भारतीय लाेकसभा चुनाव : बाँकेपारि गर्जिए मोदी र प्रियंका

 बैशाख १७, २०७६ मंगलबार १९:०:० | गोविन्द शर्मा
unn.prixa.net

बाँके – भारतमा लोकसभा निर्वाचनका ५४३ क्षेत्रमध्ये सबैभन्दा बढी उत्तर प्रदेशमा(यूपी) ८० सिट छ । भारतको केन्द्रीय सरकार निर्माणमा प्रमुख भूमिका निर्वाह गर्ने भएका कारण प्रमुख राजनीतिक दलको ध्यान यूपीमा केन्द्रित भएको छ ।  बहराइचमा ६ मे मा मतदान हुँदैछ । 

मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाँकेको सीमावर्ती जिल्ला बहराइचमा सभा गरेका छन् । मंगलबारको सभामा प्रधानमन्त्री नरेन्द्र मोदीले समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीको गठबन्धनको आलोचना गरे । यी दलले सधैँ विभाजनको राजनीति गरेको आरोप लगाउँदै मोदीले गठबन्धन मे २३ मा समाप्त हुने बताए । 

साथै उनले कांग्रेस–सपा–बसपा गठबन्धनले बलियो सरकार दिन नसक्ने बताउँदै २०१९ को लोकसभा चुनावले नै भारत ‘सुपरपावर’ बन्ने नबन्ने कुराको फैसला हुने मोदीले बताए । साथै आंतकवादले मानिसको ज्यान मात्रै लिने नभई देशको विकासको गतिलाई समेत रोक्ने बताउँदै मोदीले सपा–बसपालगायतका पार्टीहरु यो मुद्दामा गम्भीर नभएको आरोप पनि मोदीले लगाए । 

केही दिनअघि कांग्रेस महामन्त्री प्रियंका गान्धीले नेपालगञ्जनजिकको बजार नानपारामा सभा गरिन् । सभामा उनले प्रधानमन्त्री नरेन्द्र मोदीले विकासका मुद्दामा काम नगरेको आरोप लगाएकी थिइन् । उनले आफूहरुले कहिल्यै पनि मोदीको जातको बारेमा कुरा नगरेको बताउँदै विकासका बारेमा गरेका वाचाबारे मात्रै प्रश्न उठाएको बताइन् । उनले मोदीको राष्ट्रवादको मुद्दाबारे प्रश्न गरिन्, ‘म मोदी हुँ’ मा कस्तो राष्ट्रवाद हुन्छ । राष्ट्रवादको अर्थ के हो ? देश र नागरिकप्रति माया नभई आफैमा केन्द्रित हुने कुरा पनि राष्ट्रवाद हो ?’

यसैगरी महागठन्धनले पनि बहुजन समाजवादी पार्टीकी प्रमुख मायावती र  र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवको उपस्थितिमा सभाको तयारी गरिरहेको स्थानीय नेताहरुले जनाएका छन् । 

राष्ट्रिय व्यापार मण्डल रुपैडियाका महामन्त्री रजा ईमाम रिजवीका अनुसार, नेपालगञ्जसँग जोडिएको बहराइच जिल्लामा बहराइच र केशरगञ्ज गरी दुई निर्वाचन क्षेत्र रहेका छन् । बहराइच निर्वाचन क्षेत्र (आरक्षित) मा बीजेपीका अक्षवरलाल गौंड, महागठबन्धन(सपा)का सब्बिर अहमद बाल्मीकी र कांग्रेसका सावित्रीबाई फुलेबीच प्रतिस्पर्धा देखिएको छ । यस निर्वाचन क्षेत्रमा झण्डै १९ लाख मतदाता रहेका छन् । 

बीजेपीका उम्मेदवार गौड बलाह विधानसभाका विधायक छन् भने कांग्रेस उम्मेदवार फुले अघिल्लो चुनावमा बीजेपीबाट विजयी लोकसभा सांसद थिए । केही दिनअघि  बीजेपी परित्याग गरी उनी कांग्रेसमा प्रवेश गरेका थिए ।

उत्तर प्रदेशमा गठबन्धनले साझा उम्मेदवार उतारेसँगै यस पटक भारतको सत्तामा को पुग्छ भन्ने अनुमान गर्न पनि कठिन भएको छ । केन्द्र र उत्तर प्रदेशमा बीजेपीकै सरकार भए पनि पछिल्लो समय प्रदेशमा बीजेपीको लोकप्रियता घट्दै गएको छ ।  

केही समयअघि भएको उपचुनावमा बीजेपीले मुख्यमन्त्री र उपमुख्यमन्त्रीकै सिटमा हार व्यहोरेको थियो । त्यसैले पनि उत्तर प्रदेशको चुनाव सबैको नजरमा परेको छ ।
 

अन्तिम अपडेट: फागुन २८, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया