अनुमानकारिता र हनुमानकारिताभन्दा पर !

 बैशाख १६, २०७६ सोमबार ११:२०:५ | सम्पादकीय
unn.prixa.net

२१ वर्षअघि नेपालमा एउटा मात्र रेडियो स्टेशन थियो – रेडियो नेपाल । अहिले जस्तो निजी क्षेत्रबाट एफ. एम. रेडियो र टेलिभिजन थिएनन्, अनलाइन पत्रिका त कल्पना बाहिरै थिए ।

दूरदराजका स्रोता र दर्शक सरकारी बोलीमात्र बोल्ने रेडियो नेपाल सुन्न र नेपाल टेलिभिजन हेर्न बाध्य थिए, तर तिनले भनेको र देखाएको पत्याउन सक्दैनथे । 

आम नागरिकमा स्वतन्त्र सूचना र समाचारको भोक थियो, तर भोक मेट्ने भरपर्दो माध्यम र विकल्प थिएन । यो भोक मेटाउन हामीले क्यासेट पत्रिका, अडियो टावर र रेडियो कार्यक्रम खोजखबर जस्ता अभ्यास गरेका थियौं । हामी त्यही अभ्यासलाई संगठित गरी नागरिकको त्यो भोक मेट्ने निधोमा पुग्यौं । 

यो निधोमा पुगेपछि २१ वर्षअघि (२०५५ साल वैशाख १६ गते) कै दिन विधिवत रुपमा दर्ता भएको हो, कम्यूनिकेसन कर्नर प्रा.लि. । कम्यूनिकेसन कर्नरको विकास र विस्तारसँगै हिजोआज हामीले उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन सञ्चालन गर्दै आएका छौँ ।  

संस्था स्थापना गर्दा हाम्रा उद्देश्य, मूल्य र मान्यताहरु स्पष्ट थिए । हामी स्पष्ट थियौँ – स्वतन्त्र समाचार र विचारले मात्र आम नागरिकलाई आफ्नो विषयमा निर्णय गर्न सक्षम र समर्थ बनाउँछ । 

नीति निर्माता र आम नागरिकका समस्याबीचको खाडल पूरा गर्न स्वतन्त्र र सार्थक संवाद आवश्यक छ र यसका लागि मिडियामा नागरिकको पहुँच हुनै पर्छ । अनि, पहुँचबाट वञ्चित नागरिकको मिडिया सहभागिताले मात्र आमसञ्चार माध्यमलाई निष्पक्ष, स्वतन्त्र र सार्थक बनाउँछ भन्ने मूल्य र मान्यतामा अडिग रहेर हामीले यात्रा सुरु गर्‍यौं । 

अनुमानकारिता र हनुमानकारिता हावी हुँदै गएको नेपालको अहिलेको पत्रकारितामा आज पनि हामी ती मूल्य मान्यताप्रति त्यत्तिकै अडिग छौँ, जति आजभन्दा २१ वर्षअघि संस्थागत रुपले काम सुरु गर्दाका दिनमा थियौं । 

श्रोता, पाठक र दर्शकको विश्वास, भरोसा र सहयोग हामीले दुई दशकमा कमाएको सबैभन्दा ठूलो सम्पति हो । सूचना र समाचारको विश्वसनियतामार्फत तपाईँको निरन्तर साथ र सहयोगमा हामी यो पूँजी थप्दै लैजान प्रतिबध्द छौं ।

बितेका २१ वर्षमा नेपाल, नेपाली समाज र नेपाली नागरिक तीव्र उतारचढावका परिवर्तनबाट अघि बढेका छन् । यी परिवर्तनमा नेपाली समाजको सांस्कृतिक, आर्थिक, सामाजिक र राजनीतिक शक्तिको संरचना भत्किएको छ । समाजका अनेकौं मूल्य र मान्यताहरु भत्केका छन् ।

लामो राजनीतिक अन्यौल, अस्थिरता र हिंसात्मक द्वन्द्वबाट माथि उठ्न कोसिस गर्दागर्दै पनि आज धेरै नेपालीको मनमा नेपाल अघि बढ्दैछ कि अझै पछि धकेलिंदैछ भन्ने संशय र आशंका बाँकी छ । भ्रष्टाचार, दण्डहीनता र अराजकताका कारण नागरिक एकमाथि अर्को भुक्तमानले थिचिएका छन् । नेता र नीतिहरु यस अवधिमा धेरै फेरिएका छन् । तर शासन गर्नेहरुको नियत पहिले मात्र कालो थिएन, अहिले पनि त्यो कालो नियत खैरो भएको छैन ।

सूचना प्रविधिमा आएका नयाँ र नौला अभ्यासहरुले आज नागरिकसित आफूलाई मन लागेको भन्न, लेख्न र प्रकाशन गर्न अनेक उपायहरु छन् । तर स्वतन्त्र पत्रकारिताबिना सामाजिक सञ्जालहरुले नागरिकको स्वतन्त्र र निष्पक्ष सूचनाको भोक मेटाउन सक्दैनन् भन्ने कुरामा आज पनि हामी स्पष्ट छौँ ।

त्यसैले हामीलाई भन्न मन लागेको छ – रेडियो र अनलाइन पत्रकारितामार्फत स्वतन्त्र सूचना, समाचार र विचार दिएर नागरिकलाई सक्षम र समर्थ बनाउने हिजोको हाम्रो चुनौती आज पनि यथावत छ । हामी स्पष्ट छौँ, नेपाली समाज अहिले अनेक चुनौती र अवसरका बीचबाट अघि बढ्दैछ र हामी त्यही समाजको एक अंङ्ग हौँ । अहिलेका चुनौतीहरुले हामीलाई समाजको साथी र सारथी बन्ने अनेक अवसरहरु पनि खोलिदिएका छन् । 

यिनै अवसर र चुनौतीका बीच हाम्रो रेडियो तथा डिजिटल पत्रकारिताको यात्राले २१ वर्ष पूरा गरी २२ वर्षमा पाइला टेकेको छ । यस अवधिमा आएका धेरै रेडियो, टेलिभिजन र पत्रिकाहरु श्रोता, पाठक तथा दर्शकको विश्वास नपाएर, अनि शुभेच्छुक तथा सहयोगीहरुको साथ नपाएर जसरी उदाएका थिए त्यसैगरी अस्ताएका पनि छन् । स्रोता, पाठक तथा दर्शकको विश्वासले नै हामीलाई अघि बढाएको हो । शुभेच्छुक तथा सहयोगीहरुको साथ पाएर मात्र हामीले बितेका २१ वर्ष सजिलै पार गरेका छौं । 

श्रोता, पाठक र दर्शकको विश्वास, भरोसा र सहयोग हामीले दुई दशकमा कमाएको सबैभन्दा ठूलो सम्पति हो । सूचना र समाचारको विश्वसनियतामार्फत तपाईँको निरन्तर साथ र सहयोगमा हामी यो पूँजी थप्दै लैजान प्रतिबध्द छौं । नेपाली समाजलाई अघि बढाउने स्वतन्त्र सूचना र विचार लिएर हरक्षण तपाईँसित संवाद गर्न हामी हिजोभन्दा आज अझै बढी प्रतिबद्ध छौँ । 

बितेका २१ वर्षमा हामीले पाएको तपाईँको साथ, सहयोग, भरथेग र हौसलाका लागि हामी हृदयबाट आभार प्रकट गर्दछौँ । र, हावी हुँदै गएको अनुमानकारिता र हनुमानकारिताभन्दा माथि उठेर आउँदा दिनहरुमा नागरिक सरोकारका हरेक विषयमा अझै परिष्कृत, विश्वसनीय र कामलाग्दा सूचना तथा सामग्री दिएर नेपाल र नेपालीलाई सक्षम र समर्थ बनाउने प्रण गर्दछौं ।


 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया