घुम्ती भेडीगोठबाटै करोडौँ आम्दानी : वार्षिक २ सय मेट्रिक टन मासु र ५ हजार किलो उन उत्पादन

 बैशाख १९, २०७६ बिहिबार १४:१७:३२ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङमा भेडीगोठबाट करोडौँ रुपैयाँ आम्दानी हुने गरेको छ । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङका अनुसार जिल्लाका विभिन्न स्थानमा रहेका घुम्ती भेडीगोठबाट वार्षिक करोडौँ रुपैयाँ आम्दानी हुने गरेको हो । 

भेडीगोठमा रहेका भेडाहरुको उन तथा मासु बिक्रीबाट मात्रै १० करोडभन्दा बढी रुपैयाँ आम्दानी हुने गरेको केन्द्रका पशु विकास अधिकृत खिला शर्मा घिमिरेले बताउनुभयो । 

‘लमजुङमा साविकका २१ वटा गाविसमा ९० वटा भेडीगोठहरु रहेका छन् । यी भेडीगोठमा १७ हजारभन्दा बढी भेडाबाख्राहरु छन्’, उहाँले भन्नुभयो, ‘घुम्ती भेडीगोठमा पालिएका भेडाहरुबाट वार्षिक दुई सय मेट्रिक टन मासु उत्पादन हुने गरेको छ ।’

उहाँका अनुसार प्रतिभेडाको मूल्य ३० हजारभन्दा बढी रुपैयाँ पर्छ । भेडाको उनको मूल्य प्रतिधार्नी चारसय रुपैयाँभन्दा बढी पर्छ । 

भेडीगोठबाट प्रतिगोठ वार्षिक झण्डै पाँच लाखभन्दा बढी रकम आम्दानी हुने गरेको छ ।भेडीगोठहरुबाट वार्षिक पाँचहजार किलो उन उत्पादन हुने गरेको छ ।जिल्लामा पहिले उपकरण नहुँदा उनको प्रशोधन झन्झटिलो थियो । अहिले प्रशोधनका लागि मेशिनको व्यवस्था गरिएको छ ।

भेडाको उनलाई प्रशोधन गरी स्थानीयहरुले राडीपाखीलगायत उनीका कपडा बनाएर बिक्री गर्ने गरेका छन् । यसैगरी, भेडीगोठमा पालिएका बाख्राबाट पनि करोडौँ आम्दानी हुने गरेको छ । घुम्ती भेडीगोठहरुमा १० हजारको हाराहारीमा बाख्रा भएको केन्द्रले जनाएको छ । 

खसीबोकाको मासुबाट मात्रै वार्षिक ६ करोडभन्दा बढी आम्दानी हुने केन्द्रको तथ्यांकमा उल्लेख छ ।  घिमिरेका अनुसार भेडीगोठ भएका कृषकहरुले मनग्य कमाएका छन् । भेडीगोठबाट भएको आम्दानी केही प्रतिशत साहुलाई बुझाउने र बाँकी भेडा गोठालाहरुले राख्ने गर्दछन् ।

केन्द्रको तथ्यांक अनुसार जिल्लामा आठसय ५८ घरले घुम्ती भेडीगोठमा भेडा पालन गरेका छन् । घुम्ती भेडीगोठमा पालिएका भेडा पोखरा, काठमाण्डौलगायतका क्षेत्रमा निर्यात हुने गरेका छन् । 

भेडापालनको सम्भावना भएर पनि अझै अपेक्षित आम्दानी हुन नसकेको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत डा. रुपेश श्रेष्ठले बताउनुभयो । 

‘भौगोलिक विकटता, राज्यको न्यून पहुँच र कमजोर व्यवस्थापनका कारण अपेक्षित आम्दानी हुन सकिरहेको छैन’,  उहाँले भन्नुभयो ।


 

अन्तिम अपडेट: चैत ११, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया