रामेछापमा पाइलटको बसाइ : उडानको भर छैन, होटलको डर छैन

 बैशाख १०, २०७६ मंगलबार ९:२४:२७ | अर्जुन पोख्रेल
unn.prixa.net

रामेछाप – काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच फेर्न अहिले विमानस्थल १० घन्टा बन्द हुँदै आएको छ । काठमाण्डौको चाप कम गर्न लुक्ला जाने विमानलाई रामेछापको मन्थलीबाट पठाउने व्यवस्था गरिएको छ । 

रामेछापबाट लुक्लाका लागि अहिले दैनिक ४६ वटासम्म उडान भएपछि धेरै पाइलटहरु रामेछापका होटलमा बस्दै आएका छन् । पाइलट सुविधाभोगी हुन्छन् भन्ने गरिन्छ । सर्वसाधारणसँग झट्ट नजिक नपर्ने भएकाले उनीहरुको बानी, व्यवहार कस्तो हुन्छ, कस्तो ठाउँमा  बस्छन होला भन्ने धेरैलाई चासो पनि लाग्छ ।

रामेछापमा पनि धेरै पाइलट बास बस्छन् भन्ने सुनेका मन्थलीबासीले झट्ट पाइलटलाई भेट्न पाउँदैनन् । तर पाइलटहरु होटलमै बसेका हुन्छन् ।

अहिले रामेछापबाट लुक्लाको लागि दैनिक ४६ वटासम्म उडान  हुँदै आएका छन् । नेपाल नागरिक उडड्यन प्राधिकरणको नियम अनुसार एउटा पाइलटले पाँच वटाभन्दा धेरै उडान र अवतरण गर्न पाउँदैन । त्यसैले रामेछापबाट उडान गर्दै आएका तारा, समिट, सीता एअरलाइन्सले जगेडा पाइलट राख्नैपर्छ । त्यसैले मन्थलीमा दैनिक १० जना जति पाइलट बास बस्नुपर्छ । सुरुमा उनीहरुलाई पनि मन्थलीमा कसरी बास बस्ने होला भन्ने पीर पथ्र्यो । तर उनीहरुले रामेछापमा सुविधाजनक होटल पाएका छन् ।

मन्थलीका होटलमा कम छैन सुविधा

बिहान पौने ६ बजे नै रामेछापको मन्थलीमा रहेको रामेछाप विमानस्थलमा जहाजको उडान र अवतरण सुरु भैसक्छ । बिहान सबेरै उडान गर्नुपर्ने भएकाले चारवटा विमान कम्पनीका पाइलटहरु रामेछापको मन्थलीमै बस्छन् । 

रामेछापका ठूला होटलमा पाइलटका बास हुन्छ । मन्थलीमा पनि पाइलटहरु बस्नयोग्य होटल छन् त भनेर धेरैलाई लाग्न सक्छ । तर झण्डै एक महिनादेखि मन्थलीको होटल पाहुनाघरमा बसेका समिट एअरका पाइलट मणि शेरचनलाई त्यस्तो लागेन । उहाँलाई मन्थलीका होटलमा राम्रो सुविधा मिलेको छ ।

‘हामीले सुन्दा मन्थली कता हो कता भन्ने लाग्थ्यो, यहाँ खास के सुविधा होला र भन्ने लाग्थ्यो,  तर हामीले सुने भन्दा धेरै राम्रो रहेछ ।’ पाइलट शेरचनले उज्यालो अनलाइनसँग भन्नुभयो । फ्लाइट नभएको बेलामा घुमघामको  लागि पनि मन्थली उत्तम रहेको पाइलटको अनुभव छ । ‘फ्लाइट नभएको बेला तामाकोशीको किनारमा गएर टहलिन मज्जा आउँछ, मन्थलीमा न्यास्रो लाग्ने वातावरण छैन’ मणिले थप्नुभयो ।

मन्थलीमै बस्दै आएका अर्का पाइलट अभिनन्दन खड्कालाई पनि सुनेको मन्थली र देखेको मन्थली फरक लागेको छ । ‘पहिले फ्लाइटको लागि रामेछाप आए पनि यहाँ बसेको थिएन, साथीहरुले खास राम्रो छैन भन्थे, तर अहिले यहाँ बस्दा त्यस्तो लागेन राम्रो लाग्यो, सुविधा ठिक छ, व्यवहार पनि आत्मीय छ’  पाइलट अभिनन्दनले भन्नुभयो । 

मन्थलीका होटलमा सुविधा थप्न दबाब

मन्थलीमा एक सय हाराहारीमा होटल छन् । त्यसमा ५० वटा कोठा एसी भएका, दुई सय वटा कोठाभित्रै शौचालय भएका अर्थात एट्याच कोठा र अरु सामान्य कोठा छन् । सबै होटलले एसी भएका प्रतिकोठा २५ सय रुपैयाँ भाडा तोकेका छन् । केही होटल त ट्राभल र विमान कम्पनीले तीन महिनासम्मको लागि बुकिङ गरेका छन् । लुक्लामा मौसम बदली हुनेबित्तिकै मन्थलीका होटलले विदेशी पाहुना धान्न मुश्किल पर्छ ।

त्यसैले पाइलटलाई व्यवस्थापन गर्न अप्ठ्यारो पनि हुन्छ । तर पाइलटहरुले पनि समस्या बुझिदिने बताउनुहुन्छ रामेछाप होटल संघका अध्यक्ष तथा एसएस एभरग्रीन होटलका सञ्चालक शेखरमान श्रेष्ठ ।
सँगसँगै मन्थलीका होटलमा सुविधा थप्न दबाब बढेको पनि उहाँको भनाइ छ । ‘हामीले आफ्नै पाराले होटल चलाइरहेका थियौं, अहिले अचानक लुक्लाका उडान यहाँबाट भए, त्यसैले पर्यटक र पाइलटको चाप छ, अब अरु बेला पनि यस्तो चाप हुन सक्छ, त्यसैले होटलमा सेवा सुविधा बढाउनुपर्ने महसुस गरेका छौं’ श्रेष्ठले भन्नुभयो । 

उडानको भर छैन

लुक्लाको मौसम अलिकति बिग्रियो भने त्यसको सिधा असर मन्थलीमा पर्छ । मौसम राम्रो हुँदा र मनग्य पर्यटक हुँदा मन्थलीबाट ४६ वटासम्म उडान लुक्लाको लागि भएका छन् । लुक्लाको मौसम प्रायः बिहान १० बजेसम्म सफा हुने भएकाले बिहान १० बजेअघि नै उडान गरिसक्नुपर्छ ।

सामान्य बदली भएमा पनि लुक्लामा उडान नहुने भएकाले मन्थली जतिबेला पनि चापको लागि तयार रहनुपर्छ । केही कारणले लुक्ला उडान भएन भने लुक्लामा पर्यटक खचाखच हुन्छन् । उनीहरुको व्यवस्थापन गर्न केही एअरलाइन्सले बारीमा पनि टेन्ट हालेर राख्ने गरेका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया