काफल बेच्दै, कापी कलम किन्दै

 बैशाख २०, २०७६ शुक्रबार १४:३३:१२ | विमल बिष्ट
unn.prixa.net

डाेटी - सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीका स्कुले बालबालिकाका लागि काफल आम्दानीको राम्रो स्रोत बन्दै गएको छ ।

वैशाख लागेसँगै सदरमुकाम क्षेत्रमा काफलको व्यापार बढेको छ । काफल पाक्न सुरु भएसँगै यहाँको अत्तरिया-स्याउले जोड्ने भिमदत्त राजमार्ग अन्तर्गतका विभिन्न क्षेत्रमा काफलको व्यापार बढ्न थालेको पाइएको छ ।

यहाँका गैरा, बुडर सहजपुर, चौरानब्बे, रुपसकाँडा, गोगनपानी लगायतका बजारमा वृद्ध महिलादेखि स्कुले बालबालिका डालोमा काफल राखेर गिलासले नाप्दै प्रति गिलास १० देखि २० रुपैयाँमा बिक्री गरिरहेका भेटिन थालेका छन् ।

यहाँका बालबालिकाले काफल हुने सिजनमा वर्षैपिच्छे काफल बिक्री गर्दै आफनो स्कुलको पढाइ खर्च जुटाउने गरेको गोगनपानीकी स्थानीय पवित्रा खत्री दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘केटाकेटीहरुको स्कुल बिहान लाग्ने गरेकोले उनीहरु बिहान स्कुल जान्छन् र दिउँसो जंङ्गलमा गएर काफल टिपेर साँझसम्म बेचेर आउँछन् ।’

राजमार्गमा दिनहुँ सयौँ गाडी तथा यात्रु ओहाेर दोहाेर गर्ने भएकोले बालबालिकाहरुले संङ्कलन गरेका काफल बिक्रीमा समस्या नहुने गरेको स्थानियवासीहरु बताउँछन् । राजमार्ग क्षेत्रमा काफल बेच्नेहरुले राम्रो आम्दानी गर्न थालेको जोरायल गाउँपालिका-२ रुपसकाँडाका स्थानीय भरत कुँवरले बताउनुभयो ।

काफलबाट राम्रै आम्दानी हुन थालेपछि यहाँका अधिकांश बालबालिका अहिले काफल बिक्रीतिर लागेको अर्का स्थानीय ज्ञानु मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आम्दानी पनि हुने, घरको खर्च पनि चल्ने भएकाले बालबालिकाहरु काफल व्यवसायमा आकर्षित भएका छन् ।’

काफल पाक्ने समयमा डोटीमा ठूलो मात्रामा असिना परेकाले जंङ्गलमा यो वर्ष खासै काफल नभएको स्थानीयहरु बताउँछन् । असिनाले वैशाखमा पाक्ने काफलमा ठूलो क्षति पुर्‍याएका कारण काफल खोज्न अलि टाढाको जंङ्गल जानुपर्ने र काफल टिप्न दिनभरी नै लाग्ने गरेको काफल बिक्रेता स्थानीय मिना सापकाेटाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिलेको जस्तो काफल यो वर्ष छैन । सबै असिनाले झारिसक्यो, टाढा टाढा जानुपर्छ । दिनभर काफल टिपेर फर्किँदा अबेर हुन्छ, अर्को दिन बेच्नुपर्ने हुन्छ ।’

 यहाँका स्कुले केटाकेटीहरुले शुक्रबार र शनिबार दिनभर काफल टिपेर धमाधम बिक्री गर्ने गरेका छन् । स्कुले केटाकेटीहरु काफल टिपेर आफनो कापी किताब लगायतका अन्य सामग्रीहरु किन्ने गरेको अभिभावकहरु बताउँछन् ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया