प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
रुकुम पश्चिम – धेरैजसो किसानलाई यतिबेला खेतबारीबाट गहुँ भित्र्याउने चटारो छ । लहलह झुलेका गहुँका बाला भित्र्याउनलाई बाहिर रहेकाहरु घर फर्किने गरेका छन् ।
तर, जिल्लाका केही ठाउँका खेतबारीमा भने अवैध रुपमा लगाइएको अफिम फस्टाएको छ । त्यही खेती खोज्दै अफिम तथा चरेश व्यापार गर्नेहरु पनि आउन थालेका छन् । गोप्य रुपमा लगाइएको अफिम खेती फूल खेल्दै गर्दा प्रहरीले फँडानी अभियान तीव्र पारेको छ । यही वैशाख महिनामा मात्रै प्रहरीले झण्डै ६५ रोपनी जमिनमा फूल खेल्दै गरेको अफिम नष्ट गरेको छ ।
केही किसानले पछिल्लो समय गहुँ लगाउने खेतबारीमा समेत अफिम लगाएका छन् । उनीहरुका गहुँका बाला झुल्ने खेतमा अफिम खेती फस्टाइरहेको छ । गहुँ खेती नै छाडेर केही कृषकहरु अवैध लागुऔषध अफिमको खेतीमा जुटेको पाइएको छ । थोरै लगानीमा मनग्य आम्दानी हुने लालचमा कृषकहरु अफिम खेतीमा जुटेका छन् ।
अफिम खेती गर्नु कानुनविपरीत हो भन्ने धेरै किसानलाई जानकारी छैन । कानुनको अज्ञानताले पनि कृषकहरुले गहुँ लगाउँने खेतमै अफिम लगाउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनको भनाइ छ । ‘धेरै मलजलको आवश्यकता नपर्ने र दुःख पनि धेरै गर्नु नपर्ने भएका कारण कृषकहरुले गहुँ लगाउने खेतमै अफिम लगाइरहेको भेटिएको छ’, सहायक प्रजिअ पुनले भन्नुभयो, ‘धेरै कृषकहरुले अफिम लागुऔषध हो भन्ने थाहा पनि पाएका छैनन् ।’
जिल्लाका आठबिसकोट नगरपालिका, बाँफिकोट गाउँपालिका, त्रिवेणी गाउँपालिका, सानोभेरी गाउँपालिकाका विभिन्न भागमा अफिम खेती गरिएको पाइएकोले नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी अफिम फँडानी कार्य तीव्र पारिएको सहायक प्रजिअ पुनले जानकारी दिनुभयो ।
अफिम नष्ट गर्ने अभियान तीव्र पारेका छाैँ : प्रहरी नायब उपरीक्षक
अफिमको खेती बढ्दै गएको भेटिएपछि प्रहरीले केही वर्षदेखि जिल्लामा अफिम नष्ट गर्ने अभियान नै चलाइरहेको छ । बर्र्सेनि ठूलो संख्यामा प्रहरीलाई अफिम नष्ट गर्ने अभियानमा खटाउने गरिएको छ । विशेष गरी जिल्लाका सदरमुकामदेखि टाढाका भूभागमा यसको खेती हुने गरेको छ । त्यसमा पनि गाउँबाट टाढा, वन, पाखा र भिरालो जग्गामा यसको खेती बढी हुने गरेको भेटिएको छ । अफिमको खोजी गरी नष्ट गर्नका लागि यो वर्ष पनि ठूलो संख्यामा प्रहरीको टोली खटिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले यतिबेला अफिम फूल खेल्ने बेला भएकोले फँडानी अभियान तीव्र पारिएको बताउनुभयो । उहाँका अनुसार, वैशाख महिनामा मात्रै ९३.५ कठ्ठा ३ रोपनी क्षेत्रफल जमिनमा लगाइएको अफिम फँडानी गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, आठबिसकोट नगरपालिकाको वडा नं. ५ र १२ मा २५ कठ्ठा जमिनमा लगाइएको अफिम फँडानी गरिएको छ । त्यसैगरी बाँफिकोट गाउँपालिकाको वडा नं.७ मा रहेको झण्डै १८ कठ्ठा, त्रिवेणी गाउँपालिकाको वडा नं. २ मा डेढ कठ्ठा जमिनमा लगाइएको अफिम फँडानी गरिएको छ । सानीभेरी गाउँपालिकाको वडा नं. ३ र ५ मा ४९ कठ्ठा ३ रोपनी क्षेत्रफलको जमिनमा लगाइएको अफिम प्रहरीले फडानी गरेको छ ।
अफिम खेती भैरहेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरी अफिम नष्ट गर्ने अभियान नै चलाइरहेको डीएसपी खड्काले जानकारी दिनुभयो । प्रहरी टोलीले अझै अफिमको खोजी गरिरहेको छ । सूचना तथा खेती गरिएको हुन सक्ने अनुमानका भरमा जिल्लाका विभिन्न ठाउँमा अफिम खेतीको खोजी भैरहेको डीएसपी खड्काले जानकारी दिनुभयो । जिल्लाका अन्य केही ठाउँहरुमा पनि अफिम खेती गरिएको सूचना आएको र उक्त ठाउँहरुमा पनि प्रहरी टोली परिचालन गरिएको उहाँको भनाइ छ ।
जिल्लामा अफिम लगाउनेहरुलाई भने अहिलेसम्म कारबाही हुन सकेको छैन् । अफिम खेती गर्नेको पहिचान हुन नसक्दा कारबाही गर्न नसकिएको डीएसपी खड्का बताउनुहुन्छ । ‘गाउँदेखि टाढा यसको खेती हुने गरेको र जग्गा धनीलाई सोध्दा आफूलाई थाहा नभएको जवाफ फर्काउने गरेका छन्’, उहाँले भन्नुभयो, ‘धेरै ठाउँमा त ऐलानी तथा सामुदायिक वनको जग्गामा समेत यसको खेती भैरहेको छ ।’
हरेक वर्ष प्रहरीले अफिम खेतीविरुद्ध अपरेशन चलाएर फँडानी गर्ने गरेता पनि जिल्लामा अफिम खेती घट्न भने सकेको छैन् ।अफिम तयारी हुने बेलामा व्यापारीहरु आएर गोप्य रुपमा ओसारपसार गर्ने गर्दछन् ।
भारतका व्यापारीले दिन्छन् अफिमको बीउ
कानुनले बन्देज गरेको अफिम खेती लगाउन जिल्लाबाहिरका व्यापारी नै किसानसम्म पुगेर प्रेरित गर्ने गरेका छन् । विशेषगरी भारतबाट आउने व्यापारीहरुले मनग्य आम्दानी हुने लोभ देखाउँदै खेतीयोग्य जमिनमा अफिम लगाउन बीउ नै दिने गरेका छन् । बाहिरबाट आएका केही व्यक्तिहरुले अफिम लगाउन प्रेरित गर्ने गरेको स्थानीयहरु बताउँनछन् ।
बाहिरबाट आएका मान्छेहरुले मनग्य आम्दानी हुन्छ भनेर यसको खेती गर्न प्रेरित गर्ने गरेको र यसको बीउ पनि उनिहरुले नै छाड्दिने गरेको बताइन्छ । बीउको पनि मूल्य दिनु नपर्ने र बढी मूल्यमा बिक्री गर्न पाइने भएकोले अफिम खेती गर्न किसानहरु हौसिने गर्दछन् ।