श्रीलङ्कामा सङ्कटकालको घोषणा, इस्लामिक समूहप्रति आशंका

 बैशाख १०, २०७६ मंगलबार ९:२:५७ | रासस
unn.prixa.net

श्रीलङ्कामा भएको शृङ्खलाबद्ध विस्फोटमा परी सयौँको मृत्यु भएपछि सङ्कटकालको घोषणा गरिएको छ । राष्ट्रपति मैत्रिपाला सिरिसेनाको कार्यालयद्वारा सोमबार जारी वक्तव्यका अनुसार सोमबार रातिदेखि लागू हुनेगरी सङ्कटकाल घोषणा गरिएको हो ।

श्रीलङ्कामा आइतबार भएका विस्फोटनका घटनाहरुमा परी २९० जनाको ज्यान गएपछि स्थितिलाई नियन्त्रणमा लिन सङ्कटकालको घोषणा गरिएको हो । राष्ट्रपति कार्यालयको सञ्चार विभागद्वारा जारी वक्तव्यमा नागरिकको सुरक्षा सुनिश्चितताका लागि सङ्कटकाल घोषणा गरिएको उल्लेख छ ।

राष्ट्रपति सिरिसेनाले अप्रिल २३ का दिन राष्ट्रिय शोक मनाउने घोषणा पनि गरेको सञ्चार विभागले जनाएको छ ।

बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । चर्चमा विस्फोट हुँदा इसाई धर्मावलम्बी इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भइरहेका थिए । 

राजधानी कोलम्बोमा रहेका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघर (चर्च)मा आइतबार भएका शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको सङ्ख्या सोमबार मध्यान्हसम्म २९० जना पुगेको प्रहरीले जनाएको छ । 

घटनामा परी अन्य पाँच सय भन्दा बढी घाइते भएका छन् भने केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङख्या बढ्न सक्ने बताइएको छ । 

श्रीलङ्काली सुरक्षा निकायहरूले घटनाका दोषीहरूको खोजी गर्न व्यापकरूपमा सुरक्षाकर्मी परिचालन गरेका छन् । प्रहरीका अनुसार विस्फोटनमा संलग्न भएको आशङ्कामा अहिलेसम्म २४ जनालाई पक्राउ गरिएको छ । 

स्वास्थ्य मन्त्री रजिथा सेनारत्नेले स्थानीय अतिवादी इस्लामिक समूह राष्ट्रिय तोव्हीड जमात यस विस्फोटनमा जिम्मेवार रहेको बताएका छन् । उनले घटनाबारेमा अनुसन्धान भइरहेको र अन्तर्राष्ट्रिय समूहहरूको पनि संलग्नता रहेको हुनसक्ने आशङ्का व्यक्त गरेका छन् ।  

घटनामा भारतीय, अमेरिकी, बेलायती, जापानी समेतका ३७ जना विदेशी नागरिक पनि रहेको श्रीलङ्काको विदेश मन्त्रालयले जनाएको छ । 

राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा बिस्फोट गराइएका थिए । यस्तै राजधानीका पाँचतारे होटल साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि विस्फोट भएका थिए ।

सुरक्षाकर्मीहरुले राजधानी स्थीत बसपार्कबाट सोमबार साना ठूला गरी ८७ ओटा विस्फोटक पदार्थहरु फेला परेको जनाएका छन् ।

 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया