ठले स्वर्ण आर्मीकै तुलसा खत्रीले रजत तथा प्रदेश चारकी कल्पना श्रेष्ठले काश्य जितिन् ।

एथ्लेटिक्सको टिप च्याम्पियन त्रिभुवन आर्मी क्लब बनेको छ । आर्मीले २१ स्वर्ण, ११ रजत र ८ काश्य पदक जित्न सफल भयो । दोस्रो बनेको पुलिसले नौ स्वर्ण, पाँच रजत तथा चार काश्य जित्यो । एपिएफले सात स्वर्ण ६ रजत नौ काश्य जित्दै तेस्रो स्थान पक्का गर्‍यो । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया