तपाइँको मोबाइल हरायो ? कहाँ उजुरी गर्ने ?

 बैशाख १५, २०७६ आइतबार १३:३३:१५ | साजन सुबेदी
unn.prixa.net

काठमाण्डाै- हिजोआज मोबाइल फोन नबोक्ने मान्छे कमै होलान् । कतिपयले त दुई–तीन वटासम्म मोबाइल सेट बोकेर हिँडेको देखिन्छ । अत्याधुनिक प्रविधिका स्मार्टफोन बोक्नु सामान्य जस्तै भइसक्यो । नेपाली बजारमा उपलब्ध भएकाले आफ्नो बजेट तथा इच्छाअनुसारको स्मार्टफोन प्रयोग गर्नेको संख्या धेरै छ ।

उपलब्धता, क्रयशक्ति तथा उपयोगमा वृद्धि हुन थालेपछि मोबाइल फोन हराउने तथा चोरी हुने क्रम पनि उत्तिकै बढेको छ । सामान्यतया अहिलेका स्मार्टफोनको आकार ठूलो हुने तथा फोटो खिच्ने, कुरा गर्ने तथा गेम खेल्ने क्रममा अधिकांश समय मानिसले प्रयोग गरिरहने भएकाले कतै छोडिने वा खल्तीबाट खसेर पनि हराउने सम्भावना बढ्दै गएको छ । साथै महंगा र आधुनिक फोनहरुको राम्रै मूल्य पर्ने भएकाले बिक्री गर्ने उद्देश्यले व्यक्ति वा गिरोहले नै पनि भिडभाड सवारी साधन तथा एकान्तमा भेट्दा लुट्ने प्रवृत्ति पनि बढेको छ ।

यसरी हराएका, चोरिएका वा लुटिएका मोबाइलहरु आखिर जान्छन् कहाँ ? भेट्ने चोर्ने वा लुट्नेले आफै चलाउँछन् या बिक्री गर्छन् ? भने कुन माध्यमबाट गर्छन् ? त्यस्ता सामानका ग्राहक कस्ता हुन्छन् ? उनीहरुले जानी जानी किन्छन् वा कम मूल्यमा झुक्याएर बेचिन्छ ?

हराए वा चोरी भएमा उजुरी गर्ने प्रकृया के कस्तो छ ? उजुरी गरेपछि भेटिने सम्भावना कत्तिको छ कति समय लाग्छ प्रकृया झण्झटिलो छ या सहजै भेट्टाउने वातावरण छ ? यी र यस्ता अनगिन्ती प्रश्नहरु हामी सबैका मनमा उब्जिन सक्छ ।

कति हराउँछन् मोबाइल ?

आर्थिक वर्ष २०७५/७६ को तथ्यांक हेर्ने हो भने एक महिनामा कम्तीमा एघार सयदेखि सोह्र सयसम्म मोबाइल हराएको रेकर्ड छ । यो तथ्यांक महानगरीय प्रहरी परिसरको मोबाइल खोजतलास शाखामा रीतपूर्वक आएका उजुरीहरुको मात्र हो । हराएपछि उजुरी गर्ने निकाय पनि छ र उजुरी गर्दा भेटिने सम्भावना पनि छ भन्ने थाहा नै नभएका र थाहा भएर पनि उजुरी गरे पनि हराइसकेको माल भेटिने होइन भनेर प्रकृयामै नजाने प्रयोगकर्ता त झन् कति होलान् ।

उजुरी कहाँ गर्ने ?

मोबाइल हराएको, चोरी वा लुटपाट भएको थाहा पाउनेबित्तिकै सम्बन्धित सेवा प्रदायक संस्थाबाट सिम ब्लक गर्न लगाएर महानगरीय प्रहरी महाशाखा त्रिपुरेश्वरको मोबाइल खोजतलास शाखामा मोबाइलको आईएमईआई नम्बर वा मोबाइलको बक्स र मोबाइल खरिद गरेको आधिकारिक बिलसहित निवेदन दिनुपर्छ । दर्ता नम्बरसहितको चिट दिएर कम्तीमा १५ दिनपछि सम्पर्क गर्नुपर्छ ।

खोजतलासको प्रक्रिया 

दैनिक रीत पुर्याएर दैनिक रुपमा आएका उजुरीहरु आधिकारिक आईएमईआई ट्रेस गर्ने अनुमतिका लागि अदालतमा पठाइन्छ र अनुमतिको तोक लागेर आएका आईएमईआई ट्रेस गर्न सहयोगका लागि प्रयोग भएका सिमअनुसार सम्बन्धित टेलिकम संस्थाहरुसँग समन्वय गरी चोरिएका वा भेटिएका मोबाइल सेटहरु प्रयोग भइरहेको खण्डमा प्रयोगकर्तालाई परिसरमा हाजिर गराइनुका साथै मोबाइल सेट जफत गरी सम्बन्धित उजुरीकर्तालाई खबर गरी हस्तान्तरण गरिन्छ ।

हराएपछि भेटिने सम्भावना कत्तिको छ ?

भक्तपुरकी विन्द्रा श्रेष्ठको मोबाइन कलंकीबाट रत्नपार्क जाने बसमा चोरी भयो । तुरुन्तै टेकुमा रहेको मोबाइल खोजतलास शाखामा उजुरी दिनुभयो । २ महिनासम्म ताकेता गर्नुभयो तर पत्ता लागेन । घरीघरी फलोअप गर्ने र पत्ता लाग्ने सम्भावना खासै नदेखिएपछि उहाँले ताकेता गर्नुभन्दा अर्को मोबाइल किन्नु ठिक सोच्नुभयो । 

यसरी मोबाइल हराएर पहिलोपटक उजुरी गर्नेदेखि १५ दिन वा १ महिने फलोअपमा आउनेहरुको दैनिक लर्को लाग्ने गरेको छ । यसरी मोबाइल हराएको उजुरीको दश प्रतिशतको हाराहारीमा मात्र मोबाइल भेट्टाइने गरेको प्रहरीको भनाइ छ ।

भेटिने सम्भावना किन थोरै भयो त भन्ने प्रश्नमा महानगरीय प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटी भन्नुहुन्छ, ‘चोरिएका मोबाइल यताबाट भारत पुर्‍याइन्छ, त्यसपछि भेटिने सम्भावना रहँदैन ।’ 

   
 

 


 

अन्तिम अपडेट: चैत १५, २०८०

साजन सुबेदी

 प्रविधि र न्यूमिडियामा रुची राख्ने सुबेदी उज्यालोमा कार्यरत हुनुहुन्छ । 

1 Comments

  • sakas

    May 14, 2019, 12:42 p.m.

    खै, ५ बर्ष भयो हराएको, अत्तोपत्तो छैन /

  •  0 Reply

तपाईको प्रतिक्रिया