उठ्यो तेम्बाथाङ बस्ती : एकै रङको छाना, उस्तै झ्याल, उस्तै ढोकाका बुट्टा

 बैशाख ९, २०७६ सोमबार १७:४:४१ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डौ – एकै रङको जस्ताका छाना, उस्तै बुट्टा कुँदिएका झ्याल, ढोकाले सिङगो बस्ती सजिएको छ । 

हरिया जस्ता लगाएका एकैनासका ४० वटा घर बनेका छन् । तीन कोठासहितका एक तले घरले बस्ती निक्कै आकर्षक देखिएको छ । छिमेकी र आफ्नो उस्तै घर बनेपछि सबै दंग छन् । ह्योल्मो संस्कृति झल्कने गरी सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका एकमा तेम्बाथाङ एकीकृत बस्ती निर्माण भएको हो । नयाँ जस्तामा तेम्बाथाङ बस्ती टलक्क टल्किएको छ । 

चार वर्ष लामो प्रयास

पर्यटकीय क्षेत्र हेलम्बुको तेम्बाथाङ २०७२ सालको भूकम्पपछि तहसनहस भयो । लगत्तै एकीकृत बस्ती बनाउने प्रक्रिया सुरु भयोे । तर प्रक्रियामै तीन वर्ष बित्यो । सबै प्रक्रिया सकेर अघिल्लो वर्ष माघ २५ गतेदेखि घर निर्माणको काम सुरु भएको हो । 

विभिन्न जटिलता झेलेरै अहिले तेम्बाथाङ एकीकृत बस्ती ठडिएको छ । सोमबार ह्योल्मो संस्कृतिअनुसार पूजा गरेर भूकम्प प्रभावित घरभित्र पसेका छन् । तेम्बाथान एकीकृत बस्ती विकास परियोजनाका अध्यक्ष साङगे लामा आफैै पनि भूकम्प प्रभावित हुनुहुन्छ ।

बस्तीमा बनिसकेका ४० घरमध्ये एउटा उहाँको हो । भूकम्पअघि पनि आफ्नै संस्कृतिका घर थिए अहिले एकीकृत बस्ती पनि उस्तै संस्कृति झल्कनेगरी बनाएको अध्यक्ष लामाले बताउनुभयो । तेम्बाथाङ एकीकृत बस्तीमा ४४ वटा घर बनाउने लक्ष्य भए पनि अहिले ४० वटा बनाएर घरभित्र पसेको उहाँले बताउनुभयो । 

यसरी बन्यो बस्ती

घरको गाह्रोमा इन्टरब्लक इँटाको प्रयोग गरिएको छ । घर निर्माणमा प्रयोग भएका इँटा स्थानीय बासिन्दा आफैले बनाएका हुन् । लाभग्राहीले १ सय ५० दिन श्रमदान गरेका छन् । सबै घरहरुमा खानेपानीका धारा र शौचालयको व्यवस्था गरिएको छ । नयाँ घर तथा संरचना भूकम्प प्रतिरोधी नै बनेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट हेलम्बु गाउँपालिका एकमा खटिएका इन्जिनियर नारायण अधिकारीले बताउनुभयो ।

४२ रोपनीमा फैलिएको बस्ती राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, हेलम्बु गाउँपालिका तथा स्थानीयको पहलमा बनेको हेलम्बु गाउँपालिका एकका वडाअध्यक्ष मिङमार लामाले बताउनुभयो । गाउँपालिकाले बुट्टेदार झ्यालढोका बनाउन सहयोग गरेको थियो ।

छेकेन भौगोलिक जटिलताले

सुरुमा सिङगो बस्ती कसरी बन्ला भन्ने चिन्ता थियो । निर्माण सामग्री जुटाउन पनि अरु भूकम्प प्रभावितले जस्तै समस्या भोग्नुप¥यो । अझै समस्या बर्खा र हिउँले काम गर्न चुनौती थियो । तर काम सुरु भएपछि भने भौगोलिक जटिलताले छेकेन । बर्खा र हिउँ पर्ने समयको चुनौतीसमेत पार गरेर अहिले एकीकृत बस्ती बनेपछि भूकम्प अघिकै खुशी फर्किएको छ ।

फर्कियो रौनक

एकीकृत बस्तीमा थप ४ वटा होमस्टे खोलिनेछ । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुनेछ । एकीकृत बस्ती निर्माणमा जुट्नुभएका साङगे लामाले भन्नुभयो, ‘एकीकृत बस्ती भित्रै विद्यालय र स्वास्थ्य चौकी पनि बनाउने लक्ष्य रहेको छ । दुःखसुख गरी भूकम्प अघिको रौनक फर्काएका छाैँ, आशा छ पर्यटकको चहल पहल हुन थालेपछि अर्को रौनक पनि फर्कनेछ ।’
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया