टसमस नहुने प्रधानमन्त्रीले बालुवाटारमा सजिलै किन माफी मागे !

 बैशाख २१, २०७६ शनिबार १२:२५:४३ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – सबैले जानेबुझेकै कुरा हो, प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो बोलीबाट टसमस हुनुहुन्न । झनै उहाँको मुखबाट माफी, आत्मालोचना, 'भुलवश यसो गरिएछ' भन्ने कुरा सुन्नु त टाढैको कुरा हो । 

तर शनिबार भने अचम्मै भयो, बालुवाटारमा प्रधामन्त्री ओलीले पटक–पटक आत्मालोचना र माफी माग्नुभयो । त्यो पनि मुख्य सञ्चारमाध्यमका सम्पादक र सञ्चारकर्मीको सामुन्ने । 

सरकारले ल्याएको नीति तथा कार्यक्रमको बारेमा धेरै नै आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले  शनिबार बिहान आफ्नो निवास बालुवाटारमा केही सञ्चारमाध्यमका सम्पादक र प्रतिनिधिसँग अन्तरक्रिया राख्नुभएको थियो । अन्तरक्रियामा सरकारको नीति तथा कार्यक्रमको बचाउ अनि सरकारले गरेका केही कामको बखान गरेका प्रधानमन्त्री एक ठाउँमा भने दम्भबाट परै बस्नुभयो । 

त्यो विषय थियो, झापा क्षेत्र नम्बर पाँचको विकासका लागि प्रधानमन्त्री कार्यालयबाट राष्ट्रिय योजना आयोगमा पठाइएको पत्र । प्रधानमन्त्री कार्यालयको लेटर प्याड दुरुपयोग गरेर लेखिएको पत्रमा झापा क्षेत्र नम्बर पाँचमा विश्वकै अग्लो बुद्धको मूर्ति, भ्यू टावरदेखि सडक कालोपत्रेसहितका ३ दर्जनभन्दा धेरै वटा योजना पारिदिन आग्रह गरिएको छ । 

प्रधानमन्त्री कार्यालयबाट गल्ती भएको भन्दै सचिवालयले शुक्रबार नै विज्ञप्ति जारी गरेको थियो । तर शनिबार प्रधानमन्त्री ओली आफैले आत्मालोचना गर्नुभयो ।  झट्ट आत्मालोचना र माफी नमाग्ने प्रधानमन्त्री शनिबार भने सजिलै आत्मालोचना गरेको देखेर  बालुवाटार पुगेका धेरैजना अचम्ममा परे । 

‘मैले मेरो निर्वाचन क्षेत्र केन्द्रित राजनिति गरको छैन, म आफै योजना आयोगको अध्यक्ष पनि हो, त्यसैले मेरो निर्वाचन क्षेत्रका लागि योजना पार्न आयोगमा पत्र पठाउनै पर्दैन, तर मेरो स्वकीय सचिवालयका साथीले माग तयार पार्नुभएछ, यस सम्बन्धमा मलाई जानकारी नै थिएन, सुनेपछि म अत्यन्तै दुःखी भएँ, मेरो जानकारीबिना नै किन यस्तो गरेको भनेर मैले सचिवालयका साथीहरुसँग असन्तुष्टि पोखेको छु, आत्मालोचना पनि गरेको छु, म दुःखी भएको छु’,  ओलीले भन्नुभयो ।

तर भुलवश भएको कामको बारेमा सचिवालयले विज्ञप्ति जारी गर्दासमेत केही सञ्चारमाध्यमले फेरि त्यही विषयलाई खोतलिरहेको भन्दै उहाँले आपत्ति जनाउनुभयो । 
‘हामीले माफी माग्दासमेत केही स्थापित सञ्चारमाध्यमले त्यही विषयलाई बोकेर हिँडेको देख्दा अचम्म लाग्छ, यतिविधि नै राजनीति त किन गर्नुपर्छ र ? ‘डेड इस्यु’लाई किन क्यारी गरेका होलान् !’ ओलीले गुनासो गर्नुभयो । 

‘तपाईँले मेरो देश भन्दा हुने, राष्ट्रपतिले मेरो सरकार भन्न नपाउने ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमलाई लिएर विरोध गनुपर्ने कुनै कारण नभएको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रममा समृद्ध नेपाल निर्माणको आधार तयार पार्ने योजना रहेकाले यसको विरोध गर्नुको कुनै अर्थ नभएको जिकिर गर्नुभयो । 

पटक-पटक राष्ट्रपतिलाई विवादमा ल्याउने काम भैरहेको भन्दै असन्तुष्टि पोखेका प्रधानमन्त्रीले अरु नेपालीले मेरो देश र मेरो सरकारभन्दा साधारण अर्थ लाग्ने तर राष्ट्रपतिले मेरो सरकारभन्दा असाधारण अर्थ किन लगाइयो भनेर प्रश्न पनि गर्नुभयो । 

‘राष्ट्रपतिले मेरो सरकार भन्नुभयो, मैले मेरो देश भन्छु, मैले मेरो देश भन्दा तपाईँहरुको होइन भनेको हो र ? मेरो राष्ट्रिय गान भन्छौँ, त्यसाे भए मैले बनाएको हो राष्ट्रिय गान ? मैले मात्रै गाउन पाउने भन्ने अर्थ लगाउन मिल्यो त ? उहाँले त यसलाई बृहत् र सामूहिक अर्थमा भन्नुभएको हो’, ओलीले भन्नुभयो, ‘मैले यहाँ व्यक्तिको कुरा गरेको छैन, संस्थाको कुरा गरेको छु, सरकारको नीति र कार्यक्रम प्रस्तुत गर्दा मेरो सरकार नभनेर कस्को सरकार भन्ने ? अन्तर्राष्ट्रिय अभ्यास पनि त्यस्तै हुन्छ,  कम से कम अहिलेको नेपालका नागरिकले यति सानो कुरामा ठूलो हल्ला नगरिदिएको भए हुन्थ्यो, यो त पटक्कै सुहाउने कुरा भएन ।’

उहाँले राष्ट्रपति मेरो सरकार भन्ने हैसियतका साथ संसदबाट निर्वाचित हुने भन्दै अन्तराष्ट्रिय अभ्यास नुसार नै राष्ट्रपतिले मेरो सरकार भनेको दाबी गर्नुभयो । उहाँले प्रश्न गर्नुभयो, 'कसको सरकार भन्ने त राष्ट्रपतिले ? कि निबन्ध पढ्ने ? यो सरकारको नीति कार्यक्रम भन्दाखेरी अनि के फलानाको सरकार भनेर राष्ट्रपतिले भन्ने ? राष्ट्रपतिले मेरो सरकार भन्ने हैसियत भएर मात्रै पार्लियामेण्टमा आउँछन् ।'

केही व्यक्ति र दललाई अझै पनि राजतन्त्रको झल्को आइरहेकाले राष्ट्रपतिका क्रियाकलापमा पनि राजतन्त्रकै झल्को देखेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले राष्ट्रपति व्यक्तिभन्दा पनि संस्था भएकाले गरिमा ख्याल गरिदिन आग्रह गर्नुभयो ।

वर्तमान सरकारले विगतमा भएका अनियमितता र भ्रष्टाचार खोतल्दै गएको तर सरकारमाथि नै हमला भैरहेको भन्दै उहाँले नेपालको बौद्धिक जगत पनि पूर्वाग्रही भएको आरोप लगाउनुभयो । 

तस्बिर - रासस

 

अन्तिम अपडेट: चैत १५, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

1 Comments

  • Ram prasad oli

    April 8, 2020, 8:47 a.m.

    हाम्रो देश भन्ने शब्द भने हुन्न र ।

  •  0 Reply

तपाईको प्रतिक्रिया