हामीभित्र जम्मा भएको फोहोरमैला सफा नगरी अगाडि बढ्न सकिँदैन : प्रचण्ड

 बैशाख ९, २०७६ सोमबार १४:२६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलन सामाजिक, राजनीतिक र वैचारिक हिसाबले आक्रामक रुपमा अघि बढेको बताउनुभएको छ । 

नेपाल कम्युनिष्ट पार्टीको ७०औँ स्थापना दिवसका अवसरमा काठमाण्डौमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले  अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेपाली कम्युनिष्ट आन्दोलन आक्रामक रुपमा अगाडि बढेको बताउनु भएको छ । 

तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रको एकतापछि जिल्ला संयोजकहरु छनोट गर्नु नै आफूहरुलाई ठूलो चुनौती रहेको बताउँदै त्यो गाँठो पनि अब फुकेको उहाँले बताउनुभयो । आफूहरुले ७७ जिल्लामै अध्यक्ष र सचिवको टुंगो लगाएको भन्दै पार्टी एकताको काम लगभग सकाएको प्रचण्डले बताउनुभयो ।

आफूहरु सन्तुष्टि लिएर मात्रै बस्न नहुने भन्दै प्रचण्डले नेकपाभित्रका कमीकमजोरीलाई समीक्षा गर्दै अगाडि बढ्नु पर्ने बताउनुभयो । नेपाली कम्युनिष्ट आन्दोलनलाई विश्वले अनुकरण गर्ने गरी अगाडि बढ्नु पर्ने पनि उहाँले बताउनुभयो । विगतका विकृति र विसङ्गतिबाट शिक्षा लिँदै पार्टीलाई शुद्धीकरणको बाटोमा लैजानु पर्ने उहाँले बताउनुभयो । ‘पार्टीभित्र धेरै नै फोहोर जम्मा भएको छ । यो फोहोरमैला सफा नगरी हामी अगाडि बढ्न सकिने छैन’, प्रचण्डले भन्नुभयो । 

आफ्नो पार्टीभित्र रहेको फोहोरमैला सफा गर्न सहयोग गर्न युवा नेतृत्वलाई आह्वान गर्दै अध्यक्ष प्रचण्डले नेपालमा एउटा सांस्कृति आन्दोलन गर्दै विश्वलाई देखाउनु पर्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया