बहुमूल्य यार्सा : संरक्षणमा बेवास्ता

 बैशाख १९, २०७६ बिहिबार १६:५७:३३ | राजु लामिछाने
unn.prixa.net

मैकोटको बुकी पाटनमा यार्सा संकलन गर्दै सर्वसाधारणहरु -फाइल फोटो

रुकुम – बहुमूल्य जडिबुटी यार्सा पाइने रुकुम पूर्वको बुकिपाटन । यार्साकै लागि हरेक वर्षको जेठ पहिलो हप्ता पाटनमा हजारौँ मान्छे पुग्छन् ।

कोही यार्सा संकलनको पुग्छन् त कोही व्यापारका लागि । तर धेरैको जीवनयापनको श्रोत बनेको मूल्यवान यार्साको उत्पादन भने बर्सेनि कम हुँदै गएको छ । हरेक वर्ष यार्सा संकलन सिजन पर्खेर बसेका धेरै जनाले लाखौँको आम्दानी गर्दछन् । 

२०७० सालमा ५ लाखको यार्सा संकलन गरेका रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकावडा नं. ४ मैकोटका बिरजित घर्ती बर्सेनि यार्षा उत्पादन घट्दै गएको बताउनुहुन्छ । मैकोटको बुकीपाटनमा पाइने यार्सा संकलन गर्न घर्तीको स–परिवार प्रत्येक वर्ष बुकी जाने उहाँको परिवारले गत वर्ष भने ३ लाखको मात्रै यार्सा संकलन गर्यो । यार्सा उत्पादन घटेकोले गर्दा आम्दानी पनि बर्सेनि घट्दै आएको उहाँले बताउनुभयो ।

बिरजितजस्तै त्यसै गाउँका रामलाल झाँक्रीको परिवारलाई यार्सा उत्पादन कम हुँदै गएकोमा चिन्ता छ । यार्सा संकलन गरेर आफ्नो दैनिकी सञ्चालन गर्दै आएको झाँक्री परिवारले दुई वर्षअघि ६ लाखको यार्सा व्यापार गरेका थिए । गत वर्ष भने जम्माजम्मी ३ लाखको यार्सा संकलन गरेका थिए । पहिले जस्तो पाटनमा यार्सा पाउन छोडेपछि आफूहरुको आम्दानी पनि घट्दै गएको झाँक्रीको भनाइ छ । 

प्लाष्टिक र बोतलका कारण उत्पादन कम हुँदै

यार्साको संरक्षणमा कसैको ध्यान नजाँदा उत्पादन घटेको स्थानीयको बुझाइ छ । स्थानीय हस्तिमान पुन भन्नुहुन्छ, ‘यार्साको महत्वबारे त प्रचार भयो तर संरक्षणतर्फ कसैको  ध्यान गएन ।’ गाउँपालिकाको वडा नम्बर १,२, ३ र ४ का विभिन्न बुकी पाटनमा बहुमूल्य यार्सा पाइने गर्दछ । शिक्षकसमेत रहनु भएका हस्तिमानले बुकी पाटनमा जथाभावी फोहोर फाल्ने गर्दा यार्सा संकलन घट्दै गएको बताउनुहुन्छ । 

गाउँ तथा बजार क्षेत्रबाटै खानेकुरा बोकेर झण्डै दुई सातासम्म सर्वसाधारणहरुले यार्सा टिप्ने गरेको शिक्षक पुनले बताउनुभयो । ‘यार्सा संकलन गर्न आएकाहरुले ल्याएको प्लाष्टिक तथा बोतल जथाभावी फाल्ने गर्दछन्’, उहाँले भन्नुभयो, ‘त्यही प्लाष्टिक, बोतल र जथाभावी फालिएको फोहोरका कारण बर्सेनि यार्सा उत्पादन घट्दै गएको छ ।’ बुकीमा सिजन खुल्ला गरिएको बेला मान्छेका साथै घोडा र खच्चडसमेत ल्याउने गर्दछन् । 

व्यवस्थापन समितिको सक्रियता आवश्यक

यार्सा उत्पादन बर्सेनि घट्दै जान थालेपछि त्यसको संरक्षण गर्न यार्सा सिजन व्यवस्थापन समितिले केही कामको सुरुवातसमेत गरेको बताइएको छ । 

गत वर्षदेखि बढी यार्सा उत्पादन हुने केही ठाउँमा सर्वसाधारणलाई टेण्ट राखेर बसोबास गर्न नदिने निर्णय गरिएको छ । बुकीको पुपाल, गिंजा, पुनवाङ् क्षेत्रमा गत वर्षदेखि यार्सा टिप्न गएकाहरुलाई टेण्ट बनाएर बस्न दिइएको छैन । 

समितिका अनुसार, २०७० सालमा एक सय २५ किलो, २०७१ सालमा ९७ किलो, २०७२ मा ९० किलो यार्सा उत्पादन भएको थियो । गत वर्ष भने ५५ किलो मात्र यार्सा संकलन भएको गाउँपालिका १ का वडाध्यक्ष मकरबहादुर गुरुङले जानकारी दिनुभयो । 

यो वर्ष पनि अहिलेसम्म बुकीमा हिउँ भएकाले यार्सा उत्पादनमा वृद्धि हुने सम्भावना नभएको उहाँको भनाइ छ । ‘यहाँ प्रत्येक वर्ष यार्सा उत्पादन घट्दै गएको छ, बुकीमा अहिलेसम्म पनि हिउँ भएकाले सिजन सुरु हुन सकेको छैन्’, वडाध्यक्ष गुरुङले भन्नुभयो, ‘यो वर्ष हामीले झण्डै ५० किलोभन्दा बढी यार्सा उत्पादन हुनसक्ने अनुमान गरेका छौँ ।’ 

हरेक वर्ष जेठको पहिलो हप्तादेखि सुरु हुने यार्सा सिजन यो वर्ष भने जेठको दोस्रो हप्तादेखि मात्र सुरु हुने अनुमान छ । यार्सा संकलन गर्नका लागि बर्सेनि रुकुम (पूर्व)का साथै रुकुम (पश्चिम), रोल्पा, सल्यान, जाजरकोट, दाङलगायतका जिल्लाबाट सर्वसाधारणहरु बुकी पुग्ने गर्दछन् ।

अन्तिम अपडेट: चैत २१, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया