ललितपुरमा साइकल मार्ग विकास गर्ने योजना

 बैशाख १०, २०७६ मंगलबार ७:२७:२७ | रासस
unn.prixa.net

ललितपुर – ललितपुर महानगरपालिकाले नगरका भित्री भागमा साइकल मार्ग विकास गर्ने योजना अगाडि बढाएको छ । 

यसका लागि सम्भाव्यता अध्ययन गर्ने जिम्मेवारी नेपाल साइकल सोसाइटीलाई दिएको महानगरपालिकाले जनाएको छ । यहाँका ठूला सडकमा साइकल लेन निर्माणका लागि अध्ययन सुरु भएको र यसका लागि चालू आर्थिक वर्षको बजेटमा रु १० लाख विनियोजन भएको महानगरपालिकाले जनाएको छ । 

पहिलो चरणमा विशेषगरी कुपण्डोलदेखि लगनखेलसम्म तथा पुल्चोकदेखि मङ्गलबजारसम्मको सडकमा साइकल लेन निर्माण गर्ने योजना अगाडि बढाएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘साइकल लेनका लागि यी दुई स्थान उपयुक्त हो कि होइन, यस बाहेक अन्य स्थानमा पनि साइकल लेनको सम्भावना कतिको छ भन्ने विषय अध्ययनपछि मात्र थाहा हुन्छ ।’ साइकल लेनका लागि आगामी वर्षमा पनि बजेट विनियोजन हुने उहाँले बताउनुभयो ।

पर्यटकीय गन्तव्यका लागि पर्यटकीय बस सञ्चालनको योजना पनि रहेको प्रवक्ता महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘महानगरपालिकाले वातावरणमैत्री सवारी साधनको प्रयोग बढाउने र पर्यटकलाई सुविधा दिने विषयमा गम्भीर छ ।’
 

अन्तिम अपडेट: असार ६, २०७६

तपाईको प्रतिक्रिया