घर त बने, तर मेटियो पहिचान

 बैशाख १२, २०७६ बिहिबार ९:४०:५९ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डौ – रसुवा कालिका गाउँपालिका ३ का रामशरण कुइँकेल अहिले पनि घर बनाउने काममा नै व्यस्त हुनुहुन्छ । भूकम्पले उहाँका दुईवटा घर लडे । झण्डै तीन वर्ष अस्थायी आवासमा बिताउनुपर्‍यो ।

अहिले एउटा घर बनिसकेको छ । नयाँ घरमा सरेपछि अर्को घरको काम भैरहेको छ । उहाँजस्तै रसुवामा १२ हजार ५ सय प्रभावित छन् । तर अहिलेसम्म ९ हजार ६ सयले घर बनाएका छन् । 

रसुवाको गत्लाङ फेरियो

झण्डै तीनसय बस्ती रहेको रसुवाको गत्लाङमा भूकम्पपछि घर बने । तर परम्परागत काठका छाना भने फेरिए । अहिले टलक्क टल्कने जस्ताको छानाले गाउँ टल्किएको गत्लाङकी झोल्मो तामाङको गुनासो छ । 

भूकम्पअघि सबैजसो घरमा ढुङगा छिनेर बनाइएको गारो र काठको छाना थियो । तर भूकम्पपछिको तीन वर्षमै गाउँको पहिचान मेटिन थालेको स्थानीयबासिन्दाको गुनासो छ । यसको मुख्य कारण सरकारी मापदण्डले स्थानीयको परम्परागत शैली समेट्न सकेन ।

गोरखाको बारपाक फेरियो

२०७२ साल वैशाख १२ गतेको भूकम्पको केन्द्रबिन्दु गोरखामा पनि अहिले धमाधम घर बनिरहेका छन् । गोरखामा मात्रै ६५ हजार ६ सय लाभग्राही छन् । तीमध्ये ४४ हजार २ सयले घर बनाए । अरु पनि घर बनाउने क्रममै छन् । चार वर्ष अघिको भूकम्प सम्झँदै बारपाककी रोशनी घले भन्नुहुन्छ, ‘आँखै अगाडि खण्डहर बनेको बारपाक अहिले सग्लो बन्यो ।’

भूकम्पको केन्द्रबिन्दु बारपाकमा ७२ जनाले ज्यान गुमाए । झण्डै १४ सयमध्ये १३ सयभन्दा बढी घर भत्किएका थिए ।

बारपाकमा अहिले नयाँ घर बनेका छन् । तर ढुंगा माटोले बनेका र ढुंगाले छाएका एकैनासका घरको झुरुप्प बस्तीको मौलिकता पनि पुनर्निर्माणसँगै हराएको छ ।

गाउँ गाउँमा पक्की घर

रसुवाको गत्लाङ, गोरखाको बारपाक मात्रै होइन भूकम्प प्रभावित गाउँ गाउँमा अहिले नयाँ र् पक्की घर बनेका छन् । सिन्धुपाल्चोकमा ८८ हजार २ सय लाभग्राहीमध्ये ५९ हजार ५ सयले घर बनाएको तथ्याङक छ । नुवाकोटमा झण्डै ७५ हजारमध्ये ४६ हजारको संख्यामा घर बनिसकेका छन् ।

भूकम्प अति प्रभावित अर्को जिल्ला धादिङमा पनि भत्किएका ८३ हजारमध्ये झण्डै ४२ हजार आफ्नै घरभित्र बस्न थालिसके । दोलखामा ६९ हजार ६ सयमध्ये ४४ हजार ५ सय भूकम्प प्रभावितको घर बनिसकेको छ ।

रामेछापमा पनि नयाँ घर बनेका छन् । झण्डै ४८ हजार ८ सय लाभग्राहीमध्ये रामेछापमा ३० हजार ७ सयले घर बनाएका छन् । काभ्रेमा ८३ हजारमध्ये २६ हजार ७ सयले घर बनाए । सिन्धुलीमा झण्डै ३८ हजार भूकम्प प्रभावित लाभग्राही सूचीमा छन् । अहिलेसम्म १२ हजार ५ सयले घर बनाएको तथ्याङक छ ।

त्यस्तै मकवानपुरमा ३४ हजारमध्ये ११ हजार ६ सय र ओखलढुङगामा २१ हजारमध्ये १३ हजार ५ सय भूकम्प प्रभावितले घर बनाएका छन् । काठमाण्डौमा ४८ हजार ३ सय मध्ये ९ हजार ९ सय, ललितपुरमा २८ हजार ३ सयमध्ये ३ हजार ५ सय र भक्तपुरमा २८ हजार ३ सय मध्ये ७ हजार ३ सय घर बनेको प्राधिकरणको तथ्याङक छ ।

निजी आवासमा ८० प्रतिशत प्रगति : प्राधिकरण

भूकम्प र परकम्पले क्षति गरेका झण्डै ८ लाख २५ हजार घरमध्ये तीन लाख ८२ हजार घर बनेका र २ लाख ३० हजार बन्दै गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । सरकारको घर बनाउने प्रभावितलाई तीन लाख रुपैयाँ आर्थिक तथा प्राविधिक सहयोग समेत गरेको छ ।

अघिल्लो वर्षदेखि जनप्रतिनिधिले समेत पुनर्निर्माणमा समन्वय गर्दै आएका छन् । तीन तहका सरकार पुनर्निर्माणमा जुटेपछि निजी आवासले गति लिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनुभयो ।

 

अन्तिम अपडेट: चैत २३, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया