प्रहरीमाथि कारबाही गर्दा पनि सुख पाइएन : प्रहरी महानिरीक्षक खनाल

 बैशाख ९, २०७६ सोमबार १६:१२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ - प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूमाथि कामै गर्न नसकेको आरोप लागेकाे भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

प्रहरी महानिरीक्षक खनालले निर्मला पन्त हत्याकाण्डमा कमजोरी गर्ने प्रहरीमाथि कारबाही गर्दा पनि आफूले सुख नपाएको गुनासो पनि गर्नुभयो ।

आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्न सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले निर्मला हत्याकाण्डको अनुसन्धान भैरहेको स्पष्ट पार्नु भयो । 

महानिरीक्षक खनालले नेपाल प्रहरीले आफ्नो अनुसन्धानको कामलाई इमान्दारिताका साथ अघि बढाएको दाबी पनि गर्नुभयो । उहाँले आफूमाथि कामै गर्न नसकेको गुनासो आउनु न्यायोचित र तर्कसम्मत नहुने बताउनुभयो । 

प्रहरी महानिरीक्षक खनालले विध्वंसात्मक गतिविधिमा संलग्न नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जो कोहीलाई पनि कारबाही गर्ने चेतावनी दिनुभयो । उहाँले विप्लव समूहका ३ सय २६ जनालाई नियन्त्रणमा लिइएको र अन्यलाई पनि नियन्त्रणमा लिई कानुनी कारबाही हुने पनि स्पष्ट पार्नुभयो ।

प्रहरी महानिरीक्षक खनालले हत्या र यौन शोषणको आरोप लागेका रामबहादुर बम्जनविरुद्ध प्रमाण नपुगेको कारण कारबाही गर्न नसकिएको पनि स्पष्ट पार्नुभयो ।

उहाँले बम्जनविरुद्ध परेको उजुरीमाथि अनुसन्धान जारी रहेको र प्रमाण पुग्यो भने उनीमाथि कारबाही हुने पनि बताउनुभयो ।

प्रहरी महानिरीक्षक खनालले अपराध नियन्त्रणका लागि सहकार्य गर्न पनि नागरिक समाजलाई पुनः अपिल गर्नुभयो ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया