‘आपत् पर्दा मन्त्री नै लिन पुगे, सरकार साथमै रहेछ भनेर खुशी  लाग्योे’

 बैशाख २०, २०७६ शुक्रबार १४:९:५ | मुना हमाल
unn.prixa.net

सुर्खेत –    हुम्लाको अदानचुली गाउँपालिका–१ की राजकला महतारालाई बुधबार सुत्केरी व्यथाले च्याप्यो । बच्चा जन्मिनुभन्दा अघि नै साल खस्यो । उहाँका परिवारले आफ्नै गाउँमा रहेको स्वास्थ्यचौकीमा पुर्‍याए, तर उपचार सम्भव भएन । 

स्वास्थ्यचौकीमा उपचार सम्भव नभएपछि उहाँलाई प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको खबर सामाजिक विकास मन्त्री दल रावलसम्म आइपुग्यो । मन्त्री रावलले तत्काल काठमाण्डौबाट हेलिकोप्टर मगाएर आफैं महतराको उद्दार गर्न पुग्नुभयो । हुम्लाबाट हेलिकप्टरमा वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा पुर्‍याउँदा बच्चाको गर्भमै मृत्यु भइसकेको थियो । आमाको ज्यान चाहिँ जोगियो । 

राजकलाको शल्यक्रिया गरेर मरेको बच्चा निकालियो । प्रदेश अस्पतालमा उपचारमा रहेकी राजकलाले भन्नुभयो, ‘माथि गाउँमै भएको भए म पनि मरिसक्थेँ होला । मेरो ज्यान बच्यो । मन्त्री आफै गएर लिएर आउनु भयो  । खुशी लागेको छ ।’ 

कर्णालीका बासिन्दा समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि कर्णाली प्रदेश सरकारले हवाई एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । सुत्केरी महिलाहरुलाई तत्काल उद्दारका लागि प्रदेश सरकारले हेलिकोप्टरको व्यवस्था गर्ने गरेको छ । 

श्रीमतीलाई सरकारले हेलिकप्टर चाटर्ड गरेर ज्यान बचाएपछि सरकार आफूहरुसँगै रहेको अनुभूति भएको राजकलाका श्रीमान बिर्खबहादुर महताराले बताउनुभयो । ‘आज सरकारले मलाई आपत आइलाग्दा साथ दियो । मलाई गर्व लागेको छ’ उहाँले भन्नुभयो, ‘आज मेरो श्रीमतीको ज्यान बच्यो । म यसैमा खुशी छु । सरकार साथमा रहेछ भन्ने लागेको छ ।’ 

महतारालाई मात्र होइन बुधबार नै हुम्लाको चंखेली गाउँपालिकास्थित स्वास्थ्य चौकीका कार्यरत अनमी निशा नेपालीको पनि हेलिकोप्टरबाट उद्दार गरियो । उहाँको बच्चा खसेपछि अत्यधिक रक्तश्राव भयो । 

‘१५ गते साँझ नै मेरो बच्चा खसेको थियो । त्यसपछि धेरै रक्तश्राव भयो’ नेपालीले भन्नुभयो, ‘सरकारले हेलिकोप्टरको व्यवस्था गरिदिएर यहाँसम्म ल्याएर उपचार ग¥यो ।  धेरै खुशी छु । सरकारले गरेको यो राम्रो पक्ष हो । स्थानीयको पनि राम्रो साथ पाएँ । म धेरै खुशी छु ।’  

बुधबार दुवै जनाको उद्दारका लागि  सामाजिक विकास मन्त्री दल रावल आफै हेलिकोप्टर लिएर हुम्ला पुग्नु भएको थियो । कर्णाली प्रदेश सरकारले विकट ठाउँका लागि हेलिकोप्टरको व्यवस्था गर्दै आएको छ । 

हालसम्म प्रदेश सरकारले २३ जना सुत्केरीको उद्दार गरिसकेको छ । आर्थिक वर्ष २०७४/७५ मा ७ जना र चालु आर्थिक वर्षको हालसम्म १६ जनाको उद्दार गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  यसका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि २ करोड रुपैँया बजेट बिनियोजन गरेको छ । जसबाट विपदमा परेका नागरिकको उद्दारमा एक करोड खर्च भइसकेको सामाजिक विकास मन्त्री रावलले बताउनुभयो ।

‘हामीले हालसम्म जोखिममा परेका सुत्केरी महिलाहरुलाई हेलिकप्टरमार्फत ल्याएर उपचार गरिरहेका छौँ’ उहाँले भन्नुभयो, ‘कसैले पनि आर्थिक अभावका कारण उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था छैन । हामीले अहिले सुत्केरीको मात्र तत्काल हेलिकोप्टरमार्फत उद्दार गर्ने गरेका छौँ । आगामी दिनमा जोखिममा परेका अन्य बिरामीलाई पनि गर्ने तयारीमा छौँ । यो सरकार हुनुको दायित्व पनि हो ।’ 
 

अन्तिम अपडेट: चैत २८, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया